विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कामचलाउ सरकार पुनः विस्तारित हुनु संविधानको बर्खिलाप भएको बताएका छन् ।
विराटनगरस्थित कोइराला निवासमा केही संचारकर्मीसँग कुरा गर्दै कोइरालाले निर्वाचनको मिति तोकिसकेपछि सरकार विस्तार गर्नु नै गलत भएको बताएका हुन् । ‘कुन बाध्यता परेको हो, संविधानको विरोध गर्ने समूहलाई सरकारमा ल्याउनु परेको ?,’ कोइरालाले प्रश्न गर्दै भने, ‘आचारसंहिता लागिसकेको अवस्थामा सरकार विस्तार भएको छ । गलत संस्कार बसेको छ राजनीतिमा । तत्काल अहिले बनाउनुपर्ने जरुरी के थियो ?’
निर्वाचन घोषणा भइसकेको अवस्था, संसद् विघटनको मुद्दा अदालतमा विचाराधीन रहेको र त्यो बेला आफूलाई बचाउनको लागि मात्र ओलीले सरकार विस्तार गरेको हो या निर्वाचन नगर्नको लागि प्रष्ट नभएको कोइरालाको भनाइ छ ।
संसद् पुनःस्थापना भएर शेरबहादुर देउवा प्रधानमन्त्री भए पनि त्यो सरकारले पनि निर्वाचन नै गर्ने बताउँदै कोइरालाले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सँगको मेलमिलाप संसद् पुनःस्थापना नै भएको स्पष्ट पार्नुभयो ।
‘कांग्रेस मध्यममार्गी शक्ति हो । चुनाव नहुने देखिन्छ । चुनाव भए तीन फोर्सले अघि आउँछ । एउटा ओली र राजपा, अर्को कांग्रेस हो र अर्को कम्युनिस्ट घटकहरु हुन सक्छन् । माधव–झलनाथ समूह अर्को शक्ति हुन्छ । संविधान बचाउन र संविधान ट्रयाकमा ल्याउन्जेलसम्म हो, माओवादी अनि कम्युनिस्टसँगको गठबन्धन । तर, कांग्रेस चुनावमा आफ्नै बाटो लागेर जानुपर्छ,’ कोइरालाको भनाइ थियो ।
अर्को प्रसंगमा कोइरालाले नेपाल कुनै पनि हालतमा बहुराष्ट्रिय देश हुन नसक्ने बताएका छन् ।
नेपाल बहुजातीय, बहुभाषी, बहुसांस्कृतिक देश हो भन्दै उनले उपप्रधानमन्त्रीको हैसियतमा राजेन्द्र महतोले दिएको अभिव्यक्ति विवादास्पद र स्वीकार गर्नै नसकिने रहेको बताए ।
ओलीले सत्ताकब्जाको अभ्यास गरिरहेको भन्दै कोइरालाले कोरोना वा अन्य कारणले चुनाव गराउन नसक्ने अनि सत्ता टिकाउन कम्बोडियन मोडलमा जान खोजेको बताए । ‘कतिपटक त कम्बोडिया नै गएजस्तो लागेको छ । कि विपक्षीलाई सखाप बनाएर जाने बंगलादेशी मोडलमा जान खोजेको हो ? तीसवर्षे पञ्चायत पनि आन्दोलनले ढलेको थियो । अब ओलीलाई ढाल्ने विकल्प आन्दोलन मात्र हो ।’