निर्वाचन आयोग एमालेको विभाग जस्तो भएको विपक्षी दलहरुको आरोप

विराटनगर । लुम्बिनी प्रदेशमा हुन गइरहेको राष्ट्रियसभा उपनिर्वाचनका क्रममा मतदानको अघिल्लो दिन नेकपा एमालेको निर्देशनमा मतदाता नामावली सच्याइएको भन्दै चार दलहरुले आयोगको निर्णयप्रति आपत्ति जनाएको आपत्ति जनाएका छन् । निर्वाचन आयोगले मतदान सुरु हुनुभन्दा १६ घण्टा अगाडि मतदाता नामावली संशोधन गर्दै पुरक नाम प्रकाशन गरेको थियो ।

प्रदेशसभा सदस्यका रुपमा जसपाका सन्तोष पान्डेय, विजयकुमार यादव, कल्पना पाण्डे र सुमन रायमाझी शर्मालाई राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदाता कायम गरेको हो ।

चारैजनालाई पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा जसपा नेपालले सांसद पद नरहने गरी कारवाही गरेको थियो । तर उनीहरुले सर्वोच्च अदालतमा दायर गरेको रिटमा इजलासले अन्तरिम आदेश जारी गर्दै सांसद पदमा यथावत राख्न निर्देशन दिएको थियो । अदालतको आदेशपत्र प्राप्त हुँदा निर्वाचन कार्यतालिकाअनुसार मतदाताको अन्तिम नामावली प्रकाशित भइसकेको अवस्थामा ती चारजनालाई मतदाता नामावलीमा सामेल गर्न नमिल्ने विपक्षी दलहरुको तर्क छ ।

प्रदेशसभामा गठबन्धन बनाएका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै प्रदेश सरकारका चार मन्त्रीलाई मतदानको अघिल्लो दिन मतदाता नामावलीमा सामेल गरिएको भन्दै आपत्ति जनाएका हुन् ।

लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको रिक्त एक सिटका लागि सोमबार मतदान हुँदैछ ।

 

सोमबार, १७ जेठ, २०७८, बिहानको ०७:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर