इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी स्वास्थ्यकर्मीको टोलीसहित कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेकाहरुको घरमा पुगेर हौसला प्रदान गरेका छन् ।
इटहरी वडा नम्वर १३, १६ र १७ का ६ वटा घरमा इटहरी अस्पतालकी स्टाफ नर्स विनिता खतिवडा र होम आइसोलेसन सर्पोट टिमका विशाल दाहालसहित संक्रमितहरुलाई भेट्न पुगेका हुन् ।
संक्रमितहरुको स्वास्थ्य अवस्थाको बारेमा प्रमुख चौधरीले जानकारी लिँदै उपमहानगरले कुनै समस्या भएमा सहयोग गर्ने बताए । संक्रमितहरुलाई प्रमुखसँगै पुगेको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परामर्श पनि दिएको थियो ।
होम आइसोलेसनमा बस्दा अपनाउनुपर्ने सावधानीको बारेमा उनीहरुलाई जानकारी दिइएको छ । स्वास्थ्यकर्मीहरुको टोलीसहित नगरप्रमुख घरमै आइपुग्दा आधा विराम निको भएको संक्रमितहरुले प्रतिक्रिया दिएका थिए ।