‘विमानस्थलको नयाँ नामाकरण स्थानीय पहिचानमाथिको हस्तक्षेप’

विराटनगर । सरकारले ताप्लेजुङको सुकेटार बिमानस्थल र चुहानडाँडा विमानस्थलको नामाकरणमा गम्भीर कमजोरी गरेको प्रदेश १ का पूर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बताउनुभएको छ ।

संघीय सरकारले शनिबार अध्ययादेश मार्फत सार्वजनिक गरेको बजेटमा ताप्लेजुङको सुकेटार विमानस्थललाई स्वर्गीय रबिन्द्र अधिकारी विमानस्थल र चुहानडाँडालाई आङछिरिङ शेर्पा विमानस्थल नामाकरण गरेर इतिहास, संस्कृति, पहिचान र भावनात्मक मनोविज्ञानमाथि राज्यबाट हस्तक्षेप भएको भन्दै आङ्बोले टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेकपा माओवादी केन्द्र प्रदेशसभाका संसदीय दलका नेतासमेत रहेका आङ्बोले दुवै बिमानस्थलको प्रचलित नाम कायम राख्नु पर्ने र नयाँ नामाकरण गर्नै पर्ने भए स्थानीय सरोकारवालासँगको अन्तरक्रिया गरेर निष्कर्शका आधारमा मात्र गर्नुपर्ने उनको भनाइ छ । नयाँ नामाकरण नै गर्ने भए स्थानीय पहिचान झल्किनु पर्नेमा उनले जोड दिएका छन् ।

स्वर्गीय अधिकारी र शेर्पाको सम्मानको लागि सरकारले निर्माण गर्ने अरु कुनै नयाँ पूर्वाधारमा उहाँहरुको आफ्नै भौगोलिक क्षेत्रको महत्वपूर्ण आयोजनामा नामाकरण गर्नु राम्रो हुने भन्दै पहिचान र रैथाने संस्कृतिमा आधारित दुवै विमानस्थलको साविककै नाम प्रचलनमा रहनुपर्ने उनले बताएका छन् ।

राज्यको हस्ताक्षेप र हेपाह प्रवृत्तिले शासक, शासन व्यवस्था र प्रणालीमाथि नै आक्रोश, अविश्वास, घृणा पैदा गराउने र त्यसले समाजलाई भिडन्त तर्फ लैजाने भन्दै उनले बजेट मार्फत गम्भीर कमजोरी भएको भन्दै सच्याउन आग्रह गरेका छन् ।

आइतबार, १६ जेठ, २०७८, बिहानको ०८:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर