विराटनगर । ठूला पाँच पार्टी निकट रहेका मोरङका युवा संगठनहरुले प्रतिनिधिसभा विघटनको विरुद्ध उठ्न युवाहरुलाई आव्हान गरेका छन् ।
नेपाली कांग्रेस निकट तरुण दल, माओवादी केन्द्र निकट वाइसिएल, नेकपा एमाले निकट युवा संघ, जनता समाजवादी पार्टी निकट समाजवादी युवा फोरम र विवेकशिल साझा पार्टी निकट युवा संगठनले प्रधानमन्त्री र राष्ट्रपतिबाट जेठ ७ गते चालिएको कदमको न्यायिक एवम् राजनीतिक रुपमा प्रतिवाद गर्न आव्हान गरेका हुन् । बिहीबार युवा संगठनहरुको तर्फबाट संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुले प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओली आएसँगै देशमा निरन्तर असंवैधानिक र अलोकतान्त्रिक गतिविधि भइरहेको जनाइएको छ ।
‘प्रधानमन्त्री खड्ग प्रसाद ओलीको नेतृत्वमा सरकार गठन भएदेखि नै निरन्तर रुपमा गैर संवैधानिक, अलोकतान्त्रिक एवं जनविरोधी गतिविधिहरु गर्दै विधि तथा पद्धतीको समेत बेवास्ता गरी अधिनायकवादतर्फ उन्मुख सरकारका गतिविधिहरुले लोकतन्त्र, गणतन्त्र तथा संसदीय मूल्य, मान्यता र संविधान माथि प्रहार गर्ने कार्य भइरहेको सबैलाई प्रष्टै छ,’ तरुण दलका मोरङ अध्यक्ष प्रभाकरण थापा, वाइसिएल अध्यक्ष मो.आजम प्रवेज, युवा संघका कार्यबहाक अध्यक्ष संजय वि.क., समाजवादी युवा फोरमका सचिव सुशीलकुमार यादव र विवेकशील साझा युवा संगठनका संयोजक मनोजकुमार मण्डलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘तसर्थ संवैधानिक व्यवस्था अनुसार बहुमत सांसद सदस्यहरुको माग दाबीलाई न्यायिक मान्यता दिई संविधानको धारा ७६(५) अनुसार माननीय शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गरी मुलुकको वर्तमान राजनीतिक संकटको निकास शीघ्र निकालियोस् भनि सम्बन्धीत पक्षसँग जोडदार माग गर्दछौं ।’