प्रतिनिधिसभा विघटन प्रकरण: संवैधानिक इजलासमा आज सुनुवाइ हुँदै

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दर्ता भएका ३० वटा रिट निवेदन माथि आज संवैधानिक इजलासमा सुनुवाई हुँदैछ । संसदीय सुनुवाइको माग गर्दै परेका ११ वटा रिट र अन्तरिम आदेश माग गर्दै दर्ता भएका १९ वटा रिट निवेदन सबैलाई संवैधानिक इजलासमा राखेर सुनुवाइ गरिनेछ । बिहीबार प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जबराको इजलासले १९ वटा रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश गरेका थिए ।

रिट निवेदकले तत्कालन संसद पुनः स्थापना गर्न अन्तरिम आदेशको माग गरेका छन् । शुक्रवार बस्ने संवैधानिक इजलासले निवेदकको माग अनुसार अन्तरिम आदेश दिने की नदिने भन्नेबारे निर्णय गर्नेछ ।

संवैधानिक इजलासमा प्रधान न्यायाधीशसहित ५ जना न्यायाधीश हुन्छन् । प्रधान न्यायाधीशले आफूसहित रोष्टरमा रहेका सिनियर न्यायाधीश मध्येबाट इजलास गर्ने कानुनी व्यवस्था छ ।

संसद पुनः स्थापना गरेर शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै विपक्षी गठबन्धनका १ सय ४६ जना सांसदले हस्ताक्षरसहित निवेदन दर्ता गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेकी थिइन् । राष्ट्रपतिको सो कदमको चौतर्फी विरोध भइरहेको छ ।

शुक्रबार, १४ जेठ, २०७८, बिहानको ०८:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर