काठमाण्डौ । सरकारले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेपछि त्यसका आलोचकहरूले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठका दुईवटा बेग्लाबेग्लै भिडियो फुटेज सामाजिक सञ्जालमा भाइरल बनाएका छन् । भिडियोमा ओलीले भनेका छन्– नागरिकता चकलेट होइन । श्रेष्ठले भनेका छन्– नागरिकता बसको टिकटजस्तो होइन, बुहारीहरूले हैरान खेलाइरहेका छन् ।
प्रधानमन्त्री ओलीले गत ०७४ सालको चुनावअघि लुम्बिनीमा गरेको भाषणमा भारतबाट बिहे गरेर आएका बुहारीहरूलाई तत्कालै नागरिकता दिने व्यवस्थाको विरोध गरेका थिए । श्रेष्ठले संसदीय समितिमा बोल्दा ‘बुहारीहरूले हैरान पारेको’ बताएका थिए । ओली र श्रेष्ठ दुबै नेताहरु बुहारीहरूमाथि खनिएका थिए ।’
चुनावअघि प्रतिपक्षमा रहेका बेला ओलीले सिद्धार्थनगर नगरपालिकामा भाषण गर्नेक्रममा नागरिकताबारे बोलेको कुरा उनकै शब्दमा–
‘नागरिकता चकलेट होइन, बोर्डरमा बसेर आउने जतिलाई दिँदै जाने’
उहिले–उहिले राजा–रानीको जन्म दिवसमा केटाकेटीलाई स्कुलमा भेला गरेर चकलेट बाँडिन्थ्यो । नागरिकता चकलेट होइन, बोर्डरमा बसेर आउने जतिलाई दिँदै जाने ।
हरेक नेपाल जनतालाई नागरिकता दिनुपर्छ, सरकारले दिन्छ र दिइनेछ नागरिकता । कुनै समस्या छैन । बैबाहिक अंगीकृतलाई भारतमा ७ वर्षयता नागरिकता मिल्दैन, हामी आउनेबित्तिकै उसै बेला नागरिकता दिन्छौं । तर, मन्त्री हुन पाँच वर्ष पर्खिनुपर्छ । मधेसी मोर्चाको यत्रो रडाको के छ भने हामीले उताबाट ल्याएका बुहारीहरूलाई पाँच वर्ष किन पर्खिने ? बिहे गरेको भोलिपल्ट मन्त्री बनाउनु पाउनुपर्छ ।
अहिले पनि १२/१३ जना बुहारीहरू सांसद हुनुहुन्छ । एउटी बुहारी मन्त्री हुनुहुन्छ । नेपाली काँग्रेसको नेता हुनुहुन्छ । ज्वाइँहरूको त कुरै नगरौं, भरमारै छन् । अब यति त भयो–भयो नेपाली नै हुनै नपाउने, उत्तिखेरै ल्याउनुपर्ने । माग यस्तो के हो यो ? त्यसकारण यो पनि ठीक छैन । यो स्वीकार्न सकिँदैन ।
संसारमा कहीँ पनि उडेर आइपुग्नेवित्तिकै नागरिकता दिइँदैन । कहीँ पनि हुँदैन संसारमा । तर, नेपालमा आइपुग्नेवित्तिकै दिने त गरि नै सकेका छौं । त्यो मात्रै होइन अब, आइपुग्नेवित्तिकै सांसद, मन्त्री पनि बनाउनुपर्ने ।
अब यो सिद्धार्थनगर नगरपालिकामा सांसद को बनाउनुपर्ने उतैबाट तोकिन्छ । एउटा केटासँग बिहे भयो भनिन्छ अनि नागरिकता दिइन्छ, विवाह दर्ता गरेर । त्यसपछि उम्मदेवार बनाइन्छ । यस तरिकाले चल्ने हो ? यहाँ नेपाली छैनन् ? नेपालीले गर्न सक्दैनन् ? यहाँका समुदाय छैनन् ? त्ययसकारण हामी कुनै पनि कुरामा भ्रममा पर्नुहुँदैन ।
बुहारीले कत्ति हैरान खेलाइरहेको छ’
एक सुकाको सिँदुर लिएर यस्सो सिँदुर राख्न भ्याउँदैन, अर्को हातबाट नागरिकता बुझाइरहेका छौं । संसारमा कहाँ छ यो ? संसारमा कहाँ छ यो ? जो बुहारी भएर आउँछन् । एक–दुईवटा बुहारीले कत्ति हैरान खेलाइरहेको छ, उदाहरण त छँदै छ नि । त्यसकारण नागरिकताको सवाल त्यति सहज र हल्का, बसको टिकट काटेजस्तो होइन ।
नागरिकता भनेको राष्ट्र रहने र राष्ट्र नरहने भन्ने विषय हो । एउटा आमाले सन्तान जन्माएको जस्तै हो नागरिकता भनेको । नागरिकताको सवालमा देश रहने कि नरहने भन्ने स्थितिमा पुग्न सक्छ । हामीले मरिसस भन्ने देश पनि देखिराखेका छौं । हामीले फिजी भन्ने देश पनि देखिरहेका छौं । संसारकै यस्ता देशहरु सबैको नाम नलिऔँ ।
त्यसैले, हामी उत्तरमा चीन, दक्षिणमा भारत डेढ अर्ब र दक्षिणमा एक अर्ब ३७ करोड जनसंख्या भएको दुई देशको बीचको एउटा स्वतन्त्र र सार्वभौम मुलुक नेपाल हो । साँच्चै आत्मा साक्षी राखेर नेपाली आत्मा म अहिले तपाईहरुसमक्ष प्रकट हुँदैछु ।
सभापतिज्यू, जसरी महिलाले आफ्नो सन्तान जन्माउँदाखेरि निश्चित समय पार गरेर सन्तान जन्माउँछन्, ठीक ढंगले डेलिभरी दिनोस्, नारीले आमाले बच्चा जन्माउँछिन् । डेलिभरीमा ध्यान दिएन भने, त्यो डेलिभरी, प्रश्रव वेदनालाई ठीक ढंगले ट्रिटमेन्ट भएन भने आमा मर्न सक्छ । बच्चाको कुरा नगरौं । बच्चा जन्माउने आमाको मृत्यु हुन सक्छ । यसलाई हामीले अलिकति गम्भीरतैपूर्वक लिनुपर्छ । भन्ने मलाई लागेको छ । रातोपाटीबाट साभार