उपेन्द्र यादवको कठोर निर्णय : ओली सरकारमा सहभागी भए निष्कासित हुने

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार विरुद्ध कठोर बन्दै आएको जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्षको कार्यकारीणी समितिको बैठक सकिएको छ । बैठकले आफ्ना पार्टीका कुनै पनि सदस्य ओली नेतृत्वको सरकारमा सहभागी भए पार्टीबाट स्वतः निष्कासित हुने निर्णय गरेको छ ।

जसपाको नीति, सिद्धान्त, विचार, एजेण्डा, विधान र कार्यदिशा विपरित कार्य गर्दै गराउँदै हिँडेका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टी विधान र नियमावली बमोजिम स्पष्टीकरण सोध्ने निर्णय समेत गरिएको सो पार्टीका प्रचार–प्रसार विभाग प्रमुख डम्बर खतिवडाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पार्टीको आइतबार बसेको कार्यकारिणी समितिको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै खतिवडाले पार्टी विरोधी गतिविधिमा संलग्नताबारे आवश्यक सूचना संकलन गर्ने र यथोचित कारवाही प्रकृया अगाडि बढाउने निर्णय गरिएको समेत उल्लेख गरेका छन् ।

यस्तै बैठकले पार्टीको बैठक बोलाउने र निर्णय प्रमाणित गर्ने लगायतका सम्पूर्ण अधिकार कार्यकारी अध्यक्ष उपेन्द्र यादवलाई दिने निर्णयसमेत गरेको छ ।

सो पार्टीका संसदीय दलका नेताको रुपमा चयन गरिएका भनिएका राजेन्द्र महतो कार्यकारिणी समितिले पार्टी संसदीय दलको विधान अनुमोदन नगरेको भन्दै त्यसको कुनै अर्थ नहुने उल्लेख छ । कुनै अमूक व्यक्ति संसदीय दलको नेता भएको अफवाह विल्कुलै झुठो रहेको उल्लेख गर्दै विज्ञप्तिमा लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल सदस्य हुने गरी कुनै कार्यदल पार्टीमा नबनाइएको समेत स्पष्ट पारिएको छ ।

जेठ ७ गते मध्यरातमा महन्थ ठाकुरले राष्ट्रपतिको कार्यालयमा जनता समाजवादी पार्टीको नामबाट दर्ता गराएको भनिएको पत्र फर्जी भएको र त्यसको कुनै कानुनी तथा वैधानिक हैसियत नहुने समेत बैठकले स्पष्ट पारेको छ । बैठकले अघिल्लो प्रादेशिक तथा स्थानीय निर्वाचनमा पार्टीको टिकट र चुनाव चिन्ह लिइ निर्वाचनमा विजय भइ जनप्रतिनिधि भएका तर यस बीचमा पार्टी परित्याग गरी अन्य पार्टीमा सामेल भएका र पार्टी अनुशासन पालना नगरी पार्टी हित विपरित कार्यहरु गर्नेहरूमाथि प्राप्त सूचनाका आधारमा आवश्यक छानविन गरेर यथोचित कारवाही प्रकृया अगाडि बढाउने पनि निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

आइतबार, ०९ जेठ, २०७८, रातीको ०८:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर