विराटनगर । वि.सं. २०५० साल जेठ ३ गते नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित चढेको जीप चितवनको दासढुंगामा रहश्यमय दुर्घटना हुँदा दुबै जनाको निधन भएपछि एमालेले त्यसलाई षड्यन्त्रपूर्ण हत्या भन्यो । घटनाको छानविन गर्न एमालेले स्थायी कमिटी सदस्य केपी शर्मा ओलीको अध्यक्षतामा बनाएको छानविन आयोगले दुई नेताको हत्या भएको निश्कर्ष निकालेको थियो ।
जनप्रयि नेता भण्डारी र आश्रितको निधनपछि एमालेको अगुवाईमा वामपन्दी दलहरुले संयुक्त रुपमा देशब्यापी आन्दोलन सञ्चालन गरेका थिए । त्यसक्रममा दर्जनौं नागरिकले ज्यान गुमाए भने धेरै अंगभंग भए । आन्दोलनकारीको तर्फबाट भौतिक संरचनामा क्षति पुग्यो । तर, दाशढुंगा काण्डको रहश्य बाहिर आएन ।
नेकपा एमालेले दाशढुंगा हत्याकाण्डको छनविन गरि हत्यारालाई कार्वाही गर्ने विषय पटक–पटक चुनाबी एजेण्डा बनायो । तर, सत्तामा बारम्बार पुगेपनि त्यसको छानविनमा वास्ता गरेन । अहिले दासढुंगामा जीवन गुमाउने भण्डारीकी श्रीमति विद्यादेवि भण्डारी राष्ट्रपति छन् भने घटनालाई षड्यन्त्रपूर्वक गरिएको हत्या भन्ने निश्कर्ष निकाल्ने छानविन समितिका संयोजक केपी शर्मा ओली मुलुकको प्रधानमन्त्री छन् । तर, हत्याकाण्डबारे छानबिन गर्न उनीहरुले नै चाहेका छैनन् ।
दासढुंगाको काण्डलाई राजनीतिक दाउपेचका लागि मात्रै एमालेले प्रयोग गरिरहेको आरोप लागिरहँदा ओलीले मदन–आश्रितको २८ औं स्मृति दिवसमा भने सो घटनालाई ‘रहस्यमयी दुर्घटना’ भनेका छन् । पहिले हत्या ठहर गरेका ओलीले सोमबार जारी गरेको प्रेस वक्तव्यमा ‘रहस्यमय दासढुंगा दुर्घटना’ भनेका छन् ।
यसअघि एमालेले मनदआश्रित दिवसका दिन हत्याकाण्डबारे छानबिन गर्ने बताउने गरेको थियो। तर, ओलीले यो पटकको विज्ञप्तिमा छानबिन गर्ने विषय उठाएका छैनन । अघिल्लो वर्ष साविक नेकपाको तर्फबाट जारी भएको वक्तव्यमा अध्यक्षद्वय ओली र प्रचण्डले ‘आम नेपाली जनताले उक्त घटनालाई सामान्य सडक दुर्घटना मान्न तयार नभएको र घटनाको रहस्य अझै उद्घाटित हुन नसकेकाले दासढुङ्गा दुर्घटनाबारे छानबिन गर्ने’ उल्लेख गरिएको थियो ।
ओली आफैं संरक्षक रहेको मदन भण्डारी फाउण्डेशनले प्रकाशित गरेको श्रद्धाञ्जलि पुस्तकमा दुबै नेताहरूको शरीरमा गहिरो चोटपटक लागेको र हत्या भएको पर्याप्त आधारहरू भेटिएको उल्लेख छ। एमालेले तत्कालिन नेपाली काँग्रेसको सरकार, अमेरिका र भारतको योजनामा मदन र आश्रितको हत्या भएको आरोप सडकदेखि सदनसम्म लगाएको थियो ।
दासढुंगा दुर्घटनापछि तत्कालिन सरकारले २०५२ जेठ ४ गते नै त्यसको छानबिन गर्न भूतपूर्व न्यायाधीश प्रचण्डराज अनिल रहेको एक सदस्यीय आयोग बनाएको थियो । एमालेले सो आयोगको विरोध गर्दै जेठ ५ गते सो ओलीको नेतृत्वमा अर्को आयोग बनाएको थियो ।
अनिल आयोगले असार ३ गते विज्ञप्ति प्रकाशित गरेर आयोगबाट संकलन हुन सकेका तथ्य र सबुत प्रमाणको आधारमा दुर्घटना अरू कुनै शक्ति या व्यक्तिले षड्यन्त्र गरी गराएको नदेखिएको ठहर गरेको थियो । चालक अमर लामाको लापर्वाहीको कारण दुर्घटना भएको अनिल आयोगको निश्कर्ष थियो ।
ओली आयोगले भने असार १० गते पार्टीको तत्कालिन कार्यालय बागबजारमा पत्रकार सम्मेलन आयोजना मदन आश्रितको हत्या भएको ठहर गरेको थियो । प्रतिवेदनमा मदन आश्रितको मृत्यु नियोजित भएको ठहर गरिएको थियो ।