विराटनगर । राष्ट्रियता, राजनीतिक स्वतन्त्रता र राज्यद्वारा भइरहेको दमनको विरुद्धमा विद्यार्थीहरुले संगठित अभियान तय गरेर आरम्भ भएको विद्यार्थी आन्दोलन अहिले शिथिल भएको छ । त्यही अभियानलाई निरन्तरता दिँदै जेठ १ गतेका दिनलाई परिवर्तनकारी प्रगतिशिल विद्यार्थीहरुले विद्यार्थी दिवसको रुपमा मनाउने गरेको भएपनि २०७८ सालको ५७ औं विद्यार्थी दिवससम्म आइपुग्दा विद्यार्थी संगठनहरु एजेण्डावीहिन देखिएका छन् ।
असमान सन्धी सम्झौताको खारेजी गर्नुपर्ने, विद्यार्थी संगठन खोल्न पाउनुपर्ने, गोरखा भर्ति केन्द्र बन्द गर्नुपर्ने, र तात्कालिन अवस्थामा पञ्चायत शासकहरुबाट भइरहेको विद्यार्थीमाथिको धरपकड बन्द गरी गिरफ्तार भएका विद्यार्थीलाई रिहाइ गर्नुपर्ने मागसहित संगठित रुपमा २०२१ साल जेठ १ गते विद्यार्थीहरु लामो संघर्षमा होमिएका थिए । त्यसै आन्दोलनको बलमा २०४६ सालमा प्रजातन्त्र पुनर्वहाली र २०६५ सादमा गणतन्त्र स्थापना भएपनि पछिल्लो समयमा विद्यार्थी आन्दोलन शिथिल र मुद्दा विहीन भएको छ ।
निरंकुश पञ्चायत व्यवस्थाले राजनीतिक स्वतन्त्रता हनन् गरेको विरुद्धमा विद्यार्थीहरुले राजनीतिक स्वतन्त्रता खोजेका थिए । उनीहरुले स्वतन्त्र विद्यार्थी यूनियन खडा गर्न पाउनुपर्ने मागलाई मुख्य मूद्दा बनाएका थिए । तर, गणतन्त्र स्थापना भएपछि देशका अधिकांश क्याम्पसहरुमा विगत १३ वर्षदेखि स्वतन्त्र विद्यार्थी युनियन गठन हुन सकेको छैन । स्ववियूको निर्वाचन नहुदाँ विद्यार्थीहरुमा राजनीतिक सचेतना, मुद्दाहरुको विकास र अभियान संस्थागत भएको छैन भने नेतृत्व विकासमा पनि अवरोध भएको छ ।
अखिल क्रान्तिकारी मोरङका अध्यक्ष टेकेन क्षेत्री राजनीतिक स्थिरता कायम नभएको र विद्यनार्थीहरुको आवश्यकतामा व्यापक परिवर्तन आएको अवस्थामा विद्यार्थी संगठनहरुले त्यस अनुरुप अभियान र आन्दोलन बनाउन नसकेको स्वीकार गर्दछन् । उनी भन्छन् ‘पहिले विद्यार्थी आन्दोलनका लागि जे जे एडेण्डाहरु थिए अहिले त्यसमा व्यापक परिवर्तन भइसकेको छ तर पनि समाजवादी शिक्षा प्रणालीमा प्रवेश गर्नका लागि हाम्रो जोड हुनुपर्ने हो त्यसलाई आन्दोलनको स्वरुप दिन भने विद्यार्थी संगठनहरु चुकेकै देखिन्छ ।’ आज विद्यार्थीहरुको सिकाई विधि, उनीहरुलाई आवश्यक पर्ने खानपान, रहनसहन र न्यूनतम वातावरणको विषयलाई पनि आन्दोलनको रुपमा अगाडि बढाउनु पर्ने उनको भनाइ छ । विद्यार्थी अभियान र आन्दोलनको मार्ग तय गर्न नसक्दा पछिल्लो पुस्ताले सत्ताका लागि हुने राजनीतिलाई मात्र राजनीति बुझ्न थालेको र युवा पुस्ता राजनीतिमा आवद्ध हुन नचहाने समस्या देखा परेको उनी बताउँछन् ।
अखिल क्रान्तिकारीका मोरङका नेता तथा जिल्ला सचिवालय सदस्य अभिमन्यू यादव विद्यार्थी संगठनले विद्यार्थीको मुद्दामा केन्द्रीत हुने वातावरण दलहरुका कारण बन्न नसक्दा विद्यार्थी आन्दोलन कमजोर बनेको टिप्पणी गर्छन् । ‘विद्यार्थी संगठनहरु मातृपार्टीको झोला बोक्ने र पार्टीको राजनीतिक उद्देश्य प्राप्तीमा प्रत्यक्ष जोडिने क्रम अत्यन्तै धेरै भयो,’ यादवले भने ‘यसले हाम्रा विद्यार्थीहरुका समस्या र मुद्दाहरु छुट्न पुग्यो, हामीले सर्वसुलभ शिक्षाको विषयलाई यतिबेला जोड दिएर उठाउन सक्नुपथ्र्यो तर सकेनौं, शिक्षाको ब्यापारीकरण अत्यासलाग्दो अवस्थामा छ तर हामीले त्यसका विरुद्ध आन्दोलन बनाउन सकेका छैनौं ।’ उनले विद्यार्थीहरुलाई सत्ता राजनीतिका लागि कम प्रयोग गरी आफ्नै मुद्दामा सक्रिय बनाउने भूमिका राजनीतिक दलहरुले नलिएसम्म नयाँ ढंगले आन्दोलन विकास नहुने यादवको भनाइ छ । राजनीतिक दलहरु विद्यार्थी नेतृत्वको विकासका लागि पनि गम्भीर नदेखिएको भन्दै उनले १३ वर्षदेखि क्याम्पसहरु स्ववियू विहीन हुने अवस्था दलहरुकै कारण उत्पन्न भएको टिप्पणी गरे ।
विद्यार्थी दिवशको सुरुवात
२०१७ साल पौष १ गतेको शाही ‘कू’ ले जनताका सीमित अधिकारलाई कुण्ठित ग¥यो । फेडरेशन भूमिगत हुन बाध्य भयो । संर्घषशील विद्यार्थीहरु चुपचाप रहन सकेनन् । ०१८ मा फेडरेशनको बैठक बसी स्ववियूको नारालाई अगाडि ल्याउने निर्णय भयो । २०२१ सालमा उपत्यकाव्यापी अन्तरकलेज विद्यार्थी सम्मेलन सम्पन्न भयो । उक्त सम्मेलनले असमान सन्धिहरुको विरोध, गोर्खा भर्तिकेन्द्रको खारेजीको माग, बन्दी विद्यार्थीहरुको रिहाई तथा स्ववियूको पूनर्वहालीजस्ता मागहरु राख्दै निर्णयहरु पारीत ग¥यो । सम्मेलन भएको खुशीयालीमा जेठ १ गते विद्यार्थीहरुले विशाल जुलुश निकाले । उक्त प्रर्दशनमा सरकारले जंगली आक्रमण ग¥यो । आक्रमणको विरोधमा उपत्यकाव्यापी हड्ताल भयो र सरकार विद्यार्थीहरुसँग सम्झौता गर्न बाध्य भयो । यही विजय भएको दिनलाई आज विद्यार्थी संघ संगठनले एकता र विजयको दिनको रुपमा तथा संगठन स्थापनाको रुपमा मनाउँदै आएका छन् ।
के के थिए मागहरु
अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष लेखनाथ न्यौपानेका अनुसार, वि.सं. २०२१ साल बैशाखमा त्रिचन्द्र कलेज विद्यार्थी युनियनको क्रियाशीलता र व्यवस्थापनमा उपत्यकाव्यापी अन्तरकलेज विद्यार्थी सम्मेलन सम्पन्न भयो । यस सम्मेलनले निम्न मागसहितको एउटा मागपत्र तयार गरी सशक्त संघर्ष संचालन गर्ने निर्णय गर्यो ।
– गोर्खा भर्ती केन्द्र पूर्णतः खारेज गर्नुपर्ने ।
– सबै राष्ट्रघाती असमान सन्धिहरूको खारेज गर्नुपर्ने ।
– स्ववियू खोल्न पाउने अधिकारको बहाली गर्नुपर्ने ।
– सम्पूर्ण बन्दी विद्यार्थीहरू विनासर्त रिहा गर्नुपर्ने ।
पाँच दिनसम्म चलेर सम्मेलन भव्यताका साथ सम्पन्न भएको खुशीयालीको विजयभावमा जेठ १ गते विद्यार्थीहरूको विशाल जुलुस प्रदर्शन भयो । भर्खरै चक्चकीको अवस्थामा पुगेको पंचायती सत्ताले विद्यार्थी जुलुसमाथि व्यापक दमन गर्याे । पंचायती प्रहरीसँग आन्दोलनकारी विद्यार्थीहरूको व्यापक भीडन्त हुँदा कैयौं विद्यार्थी र प्रहरीहरू घाइते भएभने १५० भन्दा बढी विद्यार्थीहरू गिरफ्तार भए । त्यसपछि उपत्यकाव्यापी आम हड्ताल सुरू भयो । फलस्वरूप स्ववियू खोल्न पाउने अधिकार वहाली र बन्दी विद्यार्थी रिहाइसहित अन्य कतिपय माग पूरा गर्न पंचायती सत्ता बाध्य भयो । यसरी विद्यार्थीको एकताको बलमा आन्दोलनको जीत भएकोले हरेक वर्ष जेठ १ गतेलाई विद्यार्थी दिवस (एकता र विजय दिवश) को रूपमा मनाउँदै आइएको छ ।