बजार अनुगमनमा उपमेयर

इटहरी । बजारमा ग्याँस र मास्क अभाव भएको गुनासोपछि सुनसरीको इटहरी उपमहानगरपाालिकाले बुधबार बजार अनुगमन गरेको छ ।

उपमहानगरका उपप्रमुख लक्ष्मी गौतमको नेतृत्वमा बुधबार ७ वटा ग्याँस डिलरमा अनुगमन गरिएको थियो ।

तीमध्ये दुई वटा डिलरमा ग्याँस सकिएको पाइएको थियो भने चार वटामा सामान्य रुपमा ग्याँसको बिक्री विगतरण भइसकेको पाइएको थियो । एउटा डिलरले भने बाहिर खाली सिलिण्डर राखेर भरिएका सिलिण्डर भित्र राखी बिक्री गर्दै गरेको पाइएको उपमहानगरपालिकाले जनाएको छ ।

सो टोलीले इटहरीका तीन वटा औषधी पसल पनि अनुगमन गरेको थियो । अनुगमनका क्रममा मास्क अभाव रहेको पाइएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिनुभयो । बजारमा मास्कको अभाव देखिएकोले कसरी आपुर्तिको प्रवन्ध गर्ने भन्ने विषयमा छलफल गर्ने उहाँले बताउनुभयो ।

बजार अनुगमनका क्रममा खुलारुपमा ग्याँस बिक्री गर्ने बिक्रेताहरुलाई उपप्रमुख गौतमले धन्यवाद दिँदै कोरोना भाइरसका कारण त्रास महशुस गरेका जनतालाई अवस्था सहज छ भन्ने अनुभूति दिन आवश्यक रहेको बताउनुभयो । उहाँले लुकाएर वा भित्र राखेर हैन बाहिर राखेर सहज रुपमा बिक्री गर्न पनि आग्रह गर्नुभयो ।
ग्याँसका डिलरहरुले माग अनुसार उद्योगबाट कम आउने गरेका कारण केही अभाव जस्तो देखिएको भएपनि समस्या नरहेको बताएका थिए । हल्लाका कारण सर्वसाधारणले वस्तु सञ्चय गर्ने प्रवृत्ति बढेकोले मात्र समस्या देखिएको बताइएको छ ।

नेपाल आयल निगम प्रदेश १ कार्यालयले नियमितरुपमा ग्याँस आयात भइरहेको जानकारी दिएको छ । इटहरी उपमहानगरले बजार अनुगमनलाई निरन्तरता दिने उपप्रमुख गौतमले बताउनुभयो । इटहरी उपमहानगरले महिनामा दुई पटक बजार अनुगमन गर्दै आएको छ ।

बुधबार, २८ फागुन, २०७६, रातीको ०८:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर