वैशाख अन्तिमदेखि सरकारका संकट सुरु : आचार्य

मोरङ । नेकपा एमाले नेपाल–खनाल समूहका नेता तथा एमाले सचिव भीम आचार्यले वैशाख अन्तिमदेखि वर्तमान सरकारलाई संकट आउने दाबी गरेका छन् ।

मोरङको सुन्दरहरैंचामा आज आयोजित सो समूहको मोरङ जिल्ला समिति तथा विराटनगर महानगर समितिका पदाधिकारी तथा सदस्यहरूलाई सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले यस्तो बताएका हुन् ।

उनले जेठ १५ सम्ममा नीति तथा कार्यक्रम ल्याइसक्नु पर्ने र नीति तथा कार्यक्रम पास गर्न सरकारलाई बहुमत नपुग्ने भएकोले संकट सिर्जना हुने दाबी गरेका हुन् । ‘अहिले त्यसकै छटपटीमा प्रधानमन्त्री ओलि लागेका छन्,’ उनले भने ।

सचिव आचार्यले मदन भन्डारी फाउन्डेसनका नाममा गठन गरिएका कमटीलाई ओलिले आधिकारिकता दिएकोले त्यसलाई मान्न नसकिने समेत बताए । उनले वैशाख अन्तिमदेखि देशमा जटिल अवस्था आउन सक्ने भएकोले त्यसमा डट्नसमेत नेता कार्यकर्तालाई निर्देशन दिए ।

संगठन निर्माणलाई तीब्रता

नेकपा एमाले नेपाल–खनाल समूहले पार्टी संगठन निर्माणको कामलाई तीब्र बनाएको छ ।

केहिदिन अघि विराटनगर महानगर कमिटीको छुट्टै कार्यालय खोलेको उक्त समुहले शनिबार जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएको छ ।

मोरङ सुन्दरहरैंचामा चैत २८ गते बनाइएका जिल्ला कमिटिका पदाधीकारी तथा सदस्यलाई सपथ ग्रहण गराइएको हो । सो समूहले एमालेका पुराना नेता चन्द्रवीर राईको अध्यक्षतामा ३ सय ३१ सदस्यीय समानान्तर जिल्ला कमिटी र युवा नेता पारुल क्षेत्रीको अध्यक्षतामा १ सय ७५ सदस्यीय महानगर कमिटी गठन गरेको थियो । जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरुलाई एमालेका सचिव तथा १ नम्बर प्रदेश इन्चार्ज भीम आर्चालयले सपथ ग्रहण गराएका थिए ।

शनिबार, ११ बैशाख, २०७८, साँझको ०५:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर