बादल संसद र गृहमन्त्रीबाट पदमुक्त

विराटनगर । नेकपा माओवादी केन्द्र परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा मगर (बादल) पदमुक्त भएका छन् ।

राष्ट्रिय सभा सचिवालयले थापाको राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना आइतबार जारी गरेको छ।

नेकपा माओवादी केन्द्रले उनलाई पार्टीबाट निस्कासन गरेको पत्र गत चैत २७ गते नै राष्ट्रियसभा सचिवालयमा पठाएको थियो । राष्ट्रिय सभाले आइतबार थापाको पद रिक्त हुने निर्णय गरेको हो ।

सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताउने निर्णय गरेपछि पूर्वमाओवादी नेता थापा एमाले प्रवेश गरेका थिए । उनी बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए ।

राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै थापा गृहमन्त्रीबाट पनि पदमुक्त भएका छन् । तर, उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई एमाले नेताको हैसियतमा पुनः गृहमन्त्रीमा पुनर्नियुक्तका लागि सिफारिस गरेका छन् ।

बादलको साँझ ५ बजे राष्ट्रपति भवनमा शपथग्रहण हुने तय भएको प्रधानमन्त्रीको सचिबालयले जनाएको छ । सांसद नभएका व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन सक्ने संवैधानिक व्यवस्था छ । यही व्यवस्था अनुसार बादल पुनः गृहमन्त्री बन्ने भएका हुन् ।

आइतबार, ०५ बैशाख, २०७८, बिहानको ११:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर