नेपाल पत्रकार महासंघ निर्वाचन

सरकार विरोधी मोर्चाको जित, ओली पक्षको हार (पूर्ण विवरण)

विराटनगर । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेलको प्यानल नै निर्वाचित भएको छ । यो समूह वर्तमान सरकारको विरोधी समूह हो ।

सत्तापक्षको प्रेस चौतारी समूहले केन्द्रीय समितिको एउटा मात्रै केन्द्रीय सदस्यबाहेक अन्य कुनै पनि पदमा जित निकाल्न सकेन । सरकार विरोधी प्रेस युनियनको नेतृत्वको टिमले भने सबै प्रदेशमा पनि प्यानलकै जित निकालेको छ ।

अध्यक्षका निकटतम प्रतिद्वन्द्वी निर्मला शर्मालाई तीन हजार बढी मत अन्तरले पराजित गर्दै पोखरेल अध्यक्षमा निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस संगठन नेपाल र नेकपा एमालेको माधव नेपाल समूह निकट प्रेस चौतारीसहित ११ संगठनको गठबन्धनको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका पोखरेलले ६ हजार ९४२ मत पाएका छन् ।

एमालेको ओली समूह निकट प्रेस चौतारी, जनता समाजवादी पार्टीसम्बद्ध प्रेस मञ्च, नेकपा विप्लव समूह समर्थित जनपत्रकार संघसहित ९ वटा संघको तर्फबाट अध्यक्षको उम्मेदवार बनेकी शर्माले ३ हजार ९१५ मत पाएकी छन् । अध्यक्षका अर्का उम्मेदवार गजेन्द्र बुढाथोकीले ४९१ मत पाएका छन् ।

पदाधिकारीमा विपुलकै प्यानलका उम्मेदवार निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जीएम निर्वाचित भएका छन् । महासचिवमा रोशन पुरी, खुला सचिवमा गोविन्दप्रसाद चौलागाईं, महिला सचिवमा सृजना अर्याल र समावेशी सचिवमा नारायण किलम्बु र एशोसिएट सचिवमा पवन आचार्य निर्वाचित हुँदा कलेन्द्र सेजुवाल कोषध्यक्ष र लेखनाथ न्यौपाने लेखा समिति संयोजक चुनिएका छन् ।

महासंघमा ओली समूह निकट प्रेस चौतारीको एक जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । महासंघकै इतिहासमा पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत भएको निर्वाचनमा १३ हजारभन्दा बढी मतदाता थिए ।

 

शनिबार, २८ चैत, २०७७, साँझको ०७:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर