विराटनगर । शुक्रबार प्रदेश १ का नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण समारोह सरकारकै प्रभावशाली मन्त्री हिक्मत कार्कीले बहिष्कार गरेका छन् ।
मन्त्रीमण्डल पुर्नगठनका क्रममा आर्थिक मामिला मन्त्रालयमा दाबी गरेका कार्कीलाई मुख्यमन्त्री शेरधन राईले विश्वास नगरेपछि उनले सपथ समारोह बहिष्कार गरेर असन्तोष जनाएका हुन् । आफूले भनेका व्यक्तिलाई पनि मुख्यमन्त्रीले मन्त्री पदमा नपत्याएपछि मन्त्री कार्की आक्रोशित बनेका हुन् । कार्कीले आफू निकट सांसद विमल कार्कीलाई मन्त्रीको जिम्मा दिनुपर्ने माग गरेका थिए । तर, मुख्यमन्त्रीले उनको कुरा सुनेनन् ।
आन्तरिक मामिलामन्त्री रहेका कार्कीले दाबी गरेको अर्थ मन्त्रालयमा भर्खरै माओवादी त्यागेर एमाले प्रवेश गरेका टंक आङबुहाङले मौका पाएका छन् । माओवादीहरुप्रति अनुदार भनेर चिनिने मन्त्री कार्कीले आर्थिक मन्त्रालय आफूले पाउनुपर्ने बताउँदै आएका थिए । ‘उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीसम्मको सोर्स लगाउनु भएको थियो’, मुख्यमन्त्री राईको सचिवालय स्रोतले भन्यो ‘तर, उहाँलाई अर्थ मन्त्रालय दिन सकिने अवस्था थिएन ।’
आफूले रोजेको मन्त्रालय नपाएपछि असन्तुष्ट कार्कीले सपथ समारोह बहिष्कार गरेकर दिनभर निवासमै बसेका थिए । उनको अनुपस्थितिबारे प्रश्न गर्दा मन्त्री जगदिश कुसियैतले सञ्चारकर्मीलाई भने ‘उहाँ टाउको दुखेर नआउनुभएको हो ।’ यति भनेर उनी मुसुमुसु हाँस्दै निस्किए ।