प्रदेश १ मा एमाले संसदीय दलको बैठक

अविश्वास प्रस्तावको हस्ताक्षर फिर्ता लिन निर्देशन

विराटनगर । सत्तारुढ एमालेको प्रदेश १ संसदीय दलले मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरुलाई एक साताभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ ।

सर्वोच्च अदालतले एमाले र माओवादीलाई अलग बनाइदिएपछि पहिलोपटक भएको दलको बैठकले यस्तो निर्देशन दिँदै
संसदीय दलको विधान पारित गरेको छ । त्यस्तै दलको नेताको नेतृत्वमा संसदीय बोर्ड पनि गठन गरेको छ । ‘अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नुहुने एमालेका सांसदहरुलाई एक साताभित्र हस्ताक्षर फिर्ता लिन दलको बैठकले निर्देशन दिएको छ’, एमाले सांसद गोपाल बुढाथोकीले भने ।

बैठकमा सहभागी माधव नेपाल पक्षधर सांसदहरु तुलसी न्यौपाने, लीलाबल्लभ अधिकारी लगायतका नेताहरुले अविश्वास प्रस्ताव फिर्ता हुनसक्ने बताएका थिए ।

बैठकले संसदीय बोर्डमा दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतकसहित काजीमान कागते, आशारत्न जवेगु, लीलाबल्लभ अधिकारी, तुलसी न्यौपाने, विमल कार्की, यशोदा अधिकारी, जसमाया गजमेर, ज्ञानेश्वर राजवंशी , बिर्ख प्रधान, अम्बिका थापा र लिलम बस्नेत लगायतलाई मनोनयन गरेको छ ।

 

बुधबार, ११ चैत, २०७७, बिहानको ११:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर