कान्छाको हत्या भएको परिवारको दावी

विराटनगर । विराटनगर–३ आयल निगमबाट पूर्वतर्फ घर भएका ३५ वर्षीय कान्छा भनिने नितेशकुमार राईको हत्या भएको दाबी गर्दै निष्पक्ष छानविन गरि दोषिलाई कारवाही गर्न परिवारले माग राखेका छन् ।

शुक्रबार दिउँसो कान्छाको विराटनगर १९ धनपुरामा शव भेटिएको थियो । शव भेटिएको स्थान राईको घरदेखि करिब दुई किलोमिटर पूर्वमा पर्दछ ।

कान्छाको शरिरमा निलडाम रहेको तथा नाक, बङ्गारा र अनुहारमा चोटपटक पनि देखिएकोले मृत्यु स्वभाविक नभएर हत्या भएको श्रीमति लक्ष्मी राईको भनाइ छ । साथीको घर जान्छु भनेर बिहीबार विहान घरदेखि स्कुटीमा गएका उनको शुक्रबार दिउँसो मृत्यु भएको खबर आएको थियो ।

‘घटनास्थलमा पुग्दा कान्छाको अनुहारमा चोटपटक र शरिरमा निलडाम रहनुले कुटपिट गरेर हत्या गरिदिएको स्पष्ट हुन्छ’ आइतबार पत्रकार सम्मेलन गर्दै कान्छाकी श्रीमति लक्ष्मीले भन्नुभयो, ‘प्रहरीले प्रशासनले घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्दछ ।’ मृतकका आफन्तले प्रहरीले प्रशासनले घटनाको अनुसन्धान गरि सत्यतथ्य बाहिर नल्याएसम्म शव नबुझ्ने बताएका छन् ।

शव पोस्मार्टम गर्न विराटनगरस्थित कोशी अस्पतालमा लगिएको थियो । घटनाको सत्यतथ्य प्रहरी प्रशासनले बाहिर नल्याएसम्म शव नबुझने मृतकका आफन्तले अडान कायम गरेको कारण कान्छाको शव कोशी अस्पतालको शवगृहमा छ ।

मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले यस घटनामा प्रहरी गम्भिर रूपमा अनुसन्धनामा जुटेको जानकारी दिनुभयो । ‘पोस्मार्टम गरेपछि भिसेरा गर्न प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाएको र रिपोर्ट आउन बाँकी छ । रिपोर्ट आएपछि घटनाको सबै विषय बाहिर आउँछ,’ एसपी खड्काले भन्नुभयो । प्रहरीका अनुसार घटनामा प्रहरीले सबै कोणदेखि अनुसन्धान सुरू गरेको छ ।

मृतक राईको घाँटीमा डोरी देखिएकोले आत्महत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । ‘डोरी चुँडिएको अवस्थामा भेटिएको छ । डोरी चुड्दा चोटपटक लागेको हुनसक्छ’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘सबै कोणबाट हामीले अनुसन्धान सुरू गरेका छौं ।’ मृतक कान्छाका श्रीमति र ५ वर्षका छोरा छन् ।

सोमबार, ०९ चैत, २०७७, बिहानको १०:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर