काठमाडौं । लामो समयको अन्योल चिर्दै नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी नयाँ सरकार बनाउने सहमति नजिक पुगेका छन् ।
यी तीन पार्टीबीचमा सरकार बनाउन आधारभूत सहमति जुटेको छ।
फागुन ११ गते सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेपछि दलहरुबीच प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्ने कसरत चलिरहेको छ। अब चाँडै नै कांग्रेसको नेतृत्वमा सरकार गठन हुने नेताहरुले बताएका छन्।
सोमबारसम्म सरकारबारे अनिर्णित अवस्थामा रहेका दलहरु मंगलबार भने निष्कर्षमा पुगेको उनीहरुको भनाइ छ। कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले लामो छलफलपछि तीन दलबीच सहमति जुटेको खुलासा गरे। त्यसो त माओवादी नेता वर्षमान पुनले पनि यसको पुष्टि गरिसकेका छन् ।
‘कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र जसपासहितको सहभागितामा सरकार बन्ने निश्चित भएको छ,’ सप्तरी पुगेका नेता सिटौलाले भने, ‘यसका निम्ति सबै तयारी पुरा भएको छ।’
सिटौलाका अनुसार चैत महिनाभित्रै अर्को सरकार बन्नेछ।
माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनले पनि चैत ५ गतेपछि कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र जसपा सम्मिलित सरकार गठनको प्रक्रिया सुरु हुने बताए।
‘५ गते जसपाको बैठक छ, त्यो बैठकपछि यो सत्ता समीकरणले मूर्त रुप पाउँछ,’ पुनले भने, ‘माओवादी केन्द्र, कांग्रेस र जसपाबीच समीरकण बन्छ।’ पुनले तीन दलबीचको गठबन्धन प्राकृतिक रहेको पनि बताए।
‘प्रधानमन्त्री ओलीले चालेको कदम असंवैधानिक हो, यसलाई सच्याउनुपर्छ भनेर आ–आफ्नो ठाउँबाट आन्दोलन गरेका थियौँ। संसद् पुनर्स्थापना भइसकेपछि यो एउटा प्राकृतिक गठबन्धन हो,’ पुनले भने।
यद्यपि, जसपाको एउटा धार भने अझै पनि ढुलमुलमा रहेको सो पार्टीका नेताहरुको भनाइ छ। सो धारले ओली सरकारलाई नै समर्थन गर्न खोजिरहेको उनीहरुको भनाइ छ। यद्यपी ५ गतेको बैठकमा सरकार गठनको विषयमा निर्णय लिइने वरिष्ठ नेता अशोक राईले बताए।
‘अब ५ गते बस्ने कार्यकारिणीको बैठकमा सरकार गठनको मोर्चाबारे निर्णय गर्छौँ,’ उनले भने।
एमाले पार्टी ब्युँतिएपछि नयाँ सरकार गठनका लागि जसपा निर्णायक बनेको छ।
संसदमा कांग्रेसको ६३ दुई जना निलम्बित, माओवादी केन्द्रको ५३ जसमध्ये ४ ओली पक्षमा र जसपाको ३४ दुई निलम्बित सांसद छन्।
प्रतिनिधि सभा पुनर्स्थापना भएदेखि नै कांग्रेस, नेकपाको प्रचण्ड–नेपाल पक्ष र जसपाबीच नयाँ सरकार गठनको विषयमा छलफल भइरहेको थियो।