गाउँटोलसम्मै विभाजित बन्दै एमाले

प्रदेश १ को मोरङसहितका विभिन्न जिल्लाहरुमा ओली पक्षले आफूखुसी कार्यालय कब्जा गर्ने, बोर्ड राख्ने, अर्को पक्षले राखेको बोर्ड हटाइदिने गर्दै

विराटनगर । नेकपा विभाजनको मुख्य सुत्रधार बनेको केपी ओली समूहले एमालेलाई पनि तल्लो तहसम्मै फुटाउने जमर्को गरिरहेको छ । ओलीका हरेक कदमलाई आलोचनात्मक रुपमा हेर्ने एमालेकै कार्यकर्ताहरुलाई भने ओली समूहले तल्लो तहसम्मै पेलेर जाने नीति अख्तियार गरेको छ ।

पार्टी केन्द्रमा एकलौटी निर्णय गरेर माधव नेपाल समूहप्रति अनुदार रवैया देखाएको ओली समूहको दादागिरी टोल–टोलसम्मै देखा पर्न थालेको छ । ओली र उनको समूहको दादागिरीलाई राजनीतिक अध्येताहरुले हिटलरसँग दाँज्न थालेका छन् भने एमालेकै कार्यकर्ताहरु आक्रोशित बनेका छन् ।

राजनीतिशास्त्रका अध्येता प्राध्यापक कृष्ण खनालले सामाजिक सञ्जाल फेसबुकमा ओलीलाई हिटलरसँग तुलना मात्रै गरेका छैनन्, उनको पछि लागेकाहरुलाई घुमाउरो रुपमा ‘विवेकहीन’ को संज्ञा पनि दिएका छन् । उनले लेखेका छन् ‘एको अहम्, द्वितीयो नास्ती, न भूतो न भविष्यति ! अर्थात एउटा मै हुँ अर्को कोही छैन, न हिजो कोही थियो न भविष्यमा कोही हुनेछ । यही हो, नेपालमा उदय भएको हिटलरवाद अर्थात ओलीपथ ! हेर्नु यत्ति मात्र छ कि कति लतारिने हुन् उनका पछि लागेका ‘पित्को’ मात्र विवेक भएका ‘दुनियाँ’ ले आश गरेका नेताहरु !’

राजनीतिक दर्शनका ज्ञाता पोखरेलको अनुमान केही घण्टामै प्रधानमन्त्री ओलीले पुष्टि गरिदिए । काठमाडौंमा आयोजित कार्यक्रममा उनले घोषणा नै गरे, आफूबाहेक प्रधानमन्त्रीको लायक कोही नभएको बताएर । काठमाडौंमा ओलीले यसो गरिरहँदा उनका समर्थकहरुले गाउँ–टोलसम्म उस्तै दादागिरी सुरु गरेका छन् । ‘ओली समर्थकहरुको घमन्डको पारो यति उच्च भएको छ कि हाम्रो पार्टीमा हामीलाई नै स्वागत छ भन्न थालेका छन्’, विराटनगर मेनरोडमा पसल सञ्चालन गरेर बसेका एमालेका पुराना कार्यकर्ता जीतबहादुर खड्का भन्छन् ‘ यो दम्भ र घमन्डको स्रोत अहिलेको सत्ता हो । ओली र उनको समूहलाई सत्ताबाहेक अरु सबै चिज भ्रम हो जस्तो लाग्न थालेको छ ।’ तत्कालीन मालेमा २०४६ सालमै संगठित खड्का माधव नेपाल समूहका हुन् । ‘अहिले ओलीको जयगान लगाउनेहरुको भन्दा कम योगदान हाम्रो छ र ?’, उनी सोध्छन् ‘अहिले हामीलाई नै स्वागत भन्नेहरुसँग यसको जवाफ छ ?’

प्रदेश १ को मोरङसहितका विभिन्न जिल्लाहरुमा ओली पक्षले आफूखुसी कार्यालय कब्जा गर्ने, बोर्ड राख्ने, अर्को पक्षले राखेको बोर्ड हटाइदिने गर्दै आएको छ । सुनसरीमा त बोर्डमा ओलीको फोटो नराखेको भन्दै नेपाल समूहले राखेको बोर्ड ओली समूहले हटाइदिएको थियो । यति मात्रै होइन, पार्टीको भन्दै गुट भेला गरिरहेको ओली समूहले अर्को पक्षलाई अपमानसमेत गरिरहेको छ । कार्यक्रमलाई आफ्नै ठानेर पुग्ने नेपाल समूहका कार्यकर्तालाई विभेदपूर्ण व्यवहार पनि गरिरहेको छ । मोरङ कटहरीका एमाले युवा कार्यकर्ता बब्लु मिश्र यसका एक भुक्तभोगी हुन् ।

केही दिनअघि कटहरीमै एमालेले एउटा कार्यक्रम आयोजना गरेको थियो । एमालेका प्रतिबद्ध कार्यकर्ता मिश्र कार्यक्रमस्थलमा पुगे । जब उनी त्यहाँ पुगे, ओली पक्षका नेताहरुको रवैया देखेर दिक्क बने । ‘पार्टीका नेता ऋषिकेश पोखरेलसहितका अग्रजहरु हुनुहुन्थ्यो’, उनले भने ‘त्यहाँ माधव नेपाल समूहका हामीलाई अर्कै दलको जस्तो व्यवहार भयो ।’ युवा संघमा रहेर काम गरिरहेका मिश्र अरु कार्यकर्तासहित त्यहाँ पुगेका थिए । ‘हाम्रै तहका ओली पक्षलाई मञ्चमा बोलाउने उनीहरुले हाम्रो नामसम्म उच्चारण गरेनन्’, मिश्रले थपे ‘आफूलाई संस्थापन पक्ष बताउनेहरुको व्यवहार हेर्दा उनीहरु टोलसम्म एमाले फुटाउन लागेको देखियो ।’

तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा फुटाउन अगुवाई गरेका ओली र उनका कार्यकर्ता ओलीका हरेक कदमलाई ताली बजाएर स्वागत गरिरहेका छन् । फरक विचार राख्नेलाई ‘माओवादी बनेको’ बताइरहेका छन् । ‘नेकपा हुन्जेलसम्म सबै नेकपा थियौं, अहिले जसरी ओली र उनको समूह एमाले भयो, हामी पनि उही रुपमा एमाले भएका होइनौं ?’, अनेरास्ववियुका नेता रोशन भट्टराई भन्छन् ‘तर, ओलीहरु एमाले पनि फुटाएर विसर्जनको बाटोमा अग्रसर छन् । यसको सबैतिरबाट प्रतिवाद गरिनेछ ।’

ओली पक्षले केन्द्रदेखि तल्लो तहसम्म देखाइरहेको व्यवहारले एमालेभित्र अब ओली गुटका कार्यकर्ता मात्रै रहने अवस्था आएको कार्यकर्ता बताउँछन् । एमालेका युवा नेता अशेष घिमिरे ‘विवेकमा विश्वास गर्नेहरु ओलीको दास भएर त्यहाँ रहनै नसक्ने’ दाबी गर्छन् । अर्का युवा नेता वसिम आलमले त ओली र उनको समूहलाई लल्कार्दै कारवाही गरेर देखाउन चुनौती दिएका छन् । ‘कारवाही गर्ने अरे ?’, आलमले फेसबुकमा हाँक दिँदै लेखेका छन् ‘त्यो पनि अनुशासनको , जे जे सक्छौ, कारवाही गर ।’

यी सबै गतिविधिले टोलसम्मै एमाले विभाजित बनेको प्रमाण दिन्छन् । ‘यसलाई सम्हाल्नु पर्ने नेतृत्वको हिसाबले ओलीको दायित्व थियो’, एमाले कार्यकर्ता खड्काले थपे ‘तर, घर डढाएर खरानीमा रमाउने चरित्र ओली र उनका समर्थकमा रहेछ, वाम आन्दोलनका लागि यो सबैभन्दा दुःखद् पक्ष हो ।’

आइतबार, ०१ चैत, २०७७, दिउँसोको १२:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर