मेयरको तलबबाट स्वास्थ्य बिमा

इनरुवा । सुनसरीको इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले १ सय ३० परिवारको स्वास्थ्य बिमा गरिदिनुभएको छ ।

मेहताले इनरुवा २ मगर टोलका विपन्न तथा गरिब परिवारको स्वास्थ्य बिमा गरिदिनुभएको हो । मेहताले आफ्नो मासिक तलब र सेवा सुविधाबाट प्राप्त हुने रकमले ती परिवारको स्वास्थ्य बिमा गरिदिएको बताउनुभयो । स्वास्थ्य बिमा कार्यक्रममा सबैको पहुँच स्थापित गराउन आफूले सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।

रकम अभावमा सरकारी सेवाबाट वञ्चित हुन नपरोस् भनेर आफूले सहयोग गरेको मेहताले बताउनुभयो । औपचारिक कार्यक्रमबीच लक्षित परिवारलाई बिमा कार्यक्रममा समेटिएको थियो । प्रदेश १ का प्रमुखप्रतिपक्षी दलका नेता राजिब कोइरालाले निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

नेता कोइरालाले नगर प्रमुखले चालेको कदम सह्रानीय र प्रशंसायोग्य रहेको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले जनता र जनप्रतिनिधिबीच भावनात्मक सम्वन्धको बिकास गराउने बताउनुभयो ।

नगर प्रमुख मेहताले सरकारका राम्रा काम र नीतिको सबैले अवलम्बन गर्नुपर्ने बताउनुभयो । मेहताले स्वास्थ्य बिमा कार्यक्रमले स्वास्थ्योपचारमा सबैको सहज र सरल पहुँच स्थापित गराउने बताउनुभयो ।

मेहताले नगरभित्रका अन्य वडामा बसोबास गर्ने विपन्न र गरिव परिवारलाई समेत क्रमशः निःशुल्क स्वास्थ्य बिमा कार्यक्रममा समेट्ने बताउनुभयो । मेयरले थालेको निःशुल्क स्वास्थ्य बिमा अभियानमा १ सय ३० परिवारका लगभग ६ सय ५० जना समेटिनेछन् । जसवापत ४ लाख ५५ हजार रुपैया मेहताले स्वास्थ्य बिमा बोर्ड सुनसरीलाई बुझाउने बताउनुभयो ।

बुधबार, २६ फागुन, २०७७, बिहानको १०:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर