विराटनगर । सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताइदिएपछि एमालेभित्र सबैभन्दा ठूलो तिक्तता उत्पन्न भएको छ । खासगरी ओली पक्षधर एमाले नेता कार्यकर्ताले नेपाल पक्षधरलाई खिसिट्युरी गरिरहेका छन् ।
सामाजिक सञ्जालमा ओली पक्षधर कतिपयले पार्टीमा नेपाल पक्षधरलाई स्वागत गर्ने बताइरहेका छन् भने कतिपयले कसरी आउँछन् भन्दै धम्की दिइरहेको पाइन्छ । एमाले केन्द्रीय सदस्य जीवन घिमिरे र प्रदेश सरकारका कृषि राज्यमन्त्री रहनुभएका तत्कालिन एमालेका इलाम जिल्ला अध्यक्ष राम रानाले त्यसो गलत भएको बताउनुभएको छ ।
एमाले विघटन केपी ओलीले गरेको र अहिले अदालतले ब्यूँताइदिएपछि एमालेहरु एकैठाउँ उभिएको घिमिरेको भनाइ छ । ‘हिजो एमाले विघटन कसले गरेको थियो ?’ उहाँको प्रश्न छ ‘जसले एमाले विघटन ग¥यो, उसैले स्वागत गर्ने कुरा नाजायज हो । हामी सबै नेकपामा थियौं, अब ओली पनि एमालेमै आउनुभएको हो , हामी पनि एमालेमै आएका हौं ।’
दुई कम्युनिष्ट पार्टीको एकता सर्वोच्च अदालतको आदेशबाट खारेज भएपछि तल्लो तहसम्म
नेताहरु दुवै पूर्व पार्टीहरु ब्यूँताउन लागेका छन् । पूर्व पार्टी ब्युँताएर अदालतको आदेश कार्यान्वयनको तयारी भएपनि विभाजित कम्युनिष्ट पार्टीका नेताहरु भने समाजवादसम्म पुग्न एकताको आवश्यकता अझै जरुरी रहेको बताउँछन् ।
प्रदेश सरकारका भूमिव्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रहनुभएका एमाले इलामका अध्यक्ष रामकुमार राना मगरले एकता गलत थियो भनेर निष्कर्ष निकाल्न नहुने बताउनुभएको छ । अझैपनि एकीकृत कम्युनिष्ट पार्टी बनाउनेतर्फ सोच्नुपर्ने भन्दै उहाँले एमालेमा कसैले कसैलाई स्वागत गर्ने भन्ने विषय उदण्डता हुने बताउनुभयो ।
‘एकता गलत थियो भनेर निष्कर्ष निकाल्ने बेला भइसकेको छैन । अहिले पनि एकीकृत कम्युनिष्ट पार्टी बनाउने तर्फ सोच्नै पर्छ,’ राज्यमन्त्री रानाले भन्नुभयो ‘समाजवादको उद्देश्यमा जान हामी एक्लै मात्रले सम्भव छैन । शक्ति बलियो पार्न सबैलाई एकजुट गर्दै जानुपर्छ । माओवादी लगायत सबै पार्टीहरुसँग एकताको प्रयत्न जारी राख्नुपर्छ ।’
दुई पूर्वपार्टीमा फर्कनुपर्ने अवस्था कानूनी वाध्यता भएको भन्दै मगरले कसैले कसैलाई स्वागत गर्ने विषय नै गलत भएको बताउनुभयो । ‘सर्वोच्चको फैसलाका कारणले एकीकरण भएको पार्टी फेरि पुरानै अवस्थामा पुगेको हो,’ उहाँले भन्नुभयो ‘कानूनी वाध्यताको हिसावले यसलाई स्वीकार गरेर अगाडि बढ्नु पर्ने परिस्थिति छ ।’
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रदेश सरकारको मन्त्रीबाट राजिनामा दिएर आन्दोलनमा होमिनुभएका घिमिरे जनताले अहिले पनि कम्युनिष्टहरु बीचको एकता चाहेको बताउनुहुन्छ । दुई कम्युनिष्ट पार्टीहरु जुनसुकै नियतले एकता गरेको भएपनि त्यो राष्ट्रको आवश्यकता र जनतााको चाहना अनुरुप भएको र अब पनि एकता जरुरी रहेको उहाँले बताउनुभयो । ‘ हिजो जुन उद्देश्यबाट गरेको भएपनि त्यो एकता राष्ट्रको आवश्यकता र जनताको चाहना थियो,’ नेता घिमिरेले भन्नुभयो ‘त्यो एकताको प्रयास आज पनि आवश्यक छ । त्यो जनताको चाहना पुरा गर्न हाम्रो प्रयत्न जारी रहनेछ ।’
सर्वोच्च अदालतबाट पूर्व पार्टीहरु अस्तित्वमा आएपछि नेकपा माओवादी केन्द्र र नेकपा एमाले पूर्व संगठनलाई पूर्णता दिने, क्रियाशिलता बढाउने, कार्यालयहरु व्यवस्थापन गर्ने जस्ता कार्यमा लागेका छन् । यद्यपि हिजो नेकपा हुँदा चलेको आन्तरिक अन्तरविरोधबाट दुबै पार्टीभित्र उत्पन्न भएको असहजता, कटुताको व्यवस्थापनमा भने केही समय लाग्ने देखिएको छ ।
‘नेकपाको सिर्जना हाम्रो कारणले भएको होइन । आज प्रश्न उठिरहेको छ एमाले एमालेतिर जाने भनेर । एमालेको विघटन कसले गर्यो ? विघटन केपी ओलीले गरे । ओलीको एकल निर्णयबाट विघटन भयो । त्यसको प्रस्ताव उहाँले ल्याउनु भयो । एमाले विघटन भयो भन्नुभयो । छलफल पनि भएन, बहस पनि भएन’, घिमिरेले भन्नुभयो ‘ विघटन गरियो भनेर घोषणा गर्नुभयो । हामीले तालि बजायौं । अब दुई जना केपी ओली र प्रचण्डले आजदेखि नेकपा भइयो भनेर माओवादी र एमालेको संयुक्त केन्द्रीय समितिको बैठक राखियो र घोषणा गरियो ।’
पार्टीको अनुशासनमा रहेको हुनाले हामीलाई चित्त बुझे पनि नबुझे पनि हामीले वाध्यकारी अवस्थामा समर्थन गरेको घिमिरे स्मरण गर्नुहुन्छ । आज आएर फेरि अदालतले तिम्रो नेकपा रहेन है, अर्कैको पो भयौं भनेपछि एमाले र माओवादी ब्युँतिएको बताउँदै उहाँले यसको कानूनी उपचारका बाटाहरुबारे पनि परामर्श भइरहेको जानकारी दिनुभयो ।
पूर्व पार्टीकै अस्तित्व पुनस्र्थापित भएपछि दुवै दलहरु भित्र केही तिक्ततापूर्ण व्यवहार पनि देखा पर्ने सम्भावना छ । दलभित्र कसैले स्वागत गर्ने र कसैले स्वागत लिने जस्ता कुराहरु सतहमा आएको छ । नेता घिमिरे भन्नुहुन्छ ‘केही कोही एमाले हिजैदेखिको कोही आजको एमालेको भनेजस्तो, स्वागत र बिदाईको कुरा पनि सुनिरहेको छु । त्यो होइन ।’ हिजो एमाले विघटन गर्ने केपी ओली एमालेमा आएपछि आपूmहरु जस्ता एमाले विघटनको साक्षी मात्र बसेकालाई कुनै असहज नहुने उहाँको भनाइ छ ।
राज्यमन्त्री मगरले पार्टीभित्रको असमझदारी कम गर्दै जानुपर्ने भन्दै असमझदारीको मात्रा नेकपा एमालेमै बढी रहेको बताउनुभयो । ‘साथीहरु पहिले जुन–जुन जिम्मेवारीमा थिए त्यसलाई नै कायम गरेर लैजानु जरुरी छ’ उहाँले भन्नुभयो, ‘सरकारका बारेमा, पार्टी नेतृत्वको बारेमा केही समस्या भएको थियो । त्यो अहिले एकहदसम्म समाधान भयो ।’ केन्द्रीय सदस्य घिमिरे एमालेमा माधबकुमार नेपाल निकट हुन् भने राज्यमन्त्री मगरलाई ओली निकट मानिन्छ ।