काठमाडौं । निर्वाचन आयोगले पार्टी विभाजनको टुंगो नलाइसकेको अवस्थामा पनि नेकपा संसदीय दल भने औपचारिक रुपमा विभाजित भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षीय नेकपाले संसदीय दलको बैठक राखेर त्यसको नेता पुष्पकमल दाहाललाई चयन गरेसँगै उक्त दल विभाजित बनेको हो । यो विभाजनसँगै आगामि २३ गते बस्न लागेको संसदको बैठकमा त्यसलाई सभामुखले कसरी व्यवस्थापन गर्नेहुन् भन्ने चासो झनै बढेको छ ।
ज्येष्ठ सदस्य झलनाथ खनालको अध्यक्षमा आज बसेको बहुमत सांसदको बैठकले प्रचण्डलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो । दलको नेतामा प्रचण्डको नाम माधव नेपालले प्रस्ताव गरेका थिए भने पम्फा भुसालले समर्थन गरेकी थिइन् ।
प्रचण्ड यसअघि पुस ८ गते पनि दलको नेता चयन भएका थिए । तर, सर्वोच्च अदालतको फैसलाले पुस ५ पछिका सबै कार्यलाई शून्यअवधि मानेकाले वैधानिकताका लागि पुनः दलको नेता चयन गरिएको हो ।
प्रचण्ड–माधव पक्षीय दलको बैठकले दलको नेताबाट केपी ओली र उपनेता सुवास नेम्वाङ तथा सचेतक शान्ता चौधरीलगायतमाथि गरेको कारवाहीलाई अनुमोदन पनि गरेको छ ।