विराटनगर । सरकार पक्ष र विप्लव समूहबीच तीन बुँदे सहमति भएको खबर मोरङ मिक्लाजुङ गाउँपालिका २ की धनकुमारी श्रेष्ठले सञ्चारमाध्यमबाट जानकारी पाइरहँदा उनी भावविह्ल थिइन् ।
निर्दोष श्रीमान ५३ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठलाई उनीबाट सधैंका लागि चुँडेको बिहीबार ८६ दिन भएको छ । समय लम्बिंदै जान्छ, तर उनको पीडा घटेको छैन । ‘उहाँले के बिगार गरिदिनुभएको थियो र ! मेरो आँसु आजसम्म थामिन सकेका छैन,’ ५३ वर्षीय धनकुमारी भक्कानिँंदै भन्छिन् ।’ जब मंसिर २३ गतेको घटना सम्झिछिन्, धनकुमारीको मन भत्भती पोल्छ । अहिले पनि उनको कानमा श्रीमानका आवाज गुञ्जिन छोडेको छैन ।
विप्लव नेतृत्वको नेकपा कार्यकताले शिक्षक श्रेष्ठको घाँटी रेटेर बर्वतापूर्वक हत्या गरेको तीन महिना भयो । बिहीबार सरकार र विप्लव नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएको विषय सार्वजनिक भएको छ । के–के विषयमा सहमति भएको हो भन्ने विस्तृत विवरण सार्वजनिक भएको छैन । तर, विप्लवका कार्यकर्ताहरुमाथि राज्यले लगाएको मुद्दा फिर्ता गर्ने, जेलमा रहेका कार्यकर्ताहरु रिहाइ गर्ने र विप्लवले शान्तिपूर्ण राजनीतिक गतिविधि सञ्चालन गर्ने सहमति गरेको विषय सार्वजनिक भएको छ ।
यो सहमतिसँगै बिनाकारण हत्या गरिएका सरस्वती आधरभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको परिवारले न्याय पाउनेमा संशय पैदा भएको छ । श्रेष्ठलाई २३ मंसिरमा बिहान गोठमा घाँसकुँडो गरिरहेको बेला हतियारधारी समूहले अपहरण गरी नजिकैको जङ्गलमा लगेर घाँटी रेटेर हत्या गरेका थिए । उक्त हत्याको विप्लव समूहले एक विज्ञप्ति जारी गर्दै जिम्मेवारी लिएको थियो । सो घटनामा संलग्न भएको आरोपमा विप्लव समूहका डिबि सिलवाल भनिने धनबहादुर विश्वकर्मा प्रहरीको लामो मिहेनतपछि पक्राउ परेपछि उनीसहित ३५ जनाविरुद्ध सरकारी वकिलको कार्यालयले मोरङ अदालतमा अपहरण तथा कर्तव्य ज्यान मुद्दा चलाएको थियो ।
शिक्षक श्रेष्ठको हत्याको आरोप धनबहादुर बि.क.अहिले पुर्पक्षको लागि थुनामा छन् । विप्लव समूहका महासचिव नेत्रवीक्रम चन्द ‘विप्लव’, खड्गबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ लगायतलाई पनि उक्त हत्यामा प्रतिवादी बनाइएको छ ।
श्रीमानसँग मिक्लाजुङ १ बर्खेमा बस्दै आएको धनकुमारी श्रीमानको हत्या भएपछि अहिले छोरा, बुहारी र नातीहरुसँग मिक्लाजुङ–२, रचनागाउँमा बस्दै आएकी छिन् । ‘श्रीमानको हत्याको घटनामा एक जनालाई प्रहरीले पक्राउ गरेको भनेको सुनेको थिए,’ उनले भनिन्, ‘हत्या आरोपीहरुसँगै वार्ता गरेर समझदारी बनाएपछि न्याय नपाउने चिन्ताले सताएको छ ।’ व्यक्ति हत्या भएकोले दोषीलाई कडाभन्दा कडा कारवाही हुनुपर्ने उनले बताइन् । ‘दोषीलाई कारवाही भए मात्र मेरो श्रीमानको आत्मले शान्ति पाउँछ,’ उनले भावविह्ल हँुदै भनिन्,’ ‘न्यायको लडाइको लागि अन्तिमसम्म लाग्छु ।’
अहिले झट्ट कसैले घटनाबारे सोधिहालेमा पनि उनी झस्किन्छिन् । धेरै पटक उनले त्यो क्षण भुल्न खोजिन् । ‘जति जति भुल्न खोजें, उति पिरोलिरह्यो’, धनकुमारी भन्छिन् ।
श्रीमान गुमाएपछि छोरा छत्रबहादुर, बुहारी अनुसँग बस्दै आएकी छिन् । ‘श्रीमानको कमाइले आडभरोसा थियो । आम्दानीको स्रोत नभएपछि अहिले १४ वटा बाख्रा पालन सुरू गरेको छु,’ उनले भनिन्, ‘राज्यले पनि अहिलसम्म कुनै सहयोग गरेको छैन ।’
घटना यसरी भयो
प्रत्यक्षदशीले धनकुमारीलाई दिएको जानकारी अनुसार राजेन्द्र कुमारलाई घरदेखि दुवै हात पछाडि बाँधेर गाउँलेले नचिनेका ६ जना मान्छेले घरदेखि लिएर गएका थिए । दुई जना एकातिर दुईजना अर्कोतिर बसे । स्थानीयले ‘के गर्न लागेको, तपाईंहरू को हो ? काहाँ लैजान लागेको भनेर सोधिखोजि गरेका थिए । तर, उनीहरुले ‘चुप लाग, केही बेरमा छोडिदिन्छु’ भन्दै आँखामा पट्टी बाँधेर लगेका थिए । घरदेखि करिब १ किलोमिटर बर्खेको जंगलमा लगेर उनको घाँटी रेटेर सोही समूहले हत्या गरेको थियो ।
‘म पनि बाख्रालाई घाँस दिएर फर्कँदै थिएँ । घर आइपुग्दा सुनेँ, सरलाई ठहरै पारे नि, गाउँलेले मलाइ भने । मैले हत्याको त कल्पना नै गर्न सकिनँ । मेरो घर देखि करिब १ किलोमिट नजिकको जंगलामा उहाँलाई हत्या गरिएको ठाउँ पर्दथ्यो । त्यहाँ जाँदा त एकदम सुनसान छ । उहाँको विभत्स लाश लडिरहेको देखेँ । पाँच मिनेट जति त म न अगाडि बढ्न सकेँ, न पछाडि । जीवनमा सोच्नै नसकेको दृश्य देखें । म आतंकित जस्तो भएँ,’ उनी अझै सम्झन्छिन् ।
श्रेष्ठको घाँटीको अगाडि दुई ठाउँ रेटेको र टाउकोमा पनि चोट लागेको थियो । घटनास्थलबाट उनीमाथि प्रहार भएका लट्ठीहरु प्रहरीले फेला पारेको थियो । घटनास्थलबाट प्रहरीले लाट्ठी, श्रेष्ठले लगाउने टोपी, चप्पल र बोक्ने मोबाइल फेला परेको थियो । श्रेष्ठ स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक हुन् । २०४६ सालबाट शिक्षण पेसा सुरु गरेका उनी एकीकृत अखिल नेपाल शिक्षक संगठन मिक्लाजुङ गाउँ कमिटी सदस्य पनि थिए ।