हेटौंडा । पूर्वमन्त्री एवम् नेकपाका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा गर्नेमा आफु विश्वस्त रहेको बताउनुभएको छ ।
सोमबार हेटौडामा आयोजित प्रेस संगठन नेपाल बागमती प्रदेशको दोस्रो भेलालाई सम्बोधन गर्दै नेता भट्टराईले प्रधानमन्त्री ओलीबाट विगतमा गरेको गल्तीप्रति याचना गर्दै पदबाट राजीनामा गर्नेमा विश्वस्त रहेको बताउनुभएको हो । प्रधानमन्त्रीले पदबाट राजीनामा गरेलगतै नयाँ सरकार गठनको प्रकृया बढ्ने उहाँको भनाइ थियो ।
प्रधानमन्त्रीले चालेको कदम संविधान सम्मत नभएपछि सर्वोच्च अदालतबाट अस्वीकृतभइसकेकोले प्रधानमन्त्रीमा केही समययता निराशा बढेको नेता भट्टराईले बताउनुभयो ।
यसैबीच नेता भट्टराईले प्रधानमन्त्री ओलीले संविधान मिचेर ‘कू’ गर्दा सत्य, तथ्य र न्यायको पक्षमा कलम चलाउने पत्रकारले विरोध गर्नुको साटो ताली पिट्दै समर्थन गर्नु दुर्भाग्य भएको पनि बताउनुभएको छ ।