प्रदेशसभा बैठक स्थगित गर्न मुख्यमन्त्रीको दबाब

अविश्वासको प्रस्ताव दर्ता भएर टेबल गर्ने कार्यसूची समेत तय भइसकेकोले सँधैभरी बैठक रोकेर नसकिने सभामुख भण्डारीको जवाफ

विराटनगर । आज दिउँसोको लागि तय भएको प्रदेश १ प्रदेशसभाको बैठक स्थगित गर्न मुख्यमन्त्री शेरधन राईले सभामुख प्रदीपकुमार भण्डारीलाई दबाब दिएका छन् ।

आज (आइतबार) बिहान विराटनगरस्थित मुख्यमन्त्री निवासमा भएको भेटमा मुख्यमन्त्री राईले अहिलेकै अवस्थामा बैठक अगाडि बढ्न नसक्ने भन्दै सूचना टाँसेर बैठक स्थगित गर्न दबाब दिएको स्रोतले बताएको छ । सभामुख भण्डारीले भने प्रक्रिया अनुसार अविश्वासको प्रस्ताव दर्ता भएर टेबल गर्ने कार्यसूची समेत तय भइसकेको भन्दै सँधैभरी बैठक रोकेर राख्न नसकिने जवाफ दिएको बताइएको छ ।

पुस १२ गते प्रदेशसभाका ३७ सदस्यले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको भएपनि अहिलेसम्म उक्त प्रस्ताव संसद बैठकमा टेबल हुन सकेको छैन । माघ ७ गतेदेखि सुरु भएको प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठक ३ मिनेटमै स्थगित भएको थियो ।

दोस्रो बैठक माघ २५ गते बसेर अविश्वासको प्रस्ताव टेबल गर्ने कार्यसूची निर्धारण भएपनि मुख्यमन्त्री निकट सांसदहरुकै अवरोधका कारण स्थगित भएको थियो । अविश्वास प्रस्ताव दर्ता भएपछि प्रस्तावको सहज सामना गर्ने बताउँदै आएका मुख्यमन्त्री राईले प्रस्ताव पारित हुने देखेपछि भने बैठक बस्न नै नदिने रणनीति बनाएका छन् ।

मुख्यमन्त्री र उनको पक्षले अविश्वास प्रस्ताव खारेज हुनुपर्ने वा आफूले कारबाही गरेका भनिएका सांसदहरुलाई प्रदेशसभामा प्रवेश गर्न रोक्नुपर्ने माग गर्दै आएका छन् । अविश्वास प्रस्ताव राखेका नेकपाका सांसदसहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलगायतले भने तत्काल बैठक राखेर प्रस्ताव अगाडि बढाउनु पर्ने माग गर्दै आएका छन् ।

 

आइतबार, ०९ फागुन, २०७७, बिहानको १०:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर