ओली निरंकुशताको यात्राः झाँक्री पक्राउ

विराटनगर । सरकारको विरोध गर्नेलाई पञ्चायती निरंकुश शासनको समयमा राजद्रोहको अभियोगमा पक्राउ गरेर थुन्ने गरिन्थ्यो । प्रतिनिधिसभालाई असंवैधानिक रुपमा विघटन गरेर निरंकुशताको यात्रा थालेको केपी ओली नेतृत्वको सरकारले अहिले आफ्ना विरोधीलाई त्यसैगरि राज्य विरुद्धको कसुर गरेको भन्दै थुन्ने अभियान सुरु गरेको छ ।

राष्ट्रपतिमाथि आलोचना गरेको आरोपमा सरकारले नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई कानुनको अपब्याख्या गर्दै बिहीबार पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाका डिएसपी दुर्गाराज रेग्मी नेतृत्वको टोलीले झाँक्रीलाई मुलुकी (अपराध) संहिताको राज्यविरूद्धको कसुरको दफा ५८ अनुसार पक्राउ गरेको छ । पक्राउ पुर्जी नआएसम्म प्रहरीमा नजाने अडान लिएकी झाक्रीले प्रहरीले पुर्जी थमाएपछि गिरफ्तारी दिनुभएको थियो ।

मुलुकी संहिताको दफा ५८ मा राष्ट्रपति वा संसदलाई धम्की दिन नहुने व्यवस्था छ। ‘कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानूनबमोजिम गर्नु पर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा बञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्य सम्पादन गर्न बाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाब दिन हुँदैन,’ संहितामा भनिएको छ । झाँक्रीले राष्ट्रपतिलाई धम्की दिने वा उनको कार्यसम्पादनमा रोक लगाउने वा बञ्चित गराउने कुनै काम गरेको देखिन्न । तर, प्रहरीले सोही दफा अनुसार पक्राउ गरेको छ ।

झाक्रीले केही समय अगाडि गोर्खामा आयोजित सभामा राष्ट्रपतिको आलोचना गर्नुभएको थियो । उहाँले राष्ट्रपतिलाई बडामहारानी भन्दै ‘बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु। शितल निवास छाडेर कोटेश्वर फर्किए हुन्छ। चाबहिल हो कि बानेश्वर कता घर छ, त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ । नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो, लड्नु । तर बडामहारानीका लागि म पनि भारी हुन सकौंला। बडामहारानीविरुद्ध यहीँ कि रेखा लोप्चनलाई चुनाव लडाउँला।’ उहाँले जनताको अधिकारमाथि गिद्धे दृष्टि लगाएर शितल निवासबाट बडामहारानीले असंवैधानिक कदममा साथ दिएको भन्दै २०५० सालमा मदन भण्डारीको हत्यापछि सेतो साडी लगाएर चुनावमा उठाउने साँस्कृतिक भुल गरेको बताउनुभएको थियो ।

सोही भाषणको आधारमा राज्यविरूद्धको कसुर गरेको भन्दै झाक्रीलाई गिरफ्तार गरिएको छ । ‘संविधान मान्दिनँ भन्ने र सरकार तथा राष्ट्रपतिको काममा अबरोध गर्नेलाई लाग्ने मुद्दा बोलेकै आधारमा झाक्रीलाई लगाउने तयारी सरकारले गरेको छ ।

ओलीको विरोध गरेको भरमा र राष्ट्रपतिको आलोचना गरेकै आधारमा राज्यविरूद्धको कसुरको मुद्दा लगाउनु स्वेच्छाचारिता र निरंकुशता भएको कानूनविद्हरुले बताएका छन् । वरिष्ट अधिवक्ता टिकाराम भट्टराईले असरकार विस्तारै तत्कालीन राजा ज्ञानेन्द्रले गरेजस्तो माघ १९ ल्याउन लागेको देखिएको बताउनुभयो ।

बिहिबार, २९ माघ, २०७७, दिउँसोको ०२:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर