दाहाल आत्महत्या प्रकरणको छानविन माग

विराटनगर । मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालले सञ्चालन गरेको बहुप्राविधिक शिक्षालयका प्रशासन प्रमुख मुक्तिनाथ दाहाल आत्महत्या प्रकरणको छानबिन गर्न माग गर्दै विद्यार्थीहरूले आन्दोलन सुरु गरेका छन् ।

शिक्षालयका लेखा तथा प्रशासन प्रमुख दाहाललाई आत्महत्या गर्न बाध्य बनाउनेलाई कारवाही माग गर्दै विद्यार्थीले बिहीबार प्रदर्शन गरेका हुन् ।

सोमबार शिक्षलयमा दाहाल मृत भेटिएका थिए । घटनापछि आक्रोशित भएका स्थानीयले मंगलबार प्रतिष्ठानका अध्यक्ष गुरु बरालमाथि हातपातको प्रयास गरेका थिए ।

प्रतिष्ठानद्धारा सञ्चालित शैक्षिक कार्यक्रमका विद्यार्थीले बिहीबार प्रतिष्ठानको मुख्यालय परिसरमा प्रतिष्ठानका अध्यक्ष र कार्यकारी निर्देशकविरुद्ध नारा लगाउँदै आत्महत्याको निष्पक्ष छानबिनको माग गरेका हुन् । प्लेकार्डसहित आन्दोलनमा उत्रिएका विद्यार्थीले शैक्षिक माफिया मूर्दावाद, पीडित परिवारलाई न्याय देउ, तानाशाही प्रशासन बन्द गर भन्दै नाराबाजी गरेका थिए ।

विद्यार्थीहरूले धर्नापश्चात मृतक कर्मचारीको घरमा पुगेर न्याय नपाएसम्म आन्दोलन निरन्तर गर्ने बताएका छन् । शिक्षालयको लेखा तथा प्रशासन शाखाका प्रमुख दाहालको शव सोमबार शिक्षालयको कक्षा कोठामा झुण्डिएको अवस्थामा फेला परेको थियो । प्रतिष्ठान प्रशासनले कर्मचारीको निधनका कारण जनाउँदै २४ असोजसम्म सबै सेवा बन्द गरेको छ ।

बिहिबार, २२ असोज, २०७७, साँझको ०६:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर