झुरा कागज ल्याउन नपाएपछि उद्योग संकटमा

विराटनगर । सरकारले झुरा कागजको आयातमा रोक लगाएपछि नेपालका तयारी कागज उद्योग संकटमा परेका छन् ।

नयाँ आर्थिक ऐनमा पुरानो फलाम र पुरानो टायरबाहेक अरू कुनै ‘स्क्रयाप’ ल्याउन नपाइने उल्लेख भएको कारण भन्सारबाट कागज उद्योगले झुरा कागज ल्यान पाएका छैनन् ।

सुनसरीको इटहरीस्थित अरिहन्त अटोकोरोगेसन प्रालिले कार्टुन बनाउने कच्चा पदार्थका रूपमा अमेरिकाबाट मगाएको २ सय मेट्रिकटन झुरा कागज विराटनगर भन्सार कार्यालयमा रोकिएको छ । ४० हजार अमेरिकी डलर बराबरको कागज आर्थिक ऐन देखाएर पास गर्न भन्सारले रोकेपछि उद्योगका सञ्चालक पारस लुनियाँले सर्बोच्चमा रिट दिनुभएको छ ।

प्रतिबन्धित सामग्रीको आयातका नेपालका बैंकले प्रतीतपत्र नखोल्ने गरेकोमा झुरा कागजको आयातका लागि बैंकले प्रतीतपत्र खोलेकोले आयात गरेको र त्यसमा उद्योग मन्त्रालयको पनि स्वीकृति रहेको उद्योगी लुनियाको भनाइ छ । कार्टुन उत्पादन गर्न आवश्यक पर्ने मुख्य कच्चा पदार्थ क्राफ्ट पेपरको लागि झुरा कागज मगाएको उद्योगले जनाएको छ ।

नेपालमा उपलब्ध झुरा कागजले गुणस्तरीय क्राफ्ट पेपरको उत्पादन गर्न नसकिने भएकोले राम्रो खालको झुरा कागज मगाएको उद्योगी लुनियाँले बताउनुभयो । साफ्टा सुविधाअन्तर्गत ७.२५ प्रतिशत भन्सार महसुल तिरेर भारतबाट प्रतिमहिना एक हजार मेट्रिक टनसम्म गुणस्तरीय क्राफ्ट पेपरको आयात भइरहेकोमा सरकारले त्यसको कच्चा पदार्थको आयातमा रोक लगाएको उहाँको गुनासो छ ।

सरकारले झुरा कागजको आयात गर्न नदिएका कारण कार्टुनको कच्चा पदार्थ क्राफ्ट पेपर मात्र नभई लेख्ने र छाप्ने कागजको पनि गुणस्तरीय उत्पादन हुन सकेको उद्योगीको भनाइ छ । वातावरणमा प्रदूषण गर्ने पुरानो टायरको आयात खुल्ला गर्ने तर पर्यावरणलाई केही नोक्सान नगर्ने र पानीमा घोलेर पुनः कागज बनाउने झुरा कागजको पैठारी रोक्नु गलत भएको उद्योगीहरुले बताएका छन् ।

लेख्ने र छाप्ने कागज उज्यालो बनाउन ९० प्रतिशत नेपालको झुरा कागजमा १० प्रतिशत आयातित झुरा कागज मिसाउनुपर्ने उद्योगीहरुले बताएका छन् । सरकारले झुरा कागजको पैठारी गर्न नदिएका कारण तयारी कागजको आयात भइरहेको उनीहरु बताउँछन् ।

मङ्गलबार, ०६ असोज, २०७७, साँझको ०७:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर