खगेन्द्र सुबेदी
केही दिन अगाडि एउटा फेसबुक पोष्टमा प्रतिक्रिया दिने क्रममा निक्कै ठुलो बहस नै चल्यो । कुनै मन्त्रीको समर्थनमा गरिएको पोष्टमा मन्त्रीका गलत कामको भण्डाफोरबाट सुरु भएको बहस निक्कै लामो थियो । एक पक्ष मन्त्रीलाई चोख्याउने र बचाउने तथा अर्काे पक्ष मन्त्रीका गलत कामको भण्डाफोर गर्ने तथ्यको आधारमा मन्त्रीका कर्तुतको छानबिन हुनुपर्ने भन्दै जोडतोड बहस चल्यो । मन्त्रीको बचाउ गर्नेको तर्क गल्ती भए प्रमाणित गरियोस् भन्ने थियो । साथै मन्त्रीले केही दिन अगाडि आफूले भ्रष्टाचार गरेको भए प्रमाणित गरियोस् भनेर दिएको खुल्ला चुनौतीलाई पनि स्मरण गराइएको थियो । त्यसको प्रतिउत्तरमा मन्त्रीहरु बचाउन संबैधानिक निकाय कब्जा गरिएको कुरा गरिँदैथियो । बहस दलाल, चाकडी, चम्चा, हनुमानसम्म पुग्यो भने अर्काेतिर मन्त्रीको बचाऊ गर्नेले पनि खान नपाएर रिस पोखेको अनि कुण्ठा ब्यक्त गरेको आरोप लगाए ।
यो त अहिले सामाजिक सञ्जालमा हुने घटनाहरुको प्रतिनिधी घटना मात्र हो । यस्ता घटनाहरु दैनिकजसो भएको देख्नु हिजोआज सामान्य कुरा हो । नेताको बचाउ गर्ने जहिले पनि राजनीतिक दलसँग आबद्ध ब्यक्ति हुन्छ्न । नेताको चाकडी गरे केही पाउने आशा या केही पाएको गुणको बदलामा नेताको जयजयकार गर्ने ठुलो जमात छ र नेताको खराब कुराको भण्डाफोर गर्ने या नेताको गलत कुराको बिरोध गर्ने अधिकांश स्वतन्त्र जनता या त राजनैतीक दलका इमान्दार कार्यकर्ता पंक्तिको प्रतिनीधित्व गर्ने वर्गदेखि हुन्छन् । राणा शासन, पञ्चायतकाल र राजाको प्रत्यक्ष शासन कालको अन्त्य भयो, ती ब्यवस्था खराब र एक पक्षीय थिए भन्ने कुरामा अहिले विवाद छैन । तरपनि तत्कालीन समयमा ती व्यवस्थाहरुमा गरिएका खराब कामको बिरोध मात्र होइन समर्थन गर्ने मान्छे पनि थिए । त्यसको जिउँदो प्रमाण पञ्चायत जिन्दावाद भन्ने ब्यानर बोकेको दुई जनाको तस्बिर अझै यदाकदा अझै सञ्जालतिर भेटिन्छ । यसको मतलब नेताका दासहरु जुनसुकै ब्यवस्थामा हुने गर्छन् र पहिलेको शासन ब्यवस्थामा पनि थिए । भलै ती तत्कालीन शासकको समर्थन गर्नेहरु र शासकका आसेपासे थिए होला । शासकको जुठोपुरो खाएका थिए होला । तत्कालीन शासकको समर्थन गर्नेहरुले खाएको जुठोपुरो खाएर गुणगान गाएका भन्नेहरुमध्येबाट नै अहिलेका शासकको भजन गाउने र शासकको खराब कुराको ढाकछोप अनि आफ्नो मालिकको देबात्वकरण गर्नेहरु २१ औ शताब्दीका क्रान्तिकारी नामधारी दासभन्दा फरक नपर्ला ।
हुन त राजनीति गर्ने मान्छे कि त अराजक हुन्छ कि त दास हुन्छ । यी दुई अतिबाट जोगिएर बिच धारदेखि चल्नु सच्चा राजनीतिक कार्यकर्ताको गुण हो । प्रायः अराजक ब्यक्तिहरु स्वयम् आफ्नै लागि खतरा हुन्छन् । तर, दास चाँही समाज र देशकै लागि खतरा हुन् । दास नेताको हुन्छन् भने कार्यकर्ता राजनैतिक दलको हुन्छन् । नेताका दासहरु सधै नेताको भजन गाउँनमा ब्यस्त हुन्छन् । अन्धभक्त भएका कारण नेताको गलत कामको ढाकछोप गरेर नेतालाई चोख्याउन ज्यान फालेर लाग्छन् । अतः नेताका दासहरु भएसम्म भ्रष्टाचार र अनियमितता कहिले अन्त्य हुदैन । हरेक राजनैतिक दलका कार्यकर्ता नेताको दास होइन, दलको कार्यकर्ता बन्न सके देशमा हुने हरेक अनियमितता र भ्रष्टाचारको जरा नै उखेलिने निश्चित छ ।
मन्त्रीहरुको निर्देशन, सहमति र तठस्थताको कारण ठूला घोटला र भ्रष्टाचार काण्डहरु घट्छन् । त्यसको फाइदा मन्त्रीका आफन्तको निजी कम्पनी, मन्त्रीका आसेपासे र माफियाहरुले फाइदा लिन्छन् । त्यसको तल्लो स्तरका कार्यकर्ता बिषेश त मन्त्रीको लाईनका मान्छेसम्म आईपुग्छ । त्यही अवसरको पर्खाइमा रहेकाहरुलाई के खोज्छस् कानो आँखा भनेझंै हुन्छ ।
दलका नेताहरु भ्रष्टाचार गरेर अकुत सम्पती जम्मा गर्छन् । यता भ्रष्टाचारका मतियारहरु चाँही भ्रष्टहरुको साथ दिँदै भ्रष्टचारीले भ्रष्टाचार गरेको छैन भन्दै सामाजिक सञ्जालतिर रोइलो गर्छन् । भ्रष्टाचार गर्ने नेताभन्दा पनि नेतालाई भ्रष्टाचार गर्न प्रोत्साहन गर्ने परजीबी गुलामहरुको कारण देश डुबेको हो । मुख्य समस्या नेता होइन, नेताको आस गर्ने जनता, नेताको चाकडी गर्ने चम्चे कार्यकर्ता हुन् । जो नेतालाई तेल घसेर आफ्नो स्वार्थ पुरा गर्न लागिपरेका छन् । अनि स्वयं राजनीतिक दलका नेता जो राजनीतिमा आश्रित हुन्छन् । उनीहरु राजनीतिबाहेक अन्य केही काम गर्न चाहदैनन् । यसकारण दलका नेतासामु भ्रष्टाचार गर्नुको बिकल्प हुदैन ।
यही कारण नेताहरु भ्रष्टाचार गर्छन् । भ्रष्टाचार ढाकछोप गर्न र आफ्नो छबी चोख्याउन कार्यकर्तालाई परिचलन गर्छन् । नेताका कार्यकर्ताहरु नेताको लागि जे पनि गर्न नैतिक रुपमा बाध्य हुनेछन् । तर, राजनैतिक दलका कार्यकर्ताले यसको बिरोध गर्छन् । नेताका कार्यकर्ता र राजनैतीक दलका कार्यकर्ताबीबचको फरक यही हो । यसरी नेताको बचाउ गरेबापत कार्यकर्ताहरुले पनि नेताबाट केही लिएका हुन्छन् र लिन्छन् पनि । त्यही कारणले अहिले राजनैतिक दलका अधिकांश कार्यकर्ताहरु ठेकेदार र ब्यापारी हुन्छन् । ठेकेदार भए स्थानिय स्तरमा आवश्यकता नभएका ठाउँमा पनि पुल, फलैचा, पार्क, गेट बनाऊने नाममा पैसा बाढिन्छ र यसरी आउने योजनाहरु तिनै दलका नजिकका ठेकेदारहरुको लागि भएकोले उनीहरु कब्जा गरिहाल्छन् । अर्काेतिर ब्यापारीहरु भए भने नेतामार्फत स्थानीय निकाय तथा सरकारी कार्यालयहरुमा बजार भाउभन्दा दोब्बर मूल्यमा आफ्नो समान खपत गराएर नेतालाई गरेको चाकडीको असुली गर्छन् । यसरी नेताको चाकडी गर्ने स्थानीय पार्टी कार्यकर्ता, ठेकेदार र ब्यापारी चाकडी गरेको उपलब्धी भएपछि मरिहत्ते गरेर लागिपर्छन् ।
अर्काे भनेको नेताको भनसुनमा सरकारी जागिर खान लागेको तथा सरकारी जागिर खाँदै गरेकोहरुले पनि दिलोज्यान दिएर नेताको चाकडी गर्छन् । चाकडीको स्वरुप नेताको भ्रष्टाचार काण्डको ढाकछोप गर्ने होस् या नेताको गुनगान गाउने होस् । अन्य भनेको गाउँस्तरको कार्यकर्ताहरु, जो सानोतिनो सहयोगका कारण नेताको गुणगान गाउन चाहन्छन् र यो बर्गलाई खास त्यस्तो केही उपलब्धी नभएपनि दिमागलाई पुरै नेताको पक्षमा सोच्ने र बोल्ने स्तरको प्रशिक्षण दिएको हुन्छ । नेताको गलत कुरालाई सानो देखाउने अनि नेताको सानो राम्रो कुरालाई ठूलो बनाएर प्रस्तुत गरिन्छ । यसरी दिएको प्रशिक्षणबाट प्रशिक्षित कार्यकर्ता आफूलाई प्रशिक्षण दिने नेता नै पार्टी हो भन्ने सम्झन्छन् र उसको गुणगान मै रमाउन चाहन्छन् ।
देश विकासले गति लिन सकेन भनेर सबैलाई थाहा छ । हामी चियागफमा होस् या सञ्जाल गफमा होस् या साथीसँगको भेटमा हुने आपसी कानेखुसीमा होस् राजनीति र नेताहरुका कारण दुःख पाऔं भन्ने थेगो हुन्छ । नेताले भ्रष्टाचार गरेर देशको सम्पती सकाए, बिकासको बजेट दुरुपयोग भएपछि बिकास नहुनु सामान्य कुरा हो । तर, यसरी भ्रष्टाचारले जरा गाड्नुमा जिम्मेवार नेता मात्र हुन्, हामी दूधले धोएका हौं भन्छ भने त्यो जान अन्जानमा गलत बोलिरहेको छ । राजनीतिक दलभित्र भएको गुटउपगुट पनि चाकडीको एउटा मुख्य कारण हो । गुटको नेतालाई खुसी बनाउने अनि आफ्नो हैसियतबिना पनि जिम्मेवारी हासिल गर्ने गलत परिपाटीको कारण पनि नेताको गलत कामको ढाकछोप गर्ने साथै तथ्य बंग्याएर गलत बिश्लेषण र गलत कामलाई पनि राम्रो भन्दै जलप लगाउँदै जनतालाई गुमराहमा पार्ने काम यही गुटगत राजनीतिको कारण गरिन्छ ।
अर्काे कुरा राजनीतिक दलका कार्यकर्ताहरु जबसम्म राजनीतिलाई जीबिकोपार्जनको आधार बनाउँछन्, तबसम्म उनीहरुमा नेताको गलत कामको बिरोध गर्ने हिम्मत हुन सक्दैन । किनकी नेताको गुलामी बन्द गरे आफ्नो जिउने आधार नै समाप्त हुने अवस्था भएपछि कसैले यस्तो हिम्मत गर्न सक्दैन । तर, कार्यकर्ता आत्मनिर्भर छ, उसलाई कसैको आशिर्बादबिना पनि जीविकोपार्जन हुन्छ भने उसले नेतृत्वको गलत कामको खुलेर आलोचना गर्छ र त्यस्तो आलोचनाबाट नेतृत्वमा सकरात्मक परिवर्तन आउँछ । त्यसैले राजनीतिलाई सहायक पेसा बनाएर आफूलाई उत्पादनको काममा जोड्नुपर्ने देखियो ।
तेह्रथुम