नरेन्द्र बस्नेत
१) कृषिः– नेपाल कृषि प्रधान देश हो । कृषिले कुल ग्राहस्थ उत्पादनमा २७ प्रतिशत योगदान गरेको छ र ६०.४ प्रतिशत जनसंख्या यो क्षेत्रमा आबद्ध छन् । नेपालको आर्थिक समृद्धिको प्रथम आधार नै कृषि हो । आजका धेरैजसो विकसित मुलुकहरुले कृषिबाटै आर्थिक समृद्धि हासिल गरेका थिए । बेलायतको औद्योगिकरणभन्दा पहिला कृषिमै क्रान्ति भएको थियो । कृषि क्षेत्रको विकासले मात्र औद्योगिक विकासको ढोका खोल्छ । संसारका विकसित देशहरु कृषिकै आधुनिकीकरण, वैज्ञानिकीकरण, व्यवसायिकरण, औद्योगिकीकरण र भूमिको उच्चतम् प्रयोग गरेर नै समृद्ध बनेका हुन् । कृषि क्षेत्रको आमुल परिवर्तनले मात्र समृद्ध नेपालको ढोका खोल्छ ।
तर, कृषकहरु निराश छन् । कृषि पेशा कहिले सम्मानित र नाफामुलक हुन सकेन । ६ दशक लामो योजनाबद्ध विकासका ९ वटा पञ्चवर्षीय र पा“च वटा त्रि–वर्षीय योजना कार्यान्वयन भइसक्दा पनि कृषिले राम्रो नतिजा दिन सकेन । प्रत्येक वार्षिक बजेटमा कृषिलाई प्राथमिक क्षेत्र बताइन्छ । तर, कृषि कर्म गर्नेको जिन्दगी झन्झन् दयनीय भएको छ । वर्षेनी कृषि क्षेत्रमा विनियोजित अरबौं रकम बालुवामा पानी हालेसरह भएको छ । अब सबै बेरोजगार युवाहरुलाई कृषि क्षेत्रमा समेट्ने रणनीति सरकारले बनाउनुपर्छ । युवाहरुलाई व्यवसायिक कृषिको तालिम दिनुपर्छ । सस्तो ब्याजमा ऋण उपलब्ध गराई कृषि उत्पादनमा लगाउनुपर्छ । युवाहरुलाई दुध, मासु, माछा, धान, मकै, गँहु, तरकारी, तेल, दाल, लसुन, प्याज, आलु, अदुवा, बेसार, स्याउ, सुन्तला, केरा, चिया, कफि आदि उत्पादनमा संलग्न गराउनुपर्छ । नेपालले भारतबाट प्रत्येक वर्ष करिब २ खर्ब रुपैया बराबरको खाद्यान्न र कृषिजन्य सामग्रीहरु आयत गर्दछ । अब मुलुक आत्मर्निर्भर हुनुपर्छ । परनिर्भरता सधैंका लागि अन्त्य गर्नुपर्छ ।
२) जलविद्युतः– नेपालको आर्थिक समृद्धिको सबैभन्दा ठुलो शक्ति नै विद्युत हो । नवीकरणीय शक्तिको रुपमा रहेको यो शक्तिले हामीलाई संसारकै शक्तिशाली राष्ट्रको रुपमा उदय गराउन सक्छ । हिमालबाट बग्न सुरु भई पहाडलाई छिचोल्दै तराइमा यात्रा तय गर्ने नदिहरुको संख्या अनगिन्ती रहनु नै जलविद्युत उत्पादनका श्रोतहरु हुन् । यहि नदिनालाबाट बन्ने विद्युत शक्तिले नै हामी शक्तिराष्ट्रको रुपमा उदाउन सक्छौं । तर, नेपालमा पर्याप्त मात्रामा विद्युत उत्पादन कार्य अघि बढाउन अझ सकिएको छैन ।
विश्वका विकसित, अर्धविकसित तथा विकासोन्मुख सबै मुलुकमा अहिले उर्जाको चरम संकट छ । विद्युतको मात्र हामीले राम्ररी विकास गर्नसक्ने हो भने, विश्वमै हामीले आर्थिक रुपमा नेपाल शक्ति राष्ट्र हो भन्ने कुरा प्रमाणित गर्न सक्दछौं । हामी विश्कै सबैभन्दा धेरै प्रतिव्यक्ति आय भएको मुलुकमा उक्लन सक्दछौं । नेपालको विद्युत विकासले हामीले दक्षिण एसियामा एकछत्र विद्युत निर्यात गर्न सक्दछौं । दक्षिण एसियामा हामीले विद्युत विक्री गरि दक्षिण एसियाको राजनीतिमा समेत महत्वपूर्ण भूमिका खेल्न सक्दछौं । दक्षिण एसियामा हामीले खेल्ने भूमिकाले विश्वमै हामीप्रति शक्तिशाली राष्ट्रहरु प्रभावित हुनेछन् ।
३) पर्यटनः– ज्ञान, अध्यन, अनुसन्धान, मनोरञ्जन आदिका लागि एक स्थानबाट अर्को स्थान पुग्ने मानिसहरुको संख्या नै पर्यटन हो । आज पर्यटन संसारको सबैभन्दा ठूलो उद्योगभित्र पर्दछ । विश्का धेरै मुलुकहरु पर्यटकहरुकै कारण समृद्ध भएका छन् । नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय स्थल भएकोले समृद्धिको आधार हुनसक्दछ । हाम्रोजस्तो विकासोन्मुख देशका लागि बाह्य पर्यटनबाट रोजगारी सृजना तथा विदेशी मुद्रा आर्जन गर्न मद्दत पुग्दछ । पर्यटनका लागि हाम्रा प्राकृतिक तथा मानवनिर्मित सम्पदा विश्व दुनियाँमै लोभलाग्दा छन् । पदयात्रा, जलयात्रा, होमस्टे, प्याराग्लाइडिङ्ग, धार्मिक तिर्थस्थल, बन्जि जम्पिङ्ग, सांस्कृतिक झलक, जंगल सफारी, गुफा यात्रा, हिमाली यात्रा, स्थानीय आतिथ्य सत्कार जस्ता विविध पक्ष नै पर्यटनका मुख्य आधारहरु हुन् ।
चीन र भारत दुबै विशाल जनसंख्या भएका मुलुक हुन् । चीन बौद्ध धर्मावलम्वी भएको मुलुक हो भने भारत हिन्दु धर्मावलम्वी भएको मुलुक हो । चीनको १ प्रतिशत जनसंख्या मात्र नेपालको लुम्बिनी ल्याउन सक्ने हो भने डेढ करोड पर्यटक नेपालमा ल्याउन सकिन्छ । त्यसै गरी भारतको १ प्रतिशत जनसंख्या मात्र नेपालको पशुपति मन्दिरमा दर्शनका लागि ल्याउन सकेमा १ करोडभन्दा बढि पर्यटक भित्र्याउन सकिन्छ । त्यसैले पर्यटनको प्रचारप्रसार तथा विकास मार्फत समृद्ध नेपालको निर्माण गर्न सकिन्छ ।
४) कलकारखाना÷उद्योग–धन्दा ः– समृद्ध नेपाल निर्माणका लागि उद्योग धन्दाको विकास र विस्तार गर्नुपर्दछ । तर, नेपालले सियो र धागो उत्पादन गर्ने कल–कारखाना पनि सञ्चालन गर्न सकेको छैन । नेपाललाई समृद्ध बनाउने हो भने पहिला सञ्चालन भई नीजिकरणको नाममा बन्द रहेका सरकारी स्वामित्वका उद्योगहरु पुनःसञ्चालनमा ल्याउनु पर्दछ । औद्योगिक क्षेत्रहरुमा पूर्ण रुपमा शान्ति सुरक्षा कायम गरिनु पर्दछ । निजी क्षेत्रलाई प्रोत्साहित गर्नु पर्दछ । उद्योगहरु खोल्न प्रेरित र उत्साहित गर्नुपर्दछ । उर्जा संकटलाई सामाधान गर्नुपर्दछ । बहुराष्ट्रिय कम्पनीलाई नेपालमा आमन्त्रित गर्नुपर्दछ । विदेशी कम्पनीहरुलाई आकर्षित गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नुपर्दछ । घरेलु, साना तथा मझौला उद्योगको विकासका लागि विशेष अभियान सञ्चालन गर्नुपर्दछ । उद्योगीहरुलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउनु पर्दछ ।
५) यातायात, पूर्वाधार र सञ्चारः– यातायात विकासको महत्वपूर्ण पुर्वाधार हो । यातायातको पहुँचविना विकासको परिकल्पना गर्न सकिदैन । आधुनिक युगमा सडक आर्थिक गतिविधिमा जोडिएको हुन्छ । पर्यटन, कृषि, उद्योग आदिको परिकल्पना यातायातको विकासविना सम्भव छैन । त्यसैले अबको राजनीतिले यातायातलाई चुस्त, व्यस्त, द्रुत, ्आरामदायी र सुविधायुक्त बनाउनु पर्दछ । सडक, पुल, केबुलकार, जलमार्ग, रोपवे, रेलवे, विमान स्थल आदिको विकास गर्नुपर्दछ । यातायातका साधन नपुगेको क्षेत्रलाई यथाशिघ्र यातायातको साधनसँग जोड्नुपर्दछ । राष्ट्रिय गौरबका योजनाहरु समयमै पुरा गर्नुपर्छ । आजको युग सञ्चारको युग हो । टेलिफोन, मोबाइल, फ्याक्स, इमेल इन्टरनेट, वेबसाइड, फेसबुक आदिले संसारलाई एउटै गाउँमा परिणत गरिदिएको छ । नेपालमा सञ्चार क्षेत्रमा तुलनात्मक हिसाबले राम्रै विकास हुँदैछ । सुचना प्रविधिको क्षेत्रमा विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता हामीकहाँ तयार भइरहेको छ । सूचना प्रविधिकै माध्यमबाट धनी भएका मुलुक र व्यक्तिको संख्या वर्षैपिच्छे थपिन थालेको छ । विश्वकै सर्वाधिक धनि व्यक्ति विल गेट्स यसै क्षेत्रका व्यवसायी हुन् । यीसहित १२३ अरबपति फोबर्स पत्रिकाको सुचिमा सूचना प्रविधि क्षेत्रबाट आएका छन् । त्यसैले अबको राजनीतिले सूचना प्रविधिको व्यापक विस्तार गरी राष्ट्रमा समृद्धिको ढोका खोल्नुपर्दछ ।
६) लगानीः– आजको युग पूँजीवादी युग हो । अर्थको अभावमा विकास सम्भव छैन । आज हाम्रा नेपाली दाजुभाईहरुले विदेशमा गएर प्रशस्त धन आर्जन गरेका छन् । उनीहरुको पूँजीमार्फत नेपालमा उद्योगधन्दाको विकास गर्न सक्नुपर्दछ । नेपाली कानूनमा रहेका व्यवधानलाई परिमार्जन गरेर विदेशमा रहेका गैरआवासीय नेपालीहरुको पूँजीलाई नेपालमा आकर्षित गर्न सक्नुपर्दछ । विदेशी लगानी भित्राउनु पर्छ । विदेशी लागानीमैत्री कानून निर्माण गर्नुपर्छ ।
७) वैदेशिक रोजगारः– मुलुकमा राजनीतिक स्थिरता कायम भएर देशभित्र रोजगारीका आकर्षक अवसरहरु सिर्जना नभएसम्म कसैले चाहेर पनि वैदेशिक रोजगारीमा जाने प्रवृत्ति अन्त्य गर्न सक्ने अवस्था छैन । हाम्रो जस्तो द्वन्द्वोत्तरको समस्याबाट गुज्रेको मुलुकका लागि मुलुक सञ्चालन गर्न पनि भरपर्दो स्रोतको रुपमा देखिएको बैदेशिक रोजगारीको अवसरलाई अन्य विकल्प नभेट्दासम्म चटक्क त्याग्न पनि हुदैन । कृषि क्षेत्रले ठूलो मात्रामा रोजगारी सृजना गर्ने व्यापक बहस भएपनि कृषि क्षेत्र तत्कालै वैदेशिक रोजगारको विकल्प हुने स्थिति देखिदैन । बरु त्यतिन्जेलसम्म विदेशिने नेपालीबाट कसरी बढी रकम ल्याउन सकिन्छ, त्यता ध्यान दिनुपर्दछ । तर, खाडी मुलुक र मलेसियाको अर्थतन्त्र जर्जर अवस्थामा पुगेको विभिन्न अन्र्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । मलेसियाको तथ्यांक विभागले कृषि र सेवा क्षेत्रमा हजारौंले रोजगारी गुमाउने प्रक्षेपण गरेको छ । त्यसैगरी अन्र्तराष्ट्रिय मुद्राकोषले खाडीको समग्र अर्थतन्त्र करिब ७ प्रतिशतले संकुचन हुने पुर्वानुमान गरेको छ । त्यसैले सरकारले कोरोनापछिको वैदेशिक रोजगारीका लागि नयाँ विकल्पहरु तयार गर्नुपर्छ । नयाँ श्रम गन्तव्य देश खोज्नुपर्छ । नयाँ गन्तव्यमा दक्ष कामदार मात्र विक्न सक्छन् । हाम्रा अदक्ष कामदार खपत नहुन सक्छन् ।
विदेशिने नेपाली युवाहरु अदक्ष कामदारको रुपमा जानुपर्ने भएकोले उनीहरुले कम पारिश्रमिक पाउने गरेका छन् । उनीहरुले विदेशमा गर्ने कामको केही आधारभुत शीप यहि सिकाएर पठाउने बन्दोवस्त गर्ने हो भने तिनीहरुले सुरुबाटै राम्रो दाम पाउन सक्छन् । यसका लागि सरकार र मेनपावर कम्पनीको साझेदारीमा ७५३ वटै स्थानीय तहमा टे«निङ्ग स्कूलहरु खोली युवाहरुलाई दक्ष कामदारको रुपमा बैदेशिक रोजगारीका लागि पठाउनु पर्दछ । त्यसैगरी वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनु पर्दछ । आज वैदेशिक रोजगारीमा गएका युवाहरु विभिन्न तहतहमा ठगिएका छन् । तिनीहरु एजेन्टबाट, वैदेशिक रोजगार कम्पनीबाट, स्वास्थ्य व्यवसायी र अभिमुखिकरण व्यवसायीबाट मात्रै होइन विदेशमा रोजगार दाताबाट पनि ठगिएका छन् । वैदेशिक रोजगारीलाई व्यवस्थित र झन्झटमुक्त बनाउन केन्द्रीय व्यवस्थापन प्रणाली विकसित गरी लागू गर्नुपर्दछ । यो प्रणालीबाट केन्द्रिकृत रुपमा स्वस्थ्य परीक्षण, अभिमुखिकरण तालिम, अध्यागमन, बीमा, प्रवद्र्धन बोर्ड, बैकिङलगायतका सम्पूर्ण कामको व्यवस्थापन र अनुगमन गर्नुपर्दछ । वैदेशिक रोजगारमा जाने युवाहरु पनि ठगीबाट जोगिन अपनाउनुपर्ने सावधानी राहदानी लिँदै अनिवार्य रुपमा सिक्नुपर्दछ । काम गर्न जाने देशको श्रम कानून, रहनसहन, आउनसक्ने सम्भावित समस्या र ती समस्या सामना गर्ने उपायबारे युवाहरु पनि सचेत हुनुपर्दछ ।