हाम्रोमत
कोरोना भाइरसको महामारीको कारण अहिलेसम्म नेपालमा ३३६ जनाको मृत्यु भएको छ । विश्वमा ३ प्रतिशतसम्मको मृत्यु भएकोमा नेपालमा भने संक्रमितको संख्याको १ प्रतिशतभन्दा कमको मृत्यु भएको छ । यो हाम्रो लागि सकारात्मक पक्ष हो । संक्रमितमध्ये करिब ५० प्रतिशत संक्रमणमुक्त भइसकेका छन् । विस्तारै लामो लकडाउन र निषेधाज्ञाबाट चौपट भएको जनजीवन सामान्य अवस्थामा फर्कदैछ । यो अवस्थामा हाम्रो सतर्कता र साबधानीको खाँचो झनै बढेको छ । आफैं सचेत र साबधान भएर यो भाइरसलाई परास्त गर्न नागरिकहरु नै जागरुक हुनुपर्छ । लकडाउन र निषेधाज्ञा अन्त्य गर्दै भाइरससँग भिड्नुको विकल्प पनि थिएन र छैन । कोरोना रोकथाम, नियन्त्रण र उपचारको विषय गएको ६ महिनामा सबैभन्दा धेरै सुनिएको, पढिएको, चर्चा गरिएको, छलफल तथा निर्णय गरिएको र लेखिएको विषय हो । सबै कोरोनातिर केन्द्रित हुँदा अन्य विरामीको उपचार अभाबमा मृत्यु भएका घटना भने बढिरहेका छन् ।
विराटनगरको कोशी अस्पतालले भर्ना नलिएको कारण सुकुम्बासी परिवारकी गर्भवती महिलाको चार दिन अगाडि मृत्यु भयो । निजी अस्पतालमा उपचार गर्न लैजाने आर्थिक हैसियत नभएकै कारण गर्भवती महिलाले बच्चा जन्माउन नसकेको मृत्युवरण गर्नपरो । त्यसो त कोरोना भाइरसको महामारी सुरु भएपछि करिब एक दर्जन विरामीहरुले प्रदेश १ मा उपचार नपाएकै कारण ज्यान गुमाईसकेका छन् । अस्पतालहरुले कोरोना संक्रमण भएको आशंमा पिसिआर रिपोर्टविना उपचार गर्न नमान्दा उनीहरुको मृत्यु भएको छ । यद्यपी उनीहरुमा कोरोना भने थिएन । सरकारले कोरोनामा ध्यान केन्द्रित गर्दा अन्य विरामीले उपचार नपाएको विषयलाई वास्ता गरेको छैन । निजी अस्पतालहरुले पनि लापर्वाहीपूर्ण तरिकाले आफ्नो गेटभित्र छिरेको विरामीलाई जबरजस्ती बाहिर निकाल्ने काम गरिरहेका छन् । अस्पतालमा नियमित जचाइरहनुपर्ने मिर्गाैला, मुट, फोक्सोलगायतका संवेदनशील अंगसँग सम्बन्धित रोगका बिरामी झनै समस्यामा छन् ।
कोरोना संक्रमितसँगै अन्य स्वास्थ्य समस्या देखिएका बिरामीलाई पनि तत्काल सेवा दिनुपर्नेतर्फ ध्यान पुगेको छैन । चिकित्सकले सतर्कता अपनाएर उपचार गरेमा कोरोना संक्रमित भएकै कारण विरामीबाट उनीहरु संक्रमित हुँदैनन् । तथ्यहरुले त्यो स्थापित गरिसकेका छन् । त्यसमाथि कोरोना संक्रमण मानिसलाई अत्याएजस्तो भयाबह हैन भन्ने तथ्यहरु आइसकेका छन् । त्यसैले कोरोना जोखिमको बहानामा विरामीको उपचार नहुने अवस्थाको अन्त्य हुनुपर्छ । सरकारले यसमा प्रभाबकारी पहल गर्नुपर्छ । बिरामीको उपचारमा खेलाँची गर्नु गम्भीर अपराध र अमानवीय कार्य हो । यस्तो गर्ने छुट कुनैपनि अस्पताललाई दिइनु हुँदैन । सरकारले आम नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्नको लागि सरकार मातहतका स्वास्थ्य संस्थाहरुलाई बलियो र सुविधासम्पन्न बताउनुपर्छ । अकालमा कुनैपनि नागरिकको ज्यान नजाहोस् भन्नेतर्फ सरकारले बेलैमा ध्यान दिनुपर्छ ।