गणेश लम्साल
समाजिक सञ्जालमा आजकल एउटा भिडियो कविता भाइरल छ, ‘विन्ती छ आमा ! नपकाउन घिरौला ।’ लयहालेर वाचन गरिएको अनि सन्दर्भ मिलाएर परिवारभित्रै छायाङ्कन गरिएको ‘आमा नपकाउन घिरौला’ भन्ने भिडियो कविताले धेरै चर्चा पाएको छ । साँझ विहान निस्कदा गृहणीहरुले पनि घिरौला कविताको समूहमा चर्चा गरेको मैले सुनेको छु ।
यो भाइरल घिरौला कविताले धेरैलाई घिरौला साँच्चै नमिठोमध्येको एउटा तरकारी नै हो रहेछ भन्ने बुझाएको छ । सायद धेरैले घिरौला खानु भनेको पूर्वजन्मको सराप ‘जैसि करिनी वैसी भरनी ’ भनेर पनि बुझेका होलान् । अर्थात घिरौला अरु केही पाउँदै नपाएको बेला र अरु खानै नसक्नेहरुले मात्र खाने तरकारी हो रहेछ भन्ने पनि देखिएको होला ।
हुन त अहिले लकडाउनले बिदेशी तरकारी भनेजति आयात नहुँदा सिजनको लहरे हरियो मौसमी तरकारी घिरौलाले नै हाम्रो तकारीको बजार सम्हालेको छ । यसैले हुनसक्छ धेरैलाई घिरौला ‘खाए खा नखाए घिच’ भन्ने पनि भएको होला ।
पत्रकार कुमार लुँईटेलले फेसबुकमा तस्विरसहितको एउटा स्टाटस लेखेर पोष्ट गरेका छन् । ‘घिरौलाको अनर्गल प्रचार गर्नेहरुलाई थाहा होस्, यसको अमिलो स्वादिलो खल्पी पनि बन्छ भनेर ।’ त्यत्तिमात्र हैन उनले घिरौला हातमा लिएर ‘यो पाली दशै पनि घिरौलाकै तरकारी अचार खाएर मनाउने हो’ भनेर टिकटक पनि बनाएका छन् ।
वास्तवमा धेरैलाई थहा नहुनसक्छ घिरौलाको खल्पीबारे । तर, यो ‘कमेन्टर ’ ले चाँही घिरौलाको मात्र नभएर कुभिण्डोको खल्पी पनि मज्जाले खाएको र अझै स्वादिलो माानेर खानेगर्छ । तामाको मेसु, गुन्द्रुक, स्कुस र जरा, रुख टमाटर सबै तरकारी रोजाइमा पर्छन् । धेरैलाई घिरौला मिठो लाग्दैन । यो आ–आफ्नो स्वादे जिब्रोको रुची हो । तर, मलाई चाँही खै किन घिरौला असाध्यै मनपर्छ । मेरै कारणले पनि होला हरेक सिजनमा घरमा घिरौला प्राय पाक्ने गर्छ । घिरौलाको भरता, घिरौलाको तरकारी, घिरौलाको अचार सबैखाले परिवार रुचाइन्छ, सिजनमा । दालमा, गेडागुडीमा, आलुमा मात्र हैन अन्य तरकारीमा पनि घिरौला मिसाएर स्वादिलो तरकारी पकाउन सकिन्छ । अरु तरकारी भन्दा पोषिलो र सस्तो पनि हुने भएकोले म जस्तो निम्न मध्यमवर्गीय परिवारका लागि घिरौला रामै तरकारीमा गनिन्छ । यसैले मेरो देश अनुसारको उत्पादन घिरौलालाई कहिल्यै घृणा गर्दिन ।
आयुुर्बेदका अनुसार घिरौला खाँदा अरुची हट्छ । पेट र मुटुका रोगीलाई फाइदा हुन्छ । बोसो कम गर्न सघाउँछ । एकपल्ट रोपेपछि थाँक्रो मात्र लगाइदिए पुग्ने, गोडमेल पनि गर्न नपर्ने घिरौलाले एउटै बोटमा ५० वटासम्म फल दिन्छ । एक रोपनी जमिनमा घिरौला रोप्यो भने एकै सिजनमा दुई सय केजीसम्म घिरौला फलाउन सकिन्छ । प्रायः हामी सबैले प्लााष्टिकको जालोले जीउ मिच्ने गरेका छौं होला । तर, घिरौलाको जालोले जिउ मिच्ने चलन अझै पनि छदैछ । प्राकृतिक घिरौलाको सुरक्षित र औषधीय महत्व भएको जालो कमैले प्रयोग गर्ने गरेका छौं ।
कोरोना महामारीले गर्दा घिरौला, भिण्डी, पिँडालु, बैगुन, निगुरो, लौको, पहाडे निगुरो, काँक्रो, पहाडे काँक्रो, तामा, सिस्नु आदि तरकारीहरु योपाली नेपाली बजारमा छ्यापछयाप्ती भए । पछिल्लो समय भारतबाट तरकारी आयात नभएकोले नेपालमा उपात्दन भएका तकारीहरुले नै नेपालको बाजार धाने । स्मरण रहोस्, हामीले उत्पादन गर्ने सबै तरकारीहरु औषधीय महत्वका र रसायनमुक्त छन् । भारतबाट आयत भएका सस्ता तरकारीहरु केवल विक्रिका लागि बिषादी प्रयोग गरेर उत्पादन गरिएका हुन्छन् ।
कोरोनाले शिक्षा दिएको छ– हामीले चाह्यौ भने आफ्नो बजारलाई आत्मनिर्भर बनाउन सक्नेरहेछांै । मात्र हामीले हाम्रो उपभोग्य शैलीमा परिवर्तन गर्नुपर्ने रहेछ । स्वदेशमा उत्पादन भएका बस्तुको उपभोगमा जोड दिनुपर्ने रहेछ । स्वदशेमा उत्पादन भएका कृषि बस्तु मात्र नभएर अन्य बस्तुहरुलाई पनि प्राथमिकता दिँदै गयौं भने हामीले आयात घटाउन सक्ने रहेछौं । जसले देशको अर्थतन्त्रलाई ठूलो सहयोग पु¥याउने रहेछ । भएन भनेर रोइलो गर्नुनपर्ने रहेछ ।
यसैले नेपालमा उत्पादन भएका घिरौला र घिरौलाहरुलाई घृणा हैन, विविधिकरण कसरी गर्न सकिन्छ भनेर जोड दिन पर्नेरहेछ । घिरौलाका अनेकौं परिकारहरु बनाएर हामीले आफ्नो मात्र नभए विश्व बजारमा बिक्री गर्न किन नसक्ने ? त्यसका लगि प्रयोगहरु किन नगर्ने ? यसैले हामी सबैले भनौं, स्वदेशी उत्पादन खाउँ आत्मनिर्भर बनौं ।
घिरौलाजस्तो स्वास्थ्यबद्र्धक तरकारीलाई मात्र हैन, आफ्नै देशका मौलिक उत्पादनहरुलाई त धिक्कारी रहेकाछांै । संकटको बेलामा समेत हामी आफनो उत्पादन प्रयोग गर्न रुचाइरहेका छैनौं । के हामी हाम्रो भूमिमा उत्पादन भएको स्कूस, घिरौला, लौका, काँक्रो, तामा, अकबरे खोर्सानी, कच्छु, अनि अनेक प्रकारका गेडागुडीहरुलाई रुचीको उच्च प्राथमिकतामा राख्न सक्दैनौं । सक्दैनौ भने प्रष्ट छ, हामी अब आत्मनिर्भर हुने सक्दैनौं । किनकी हामीले आफ्नो मौलिक खानाको स्वाद मात्र नभएर उपभोग गर्ने शैलीलाई पनि परनिर्भर बनाइसकेका छौं । घटना याद आयो, – एक जना मेरो साथी बारीमा पस्यो, उसले जुठेल्नामा उम्रिएको पाकेको रातो ‘रामभेडा’ टिपेर खायो । तर, मुखमा हाल्ने बित्तिकै उसले थुक्यो । भन्यो ‘छि यो त अमिलो छ । धत ! टमाटर पनि यस्तो हुन्छ र ?’ साथीले त विदेशबाट आयात भएको ‘भाइब्रेटर’ टमाटर खाँदाखाँदा आफ्नो स्वादिलो गोलभेडा (रामभेडा) को स्वादै विर्सिसकेछ ।
केही वर्ष पहिलेसम्म गाउँमा बस्नेहरुलाई खासगरी पहाडमा बस्नेलाई कोदे भनेर होच्याउने गरिन्थ्यो । अर्थात अत्यन्तै पोषिलो अन्न कोदो खाने चाँही मान्छे नै होइन । तर, आजकल नेपालका पाँचतारे होटलहरुमा समेत कोदोको ढिँडो उच्च र स्तरीय टिपिकल डिसमा पर्दछ । कुलिन र घरानियाँहरुले पनि कोदोको रोटी र ढिलो रुचाउन थालेका छन् । यस्तै गुन्द्रुक तकारी खानेलाई पनि गुन्द्रुके भनेर होच्याइन्थ्यो । तर, कोदो जस्तै आजकल गुन्द्रुकको आचार सबै होटल र र भोजभतेरहरुमा अनिवार्य भैसकेको छ । आलु , मटर, करेलाको छोप हालेको अमिलो अचार पहिले शहरियाहरुले पटक्कै रुचाउदैनथे । तर, आजकले स्वादिलो नेपाली खाना ती अचारविना अधुरा हुन्छन् । धेरै पहिलेसम्म सेलरोटी पनि चाडपर्वमा मात्र खान परिकार हो भनिन्थ्यो । तर, आजकल सेलरोटी सबै दिन खाने व्यावसायिक परिवार बनेको छ ।
यसैले विन्ती छ हजुर ! घिरौला खानेलाई घृणा हैन, सम्मान गरौं । घिरौलालाई गरिबको मात्र हैन, सम्पन्नहरुको पनि भोजन बनाऔं । घिरौला र घिरौलाहरुको उत्पाखन बढाऔं । आफ्नै उत्पादनको उपभोगमा जोड दिऔं । नेपालीपन र अर्थतन्त्रलाई आत्मनिर्भर बनाऔं । यसैले म आफ्नै माटोमा उब्जिएको हो, अझै धेरै खान पुगोस् भन्ने कामना गर्छु । पत्नीलाई भनिरहन्छु– ‘कमला सधैं पकाउ है ‘घिरौला ।’
राम्राे विषायवस्तु छानाेट गर्नु भएछ । खुशी लाग्याे गणेशजी । हामीले यस्तैखाले यस्तैखाले विषयवस्तु उठाउनु पर्दछ भन्ने अरुहरुलाई पनि भावना जागाेस् । यहाँलाई धन्यवाद छ ।साधुवाद छ ।