राजन राउत
झण्डै १५ वर्ष पुग्न लागेछ त्यो तस्बिरले मेरो पर्सको एउटा कुनामा ठाउँ पाएको । यो पन्ध्र वर्षमा मैले कतिवटा पर्स फेरेँ त्यसको कुनै लेखाजोखा छैन म सँग । तर बस् त्यो तस्बिरले भने यो पर्सको कुनामा ठाउँ लिइनै रहेको छ । सायद मेरो मनको कुनामा पनि ठाउँ पाएर होला ।
पटक पटक पर्स फाटेर गयो तर अहँ त्यो तस्बिर उस्तै छ । नयाँ नयाँ पर्समा झण्डै वर्षै पिच्छे त्यो तस्बिर बसाइँ सरिरहन्छ । यसैगरी बिते विगत पन्ध्र वर्ष ।
हरेक पटक पर्स परिवर्तन गर्दा विस्तृतरूपमा सबै कागजात हेरेर आवश्यक मात्र नयाँ पर्समा भित्र्याउँछु म । बाँकी च्यातिदिन्छु । तर त्यो उनको तस्बिर कहिल्यै च्यात्न सकिँन । न फ्याक्न नै सकेँ ।
जीवनको पहिलो मायाको तस्बिर हो त्यो । पन्ध्र वर्ष कसैले नदेखि लुकिरह्यो मेरो पर्समा । तेह्र वर्ष भएछ श्रीमतीलाई पनि नभनी राखेको । उनका आँखा छलेर त्यो तस्बिर बसिरह्यो पर्सको भित्र कुनामा ।
अहिले ठूलो पश्चाताप गरिरहेको छु म । किन मैले विवाह पछिका यी तेह्र वर्षसम्म आफ्नो माया र उनको तस्बिरबारे खुलस्त हुन सकिँन ? आफूलाई मन परेको अरु केटीको प्रशंसा गर्दै पर्समा तस्बिर बोक्दा श्रीमतीमा इर्ष्या होला भन्ने मेरो चिन्तनले यतिका वर्ष बितेछन् ।
पन्ध्र वर्षदेखि भूमिगत त्यो तस्बिर चकचके छोराले पर्सबाट निकालेर बुझाईदिएछ उसकी आमालाई । उमेरले दश वर्ष पुग्यो उ । उम्रँदैकोे तीन पात, बाबाकी गर्लफ्रेन्ड भनेरै दिएछ ।
अब ठूलो रहस्योद्घाटन गर्नु थियो मलाई । चित्त बुझ्दो जवाफ मागिरहेकी थिइँन उनी । खै मेरो कथाले कस्तो प्रभाव पर्ला ऊनी माथि । तर शाहस गरेर अब खुलस्त त्यो ऐतिहासिक गाथा भन्ने हिम्मत गरेँ ।
कहालीलाग्दो दशवर्षे जनयुद्धको अन्तिम समय थियो त्यो । ति दिनहरुमा जीवनको कुनै ग्यारेन्टी थिएन । बलिदानका कोटाहरु धमाधम बढीरहेका थिए । उन्नाइस, बिस बर्षको त्यो उमेरमा पनि समाजलाई केही हदसम्म बुझेर मृत्युलाई जित्न सक्ने साहस जम्मा गर्नु साधारण मानिसले हिम्मत गर्ने कुरा होइन । एकपछि अर्को हुने लडाइँमा सहिदको झन् झन् लामो लिस्ट थपिँदै जान्थ्यो । कसको यात्रा कहाँसम्म हो कुनै पत्तो हुँदैनथ्यो । जीवन मरणको त्यो यात्राका हामी दुवै यात्रीको गन्तव्य पुगि छाड्ने संकल्प थियो ।
२०६२ साल मंसिर २३ गतेको त्यो साँझ कमरेड शीलाले भनेकी थिईन, ‘तपाँइ हाम्रो यो उमेर समाज र संघर्षलाई बुझ्ने उमेर हो । यो समाजका लागि केहि गर्नु छ हामीले । माया प्रेम हाम्रो व्यक्तिगत विकासमा पर्खाल हुनुहुँदैन । यो उमेर अझ बढी संसारलाई बुझ्ने र सिक्ने उमेर हो । टाढा छ गन्तब्य । हामी एक अर्कालाई सहयोग गर्दै गन्तब्यतर्फ बढीरहनु पर्छ ।’
टह टह जुनेली त्यो साँझ, खुल्ला आकाश मुनीको उनको साथ, मंसिर महिनाको तुषारोले सेकिरहँदा उनि अभिभावक जस्तै लाग्थिन । नजिकै जुनेली प्रकाशमा टल्किरहेका सेता हिमालहरु हाम्रै चियो गरे जस्तो लाग्थ्यो ।
साँच्चै हिमालको काखमै थियो त्यो बसाइ । भोजपुरको दिलखर्क, जहाँ बादलले पूर्वी कमाण्डको बैठकलाई सम्बोधन गरिरहनु भएको त्यो साँझ मलाई बादलको त्यो सम्बोधनभन्दा कता न कता उनको सम्बोधन महत्वपूर्ण थियो ।
उनीसँगको सामिप्य र उनका एक एक शब्दहरु यी पन्ध्र बर्षमा मेटिन सकेका छैनन । टह टह जुन लाग्दा जब चिसो तुषारो पर्छ अनि म उत्तर तर्फका तिनै चियो गर्ने हिमालहरु हेरेर उनलाई सम्झन्छु । त्यो साँझलाई सम्झन्छु । कतै उनी त्यहि हिमालको काखमा छिन् कि जस्तो लाग्छ । अनि पर्सबाट त्यहि तस्बिर निकालेर हेरिरहन्छु । जब चिसो बढ्न थाल्छ अनि रुन मन लाग्छ मलाइ ।
बिचैमा भक्कानिएर रोक्किएँ म । उनले महसुस गरिसकेकी थिइँन अब यो संसारमा कमरेड शीला छैनन् भन्ने कुरा । शायद त्यसैले उनको अनुहारमा सहानुभूतिका भावहरु प्रष्ट देखिन्थे । फेरि सम्हालिएर कथालाई निरन्तरता दिएँ ।
त्यो साँझ नै उनीसँगको सामिप्यको अन्तिम साँझ रहेछ । त्यसपछि अलग भयो हाम्रो कार्यक्षेत्र । झण्डै दुई महिनापछि भोजपुरको घोडेटार आक्रमण भयो । असफल त्यो आक्रमणबाट सकुशल फर्किए पनि बाटोमा हवाई आक्रमणबाट क्षत बिक्षत भयो उनको शरिर । तीब्र रक्तस्राबलाई रोक्ने साथीहरुको प्रयास असफल भएपछि केहि समय छट्पटाएर सँधैलाई बिदा लिइँन उनले ।
मेरो आफ्नै अलग जिम्मेवारीका कारण उनको त्यो दर्दनाक पीडामा सहभागी हुन सकिँन । गन्तब्य सम्म पुग्न एक अर्कालाई सहयोग गर्ने बाचा पूरा गर्न सकिँन मैले । अधुरै रह्यो शिखर चुम्ने उनको संकल्प ।
त्यसयता मसँग पर्समा भएको त्यही एउटा उनको तस्बिर न कहिले अरु कागज झैं च्यात्न सकेँ न फ्याँक्न नै सकेँ । हृदयमा अनगिन्ती यादहरु छन् उनका कहिल्यै नमेटिने । जब पहिलो पटक तिमीलाई देखेको थिएँ, तिम्रो अनुहारमा उनको झझल्को आउँथ्यो मलाई । अनि लुकि लुकि तिम्रो अनुहारमा उनलाई पढ्थेँ म ।
कथा सुनेर निकै भावुक भइँन उनी । अघिसम्म त्यति चर्को स्वरले स्पष्टीकरण माग्ने उनी अब प्रतिक्रियाबिहीन भएकी थिइँन । नियालेर उनका आँखामा हेरें विस्तारै दुई थोपा आँसु गडुल्किएर झरे उनका ।
अर्को दिन जब म कोठामा छिरेँ । मैले आँशु रोक्नै सकिँन । भित्तामा ठूलो फोटो फ्रेममा इन्लार्ज गरेर त्यो तस्बिर सजाइएको रहेछ । त्यसमा लेखिएको थियो ‘महान सहिद कमरेड शीला प्रति हार्दिक श्रदान्जली ।’
त्यसैबेला उनी कोठा भित्र छिरिन् अनि मलाई सुम्सुम्याउँदै भनिन् ‘उनी हामी सबैको ढुकढुकीमा छिन । सहिद कसैको व्यक्तिगत हुँदैन । न कुनै पार्टी, जाति, क्षेत्र, धर्म या सम्प्रदायको । सहिद देशको हुन्छ । उनीहरु यो देशका सहिद हुन । गणतन्त्रका जननी हुन ।’
उनको विशाल हृदयले झनझन बढी उर्लिएर आयो आँशु । अनि उनलाई अँगालेर धित मरुन्जेल रोएँ । यस्तो लाग्दै थियो शीला उनको आत्मामा प्रवेश गरेर मलाई माया पोखिरहेकी छिन् । यो सबै दृष्य अवलोकन गरिरहेको छोरो आयो र माफी माग्यो । ‘सरि बाबा, मैले हिजो हजुरको पर्सबाट त्यो फोटो नझिकेको भए हुन्थ्यो ।’
उसलाई लागिरहेथ्यो बाबा ममीको झगडा भयो । त्यो उसैद्वारा सिर्जित थियो । अनि मैले नै भित्ताको ठूलो फोटो देखाउँदै भनेँ ‘उ हेर त ठूलो फोटो । यो सहिदको फोटो हो ।’ देशको लागि आफ्ना सबै निजी सपनाहरु बलिदान गर्ने महान सहिदको फोटो हो ।
खै के बुझ्यो उसले । निकै बेरसम्म नियालेर एकटकले हेरिरह्यो उ । साँझ छोरीले मलाई त्यो फोटो देखाउँदै तोते बोलीमा भनी, ‘बाबा, दादाले मलेको मान्चेको फोटो भन्च ।’
‘यो सहिदको फोटो हो छोरी । सहिदहरु कहिल्यै मर्दैनन् । उनीहरु अमर हुन्छन् । उनीहरुलाई माया गर्नुपर्छ हस,’ मैले भनेँ । उ दादालाई गलत प्रमाणित गर्न किचन तिर दौडी । किचनमा फोटोको निकै चर्चा चल्यो अनि हजुरबालाई लिएर आई छोरी फोटो देखाउन ।
‘कुन सहिदको फोटो हो हेरौं न त,’ बाले भन्नु भयो । हजारौं शहीदको भीडमा त्यो फोटो चिन्न बालाई मुस्किल थियो । कसरी चिनाउँ बालाई, असहज महशुस गरेँ मैले ।
ढोकामा उभिरहेकी उनैले भनिन्, ‘बा, यो २०६२ सालमा भोजपुरको घोडेटार लडाँइबाट फर्कदै गर्दा हवाई आक्रमणबाट सहिद भएकी मेरी साथी कमरेड शीलाको फोटो हो । आज पन्ध्र बर्ष पछि यो तस्विर भेटेर मैले ठूलो बनाएर सजाएकी हुँ ।’
तस्बिरको ब्याख्याले बा निकै गम्भिर देखिनु भो । शायद २०५९ सालमा ओखलढुङ्गा रुम्जटारबाट ल्याईएका घाईतेलाई मधेश झार्न दुई रात बोके पछि गुमाएको सम्झनु भो उहाँले ।
‘दशवर्षे जनयुद्धमा जनताका हजारौं छोराछोरीले बलिदान गरेका छन् । सहिद आफैँमा सम्मानित शब्द हो । तर इतिहासमा पटक–पटक सहिदहरु माथि अपमान भएका छन् । प्रजातन्त्र आएपछि चार सहिद माथि अपमान नभएका होईनन् । रत्नकुमार बान्तबा ३७ वर्षपछि सहिद घोषणा भए । ऋषि देबकोटालाई अपमान गर्नेको कुनै कमी थिएन । तर आजको समाजले उच्च सम्मान प्रकट गर्दछ । जनयुद्धका सहिदहरु मथि पनि पटक पटक अपमान भइरहेका छन् । आज अपमान गर्नेका सन्ततीले भोलि धिक्कार्ने छन् । समाज कहिल्यै पछि फर्कदैन ।’ यसो भनिरहँदा बा निकै अनुभवी देखिनुहुन्थ्यो । पञ्चायती व्यवस्थादेखिका प्रशस्त अनुभव थिए बा मा ।
‘हजुल्बा चहिदलाई माया गल्नुपल्छ है,’ छोरीले चेब्रे पार्दै बा लाई भनी । ‘मेरी नातिनी पनि अब बुझ्ने भईसकी’, बाले छोरीलाई बोकेर आगनमा निस्कनुभयो । अनि आकाशमा चम्किरहेका ताराहरु देखाउन थाल्नु भयो ।
‘उ हेर त नानी आकाशमा कति ताराहरु चम्किरहेका छन । तिनै चम्किला ताराहरु हुन सहिद । उनीहरु सँधै आकाशमा रहन्छन् ।’ ‘दादा, कति धेलै चहिदहलु छन आकाचमा हेल्न आईज त,’ आगनबाटै ठूलो स्वरले कराई उ ।
केहिछिन पछि आकाशका ताराहरु तेरो सहिद र मेरो सहिद भन्दै विवाद सुरु भयो उनीहरु बिच । अन्ततः मैले नै त्यो विवाद समाधान गर्नुपर्यो । ‘शहीदहरुलाई तेरो र मेरो भनेर भागबन्डा गर्यो भने यो बिशाल आकाशमा उनीहरु बिलाउने छन् । त्यसैले उनीहरु हामी सबैका सहिद हुन् । सँधै आकाशमा चम्किरहन्छन ।’
अनि भित्ताको तस्बिर देखाउँदै भनेँ, ‘यिनै चम्किला ताराहरु छन र त हामीलाई उज्यालो छरिरहेका छन् ।’ त्यसयता हरेक साँझ आकाशमा हेर्दै भन्छे छोरी, ‘बाबा आज पनि चहिदहलु आकाचमा चम्किलहेका छन ।’