अप्सरा बानियाँ निरौला
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना प्रकोप २०१९ डिसेम्बर अन्तिमतिर चीनको बुहान प्रान्तमा देखा परेको हो । नयाँ प्रजातिको कोरोना भाइरस (कोभिड १९) बाट सिंगो मानव जाति त्राहीमान भएको छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्नसक्ने भएकाले पनि मानिसहरु आंतकित हुनु स्वभाविक हो ।
विश्वमा नै महामारीको रुप लिएको यस भाइरसबाट हाम्रो देश नेपाल पनि प्रभावित बनेको छ । सरकारले कोरोना नियन्त्रणका लागि एक मात्र संक्रमित हुँदा गत चैत्र ११ गतेदेखि देशभर लकडाउन सुरु गरेपनि नियन्त्रण हुन सकेको छैन । नेपालका सबै जिल्लामा फैलिएको भाइरसले पछिल्लो समय मोरङ जिल्ला र त्यसमाथि पनि विराटनगरमा धेरै प्रभाव पारेको छ । विराटनगर र आसपासका गाउँपालिकाहरुमा भाइसरबाट संक्रमितहरुको संख्या तीब्र रुपमा बढिरहेका बेला सचेत बन्दाबन्दै पनि भदौ ५ गते मलाई भाइरसले आक्रमण गरेको पुष्टि भयो ।
विश्वलाई नै हायलकायल बनाइरहेको भाइरस शरीरमा प्रवेश गरेको देखिएपछि मन अलिक हड्बड भएको थियो । तर, आत्तिएकी थिइन । किनकी मैले विश्वमा जसरी आतंक फैलिएको छ, त्यसरी आतंकित हुनुनपर्ने भाइरसको रुपमा यसलाई लिएकी थिए र छु । हरेक वर्ष एकपटक रुघा लाग्दा अस्पतालसम्म पुग्नैपर्छ र एन्टिबायोटिक खानैपर्दछ । यति गरिन भने निमोनिया भइहाल्छ । यो वर्ष पनि साउन २७ गते हल्का रुघा लागेको महशुस भयो रुघा लागेपछि सधै पनि ज्वरो आउने, हातखुट्टा कट्कट खान्थ्यो, नाक, घाँटी र छाती एमदमै सुक्खा हुन्थ्यो । यसपटक पनि यहि भयो ।
हामी पत्रिका प्रकाशनको तयारीमा थियौँ, छिटो–छिटो काम सकेर बेलुका घर फर्कियौं । घरमा आएपछि रुघा लाग्दा सधै झैं प्रयोग गरिने तुलसी पानी, बेसार पानीलगायत घारयासी औषधी प्रयोग गरें । सिटामोल पनि खाएँ । बिहान सन्चो भएको थियो । नियमित काममा लागे । फेरि बेलुकातिर बिराम दोहोरियो, फेरि पनि त्यसै गरे । अर्को दिन बिहान साउन २९ गते एमदमै छाती दुखेको थियो, पोलेको थियो । ज्वरो भने निको भइसेको थियो । घरपरिवार र केहि साथीहरुसँग सल्लाह मागे के गरौँ भनेर । कसैले कोरोना जाँच गर्न सल्लाह दिनुभयो, कसैले सधै झैं एन्टीबायोटिक चलाउन । घरपरिवार र बहुमत साथीहरुबाट सधै झैं गर्न सल्लाह पाएपछि नजिकै रहेको मेडिकलमा गएर आफ्नो समस्या राखे । मेडिकल सञ्चालकले पनि मौसमी रुघाखोकीको समय भएकाले एन्टीबायोटिक खान सल्लाह दिनुभयो । (क्लैवम ६२५) नामक एन्टीबयोटिक ५ दिनको डोज लिएर घर आएँ र बेलुकादेखि औषधी चलाए ।
तातो पानी भने सधै झैं खाइरहेकै थिए । ५ दिनसम्म दुखाई उस्तै थियो । घरमै बसे । छातीमा मात्र समस्या थियो, खोकी र ज्वरो थिएन । थकित महसुस भने एकदमै हुन्थ्यो । सधैजस्तै ब्लड प्रेसर अलिक कम नै थियो । सबै चिजको बास्ना हराएको थियो, खानामा अरुची थियो । त्यसपछि कोरोना जाँच गराउनैपर्छ भनेर कोशी अस्पतालको फिबर क्लिनिक पुगे र स्वाब दिएर घर फर्किए । भोलिपल्ट बिहान उठ्दा सञ्चो भएको महसुस भयो, छाती दुख्न कम भएको थियो । लाग्यो, मौसमी रुघा नै रहेछ । खाना पनि मजाले खाइयो । शरीमा स्फुर्ती बढेकोले डराउनु पर्दैन, बाहिर आवश्यक काममा निस्कँदा हुन्छ भन्ने लाग्यो । तर, सोचेको भन्दा परिस्थिति बेग्लै भयो, सधै लाग्ने रुघा यो पटक कोराना रहेछ ।
यो भाइरस कसरी र कस्तो मानिसलाई सर्छ, डाक्टरहरुले समेत ठ्क्याकै भन्न सकेका छैनन् । सौभाग्यवस भनौँ हाम्रो परिवारमा पनि जम्मा ९ जनामध्ये ७५ वर्षीया ससुरा बुवा र मबाहेक सबैको रिर्पोट नेगेटिभ आयो । बुवाको स्वास्थ्य ९ दिनसम्म पनि सामान्य छ । सामान्यभन्दा सामान्य पनि लक्षण छैन । अर्को अचम्मको कुरा एउटै ओछ्यानमा सुत्ने मेरी ८ वर्षीया छोरीको रिर्पोटसमेत नेगेटिभ आएको छ ।
भदौ ५ गते शुक्रबार जब पोजेटिभ ठहरिए, सोहि दिन बेलुका ८ बजे विराटनगरमा रहेको कोभिड १९ उपचार केन्द्र प्रदेश नम्बर १ को आइसोलेनसमा पुगे । स्वास्थ्यामा खासै ठूलो समस्या थिएन । आइसोलेसनमा पस्नुभन्दा अगाडि स्वास्थ्यकर्मीले समस्या सोध्नुभयो । मैले भएको कुरा सबै बताए । उहाँहरुले सिटामोल, प्यान्टोलक, लेभरिक्स ५, एजिकोर ५०० औषधी अलग्गै राखिदिनुभयो, म भित्र छिरे । आफूभन्दा पहिले संक्रमित भएर बसेकाबाट केहि कुरा बुझेर बेडमा बसे । तातोपानी खाने आफै व्यवस्था गर्नुपर्ने रहेछ । मैले त्यो रात पानी खान पाइन, भोलिपल्ट घरैबाट सबै सामानहरु ल्याएपछि मलाई सहज भयो । अस्पतालले नै पहिले व्यवस्था गरेको केहि इलेक्ट्रिक जग रहेछन् । तर, थोरै भएका कारण सबै संक्रमितलाई नपुग्ने । केहि भने बिग्रिसेका थिए ।
आइसोलेसमा बस्दा के गर्नुपर्छ भन्ने कुनै डाक्टर र नर्सबाट परामर्श थिएन । नयाँ संक्रमित थपिँदा के समस्या छ, त्यो पनि सोधिदो पनि रहेनछ । त्यहि भएर प्रायःजसो अक्सिजन लगाउनुपर्ने बिरामी पनि गएको दिन तातो पानी खान समस्या हुने गरेको बताउथे । औषधी पनि यसरी खानु भन्ने नसिकाइएकोले धेरैलाई समस्या थियो । घेरा हेरर औषधी खान सक्नेलाई त ठिकै हो तर नबुझ्ने बिरामीका लागि औषधी खान नै सास्ती ।
करिब पाँच मिटरको फरकमा राखिएका बेडमा रहेका दिदिहरुसँग केहि कुराकानी भयो । दुईटी आमाहरु अलिक बढी खोक्दै हुनुहुन्थ्यो, गाह्रो भएको बताउँदै हुनुन्थ्यो । कोठामा बिरामी बसेको बेड मात्र सफा भएपनि अरु बेडमुनी पानीका बोतलहरु छरिएका थिए । प्लाष्टिहरु छरिएका थिए, कोठा सफा थिएन । छेउमै रहेको बिरामी दिदीले भनेपछि कोठा आफंै सफा गर्नुपर्ने थाहा भो । दिदी आएको १२ दिन भएको रहेछ । तर, उहाँलाई कसैले केहि सोधपुछ गरेका थिएनन् । १३ दिनमा उहाँको पिसिआर परीक्षण भयो र नेगेटिभ रिपोर्ट आएपछि घर जानुभयो ।
संक्रमित भएको आफैंले सार्वजनिक गरेको कारण मेरो मोबाइलमा फोनको घण्टी लगातार बजेको थियो । त्यहि देखेर बिहानै एकजना आमाले भन्नुभयो, नानी तपाईको फोन आइरहदो रहेछ । डाक्टर र नर्स बोलाउनु प¥यो । विभिन्न राजनीतिक दलका नेताहरु, समाजसेवीहरु र पत्रकारहरुले निरन्तर फोन गरेर व्यवस्थापनको बारेमा सोध्दै हुनुहुन्थ्यो । सबैलाई उही समस्या राखे । बिरामीलाई परामर्श नभएको र सरसफाईमा ध्यान नपुगेको । नयाँ रोगबाट पीडित भएर एक्लै बस्नुपर्दा बिरामीहरुमा दिक्दारी थियो । मन भुलाउने एउटा टेलिभिजन हरेक कोठामा भए सहज हुने महशुस भयो । ईटरनेटको सुबिधा भएपनि सबै विरामीको पहुँचमा नहुने भएकोले टेलिभिजन अनिवार्य छ ।
आइसोलेसन पुगेका बिरामीलाई च्यवनप्राश, गुडुची, अश्वगन्धा, साबुन र सेनीटाइजर दिइदो रहेछ । कतियस बिरामीले यो पनि पाउदैनन् । हामी बस्ने कोठाकै दुईजना बिरामीले डिस्चार्ज हुँदासम्म पाएनन् । नर्स र डाक्टरलाई गुनासो राख्दा व्यवस्थापनले दिन्छ, हामी जान्दैनौं भन्ने जवाफ आउँथ्यो । बाहिर टाँसेको गुनासो राख्नुपर्ने नम्बरमा फोन गर्दा कुनैपनि दिन फोन उठेन । अस्पतालबाट नपाएपछि एकजना बहिनीलाई त्यो औषधी घरबाट ल्याइदिनु भयो । अर्को दिदी सुनवर्षी नगरपालिकाको भएकाले ल्याउने मान्छे थिएनन्, हामीले बाँडेर खायौँ । यसरी व्यवस्थापनले जिम्मेवारीपूर्ण काम नगरेका कारण केहि बिरामीहरु अस्पतालबाट पाउने सुविधाबाट बञ्चित हुने गरेका छन् ।
कोरोना भाइरसले सताउता केहिछिन सन्चो हुने, केहि छिनमा दुखाई बढ्दो रहेछ । अस्पताल पुगेको दोस्रो दिन शनिबार छातीमा बादल लागेको अनुभव हुन्थ्यो, दुवैपट्टिका करङहरु मज्जाले दुख्ने र पोल्ने भयो । शरीर थकित हुन्थ्यो । अलिक स्वास फेर्न अफ्ठ्यारो भयो । तर, यो भाइरसलाई योभन्दा बढ्न दिनुहुदैन भन्ने मेरो सोचाई थियो । तातो पानीको बाफ दिनमा दुईपटक लिन्थे, ज्वानो, लसुनपानी, बेसारपानी, कागतीपानी बेस्सरी खाइयो । अस्पतालले उपलब्ध गराएको जडिबुडियुक्त औधाषी नियमित सेवन गरियो । उच्च मनोबल बनाउनुपर्ने सबैको सुझाव र भाइरसबारे जति हल्ला छ, त्यति डर नभएका कारण पनि त्यति गाह्रो भने भएन ।
हलुका स्वाश्प्रश्वासमा समस्या भएपछि महिला प्रहरी दिदिबहिनीहरु पोजेटिभ देखिएको ६ दिनसम्म अफिसकै आइसोलेसबाट कोभिड अस्पताल आउनुभएको थियो । उहाँहरुसँग रमाइला कुराकानी हुन्थे । योग, ध्यान र नाचगान गर्दै आइसोलेसनको बसाई रमाइलो बनाउँदै गएका थियौं । केहि दिदीबहिनीहरु कुनै पनि लक्षणबिहिन हुनुहुन्थ्यो र भन्नुहुन्थ्यो ‘कस्तो दिन आएको होला, सञ्चै हुँदा पनि लुक्नुपर्ने । यो कोरोना त रुघाखोकीभन्दा पनि सजिलै पचाउने भाइरस रहेछ ।’
आइसोलेसन बसेको ३ दिनपछि समस्या बुझ्न अस्पतालका स्टाफहरु आउन थाल्नुभयो । संक्रमितहरु आफैले कोठामा राखिएको एउटा (पल्स अक्सिमिटर) बाट रगतमा कति अक्सिजन छ भनेर नाप्नुपर्ने रहेछ । बेलाबखत नर्स र आइसोलेन बसाईको १२ दिनमा २ पटक डाक्टर आउनुभएको थियो । सफाई कर्मचारी ट्वाइलेट र वाथरुम सफा गर्न दिनको एकपटक आउन थालेका थिए ।
कोभिड अस्पतालमा सबैभन्दा जेष्ठ नागरिकहरुको आइसोलेसन बासाई अस्तव्यत छ । आइसियूमा राखेकमा वृद्धहरु उठेर सबैकोठा चाहार्थे र घरीघरी भाग्न खोज्थे । जे भेट्यो, त्यहि मुखमा हाल्थे । यसरी बिरामी छट्पटाएको खबर डाक्टरलाई ग¥यो भने आइहाल्ने बताउँथे तर समयमा कुनैदिन आएनन् । उनीहरु रातभरी मात्र होइन दिनभरी सिँढीमा ओहोरदोहोर गर्थे । कुनै कोठाको ढोका खुलेको भए सुटुक्क पसिहाल्थे । विराटनगर १० का एकजना ७५ वर्षीया बुवा त्यसरी नै ४ दिनसम्म छट्पटाउनु भयो । आइसियू रुमको बाहिपट्टी दिशापिसाब गर्नुभएछ । तीन दिनसम्म त्यो फोहोर कसैले सफा गरेन । बरु राति तिनै बुवाले टेकेर सिँढीभरी बनाउनु भएछ । सफाई गर्ने कर्मचारीहरु आएका भएपनि हामी बस्ने भुइतलाको बाहिरी भाग सफा गरेर गए । तेस्रो दिनपछि सबै बिरामीले धेरै गुनासो राखेपछि मात्र सफा गरियो ।
सबैकोठामा एसी जोडिएको छ, तर अधिकांश एसीहरु बिग्रिएका छन् । धेरै अनुरोधपछि मर्मत गर्ने भाईहरुले मर्मत गर्नुभएको थियो । दुई घण्टापछि बिग्रियो । कोभिड अस्पतालमा झ्याल नखोल्न अनुरोध गरिएको छ । तर, एसीहरु बिग्रिएको कोठामा बिरामीलाई श्वास फेर्न अफ्ठ्यारो हुन्छ भन्ने कुरामा ध्यान नपुगेको देखियो । कोरोना संक्रमित भएकाहरुलाई अक्सिजनको आवश्यक पर्दो रहेछ, बाहिरको अक्सिजन लिन पाइदैन । सबै झ्यालहरु बन्द गरिँदा बिरामीलाई समस्या । हामीलाई किन अपराधी जस्तो थुनिएको होला भन्दै केहि बिरामीहरुको गुनासो हुन्थ्यो । आइसोलेसनको बसाईको १०–१२ दिनसम्म बिहान–बेलुका कतिबेला पनि बाहिरको हावाको स्पर्श गर्न पाइएन ।
बिरामीलाई खानाको व्यवस्थापन भने ठिकै थियो । बिरामीका लागि उपयुक्त हुने खाना चारपटक दिइन्छ । बिहान–बेलुकाको खानामा रोटी, भात र जाउलोको व्यवस्था गरिएको रहेछ र जाउलो खानेले चाहि खान नसकिने खाल्को भएको बताउनुहुन्थ्यो । तर, अरु खाना तरकारी दाल र खाजा सबै राम्रो नै थियो ।
यसरी केहि सहजता र केहि असजतालाई महसुस गर्दै १२ दिनमा भदौ १६ गते मेरो पिसिआर परीक्षणको दोस्रो रिपोर्ट नेगेटिभ आएपछि कोरोनामुक्त भएर आइसोलेनबाट निस्किए । त्यो दिन हामी जम्मा ११ जना कोरोनामुक्त भएर कोभिड अस्पतालबाट विदा भएका थियौँ । केहि संक्रमतिहरु पहुँचको आधारमा आइसोलेसन आएको ४ दिनमा नै पिसिआर गर्दछन् । छिटो पिसिआर गर्दा प्रायः पोजेटिभ देखिँदो रहेछ । यसो गर्दा त्यो पिसिआर किट त्यसै खेर जान्छ भने अर्को एक जना पिसिआरबाट बञ्चितसमेत हुन्छ ।
पछिल्लो समय नेपालमा मात्र ४२ हजार ८ सय ७७ जना कोरोना संक्रमित भइसकेका छन् भने २५७ जनाले मृत्युवरण गरेका छन् । तर, संक्रमितहरु निको हुने दर पनि उच्च छ । २४ हजार २ सय ७ जना कोरोनालाई पराजित गर्न सफल भएका छन् । विश्वमा हाल कोरोना एक आतंकको रुपमा फैलिको छ । सिंगो मानवजातिलाई अतुलनीय क्षति पुु¥याएको छ । यो भाइरसको महामारी बढे्सँगै आत्महत्या गर्ने बढेका छन्, भोकमारीले मान्छे मरेका छन्, अन्य रोगबाट उपचार नपाएर नागरिकहरु अस्पताल चहार्दाचहार्दै मरेका छन् । यो अति नै विडम्बना हो । वास्तवमा हामी जति डराएका छौँ, यो त्यसरी डराउनुपर्ने भाइरस होइन । कोरोनाको हाउगुजी फैल्याइएको छ, संक्रमितहरुलाई समाजमा तिरस्कारपूर्ण व्यवहार गरिन्छ । आफ्नो घर नभएका कोठा भाँडामा बस्नेहरुले अझ सास्ती खेप्नुपरेको छ ।
यस्तो समस्या उत्पन्न हुनुको कारण राज्यले गरेको गैह्रजिम्मेवारीपूर्ण कामको कारण हो । संक्रमितहरुलाई घृणा गर्नु र घरबेटीले कोराना संक्रमितलाई कोठाबाट निकाल्नु गलत र अमानवीय काम हो । राज्यले यसलाई नियन्त्रण गर्न अति प्रभावित क्षेत्रका सबै टोलटोलका हरेक व्यक्तिको पिसिआर गर्नुपर्दछ । या त पिसिआर बन्द गरेर सबैखाले विरामीले सहज उपचार पाउने व्यवस्था गर्नुपर्छ । प्रमाणित हुन नसकेको बताएपनि यो एक प्रकारको रुघाखोकी मात्र हो । यसलाई विश्का सबै मान्छेले ढिलो छिटो सामना गर्नैपर्दछ ।
त्यसैले गम्भीर बिरामीलाई अस्पतालमा पुगेपछि पिसिआर गराएर मात्र कोरोना कहरबाट हामी छुटकारा पाउन सक्दैनौ । अन्तिम अवस्थाका बिरामीको पिसिआर गरेर मात्र हुदैन । जो कोरोना नलागे पनि मर्न लागेको बिरामी छ, त्यसको पिसिआर गर्दा कोरोना पोजेटिभ देखियो भने मर्ने बेलामा पानी खुवाउने मान्छे नपाउने, रितिरीवाज अनुसार अन्तिम संस्कार नपाउने र क्रियापुत्रीले समेत सहानुभूति नपाउने विडम्बना छ ।
अहिले पनि प्रभावित क्षेत्रहरुमा केहि लक्षणसहितका र केहि लक्षणविहिन कोरोना संक्रमितहरु अत्याधिक छन् । खुलेर भन्छन् ‘पिसिआर गराएर गल्ती गरिदैन ।’ यो समस्याको सामाधान होइन, उल्टै महामारीलाई गोडमेल गर्ने तरिका हो । जो लक्षणविहिन छ, ऊ सुरक्षित होला । तर, त्यो मान्छे गम्भीर खालको दिर्घरोगीसम्म पुग्यो भने समस्याले अर्कै रुप लिन्छ । यसो गर्दा जति नै लकडाउन र निषेधाज्ञा गरेपनि कोरोना नियन्त्रण हुदैन । सरकारले प्रभावित क्षेत्र घोषणा गरेर सबैको पिसिआर गर्नुपर्दछ । आइसोलेसनको व्यवस्था गर्न सबैलाई सक्दैन भने होम आइसोलेसमा राख्नुपर्दछ । यसो गर्ने हो भने आगामी केहि महिनाभित्रैमा कोरोना नियन्त्रणमा जान्छ ।
जसरी कम्रेड तपाईले कोराना भाइरस बिरूद्ध आफूमा संक्रमित भयेको समयमा आफूले कोराना रोगलाई जित्न साहस आट र अरूलाई पनि संन्देश दिईरहनू भयेकोमा बधाई छ,