जनता रोगले भन्दा भोकले मर्ने अवस्था छ

 इश्वरी आचार्य, केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ

कोरोना संक्रमणको कारण देश संकटग्रस्त अवस्थामा छ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्तरिक विवादले थलिएको छ । संकटको समयमा जनताको अभिभावको रुपमा अगाडि आउनु पर्ने पार्टी विवादै विवादमा फसिरहेको अवस्थामा सोही पार्टीको एउटा महत्वपूर्ण संगठन राष्ट्रिय युवा संघ नेपाल भने के गर्दैछ ? एकता प्रक्रिया काहाँ पुग्यो र स्थानीयस्तरमा युवा संघले के गरिरहेको छ ? यस्तै विषयमा हाम्रोमतले राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य इश्वरी आचार्यसँग कुराकानी गरेको छ । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंशः

१) कोरोना संक्रमण न्यूनीकरणमा राष्ट्रिय युवा संघले मोरङमा कस्तो भूमिका खेलिरहेको छ ?

– कोरोना भाइरसको संक्रमणको सुरुआत देखिनै हाम्रो संगठनले निरन्तर अहिलेसम्म संगठनको नीति र विधिमा बसेर आफ्ना गतिविधिहरु संचालन गरिरहेको छ । सुरुवातमा हामीले जनचेतनामुलक कार्यक्रमहरु लिएर सबै पालिकास्तरमा पर्चा, पम्प्लेट वितरण र माक्स तथा सेनिटाइजर प्रयोग गर्ने तरिकाबारे कार्यक्रम गर्यौं । दोस्रो चरणमा लकडाउन सुरु भएपछि आर्थिक रुपमा विपन्न जो दिनभरी काम गरेर साँझ खाने वर्गका मजदुर, किसान तथा दलितहरुका लागि राहत प्याकेज लिएर गाउँगाउँ गयौं । तेस्रो चरणमा कोभिड अस्पताललाई सहयोग पुर्याउने उद्देश्यले हाम्रो संगठनको रोहबरमा स्वाब संकलन केन्द्र प्रदेश सरकारलाई हस्तान्तरण गर्यौं । हाल हामीले सरकारीस्तरबाट भएका कामको प्रचार गर्ने र नपुगेको ठाउँमा रचनात्मक सुझावहरु दिने काम निरन्तर गरिरहेका छौं ।

२) कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले राम्रो काम गर्न सकेन भन्ने आरोप चौतर्फी रुपमा आइरहेको छ यसबारे तपाईको धारणा के हो ?

– कोरोना भाइरस जसरी नेपालमा भित्रियो । त्यसअनुसार सरकारीस्तरबाट तयारी होस् भन्ने जनचाहना थियो त्यस अनुसार भएको देखिएन । यद्यपि नेपालको क्षमता, सरकारी संयन्त्रको विज्ञता र साधन स्रोतको कमीका बाबजुत नेपाल सरकारले धेरै काम गरेको छ । अन्य देशको तुलनामा नेपालको जनसंख्या असाध्यै कम छ । सरकारले चाहन्थ्यो भने २ करोड हाराहारी जनतालाई सुरक्षित घरमा राखेर राहत प्याकेज घरघरमा पु¥याएर दुई महिनामा कोरोनाबाट मुक्ति पाउने अवस्था थियो । अहिले जनता रोगले भन्दा भोकले मर्ने अवस्था छ । यो अवस्था आउनु अगाडि राज्यले योजनाबद्ध काम गर्न सक्नुपथ्र्यो । त्यसो भएन । त्यसो नहुनुमा पार्टी भित्रको आन्तरिक विवाद र आफूलाई केन्द्रमा राखेर सरकारले सोच्नु नै मुख्य कारण हो ।

३) केही समय अगाडि प्रधानमन्त्रीको पक्ष र विपक्षमा विराटनगरमा प्रदर्शन भएपछि तपाईहरुको संगठन भित्रको विवाद छताछुल्ल भएको थियो । अहिले सो विवाद मिलिसकेको हो ?

– संगठन भित्रको विवाद वा लडाइ होइन त्यो । अध्यक्षद्वयबीचमा छलफल चलिरहेको बेलामा स्वतन्त्र युवाहरुको नाममा एकाध साथीहरुले आइएमविथ केपी ओली भन्दै प्रदर्शन गर्दै, एक पक्षलाई देउता बनाउने र अर्को पक्षलाई भारतीय दलाल भन्ने नारा लगाएपछि हामीले पार्टी कार्यालयमा गएर अराजक गतिविधिलाई रोक्न पार्टीका नेतालाई खबरदारी गरेका हौं । यो कुरा राष्ट्रिय युवा संघको विवाद नभइ पार्टीभित्रको विवाद हो । उक्त विवाद हल हुने दिशातिर गएसँगै त्यसखालका गतिविधि पनि हाल रोकिएको छ । जिल्लामा भने अन्य कुनै विवाद देखिएको छैन । हामी मिलेरै कोरोना विरुद्धको अभियानमा लागिरहेका छौं ।

४) तपाईहरुको संगठनको एकता प्रक्रिया चाहिं काहाँसम्म पुग्यो ? तपाई पनि युवा संघको प्रदेशको नेतृत्वमा दाबी गरिरहनु भएको छ ।

– संगनठको केन्द्रीय समितिको सपथग्रहण पनि सकियो । जिल्लाको संयोजक र सहसंयोजक पनि केन्द्रीय समितिले टुंग्याइसक्यो । अब जिल्ला समितिको खाका र सदस्यहरुको विषयमा पनि प्रारम्भीक हिसावले टुंगो लागिसकेको छ । त्यसलाई अब आधिकारिकता दिन बाँकी छ । पार्टी भित्र देखिएको विवाद र कोरोनाको कारण ति कामहरु रोकिएको छ । अब छिट्टै एकता प्रक्रिया टुंगो लाग्छ भन्ने विश्वास दिलाउँछु । प्रदेशको नेतृत्वको विषयमा मेरो राजनीतिक पृष्ठभूमि युवा संगठनमै काम गर्दै आएको छ । हाम्रो संगठनमा विधान अनुरुप ४० वर्षसम्म यो संगनठमा काम गर्न पाउने प्रावधान छ । म विगतमा मोरङको इन्चार्ज हुँदै केन्द्रको सचिवालय सदस्यसम्म बसेर काम गरिरसकेको हुँदा योग्यता र क्षमताको आधारमा नेतृत्वले विश्वास गरेर सहमतिमा जिम्मेवारी दिन्छ भने जिम्मेवारी लिन तयार छु । तर, मैले पाउनुपर्छ भन्दै नेतृत्वलाई अप्ठ्यारो पार्ने मेरो उद्देश्य होइन ।

५) कोरोना नियन्त्रणका नाममा कतिपय स्वास्थ्य सामाग्री खरिददेखि विभिन्न अनियमितताको पनि कुरा आएका छन् । तपाईकै गाउँपालिका बुढीगंगामा पनि स्वाब टेष्टको नाममा उद्योगीबाट पैसा उठाएर खाएको सार्वजनिक भएको छ । यस्तो गलत कामको खबरदारी गर्ने कुरामा तपाईहरुको संगठन किन चुप ?

– संघीय सरकारले खरिद गरेका स्वास्थ्य सामाग्री खरिदको विषयमा अनियमितता भएको भन्ने र भएको छैन भन्ने दुवै कुरा बाहिर आएको छ । यस विषयमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले आफ्नो धारणा सार्वजनिक गरि, खरिदको विषयमा छानविन गर्ने र दोषि देखिए कारबाहीको प्रक्रियामा ल्याउने प्रतिबद्धता जाहेर गर्नु पर्दछ । जहाँसम्म बुढीगंगा गाउँपालिकाले निजी उद्योगका मजदुरको पिसिआर टेष्टको विषयमा पैसा उठाएर हिनाहिना गरेको कुरा छ, त्यो विषयमा दुईवटा कुरा आएका छन् । एकातर्फ मजदुरहरुबाटै पैसा मागेको भन्ने आएको थियो । त्यसमा प्रमाण र तथ्यहरु केही पनि सार्वजनिक भएनन् । अर्कोतर्फ गाउँपालिका अध्यक्ष बालचन्द्र माझी, प्रमुख प्रशासकीय अधिकृत डम्बरुबल्लव र १ नम्बर वडाका अध्यक्ष युवराज पौडेलले हामीले कुनै पनि उद्योगसँग पैसा नलिएको भनेर प्रष्ट पारिसकेको कुरा छ । त्यसका साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि घटनाको विषयमा छानविन सुरु गरिसकेको हुँदा हामीले थप यो विषयमा केही बोल्नु उपर्युक्त हुँदैन । तर, पैसा उठाएको र हिनामिना भएको विषय आइसकेपछि घटनाको निष्पक्ष छानविन र दोषि पाइए कारबाही हुनु आवश्यक छ । त्यसरी कोही मजदुरबाट वा उद्योगबाट पैसा लिएको भए त्यो गैर कानूनी कार्य हो ।

६) यो घटनालाई उचाल्ने काम तपाईबाट पनि भयो भन्ने आरोप छ नि ?

– हामी जत्तिका युवाले कोरोनाको कहरमा जनता आफैं समस्याग्रस्त रहेको अवस्थामा घटनालाई उचाल्ने, पछार्ने वा के गर्ने भन्ने कुरा गलत हो । मैले मेरो विषयमा कसैले त्यस्तो आरोप लगायो भन्ने पनि सुनेको छैन । तर, घटनाको विषयमा आफ्नै पार्टी निकटका मानिसहरु संलग्न भएको भएपनि कारबाही हुनुपर्छ भन्ने मेरो मान्यता हो । समस्या बाहिर आइसकेपछि समस्याबाट भाग्ने भन्दा समाधानमा उन्मुख हुनुआवश्यक छ । यस्तो समस्याको बेलामा गाउँपालिकाका अध्यक्ष, प्रशासकीय अधिकृत वा कुनै जनप्रतिनिधिले अनियमितता गर्न खोज्छ वा गर्न उक्साउँछ भने हामीले खबरदारी गर्नुपर्छ नै । सोही अनुसार मैले पनि जिम्मेवारी निभाएको छु । हाल घटनाको विषय अख्तियारमा पुगिसकेको छ । अब त्यहीबाट हल हुने विश्वास गरेको छु । म माथि लगाएका अन्य आरोपहरुमा सत्यता छैन ।

मङ्गलबार, १६ भदौ, २०७७

प्रतिक्रिया:

सम्बन्धित खवर