सूर्यनारायण चौधरी, जनस्वास्थ्य विज्ञ
जन्मेपछि मृत्यु स्वभाविक हो । तर आफन्तको मृत्युले हामी दुःखी हुन्छौ । मानिसको मृत्युले मनमा पीडा हुन्छ । झन् बिमारी भएको अवस्थामा उपचारका लागि अस्पताल चहार्दा–चहार्दै मृत्यु भयो भने उनको परिवारमा परेको दुःखलार्इ शब्दमा उतार्न कठिन हुन्छ । धेरै पीडा हुन्छ, आखाले आँशु झारिरहन्छ तर ओठमा निःशब्द हुन्छ । मानवता नै सकिएको आभाष हुन्छ ।
डाक्टरलाई दोस्रो भगवानको रुपमा हेर्ने गरिन्छ । हुनत डाक्टर पनि मानिस नै हो र डाक्टर तथा स्वाथ्यकर्मीले आधुनिक उपचार पद्धती बाट रोगलाई निको पारी पुर्नजन्मको आभास गराउने भएकोले दोस्रो भगवानको रुपमा मानिएको होला । पहिलो भगवानको रुपमा आमाबुवालाइ मान्दै आएका छौं । तर हामीले मान्दै आएको यी जीवित भगवानहरु भन्दा पनि अदृश्य भगवानप्रति बढी आस्थावान हुन थालेका छौं । त्यसैले आज भोलि एकातिर वृद्धाआश्रमको संख्या बढ्दै छ भने अर्कोतिर डाक्टर, नर्स तथा स्वाथ्यकर्मीलाइ अमानवीय ब्यबहार गर्न थालेका छौं ।
स्वास्थ्यकर्मीहरु बिरामीको उपचारमा दिन–रात सेवादिने जीवित भगवान हुन् । तर आज जनतासँग अझ आफुले सेवा दिने समाजबाट नै स्वास्थ्यकर्मीहरु पीडित भएको खबरहरु आउन थालेका छन् । उनीहरु अपराधी होइन, यो समाजमा बस्ने अधिकार उनीहरुको पनि छ । तर टोलमा बस्नै नदिने, घरबाट निकाल्ने, ताला लागाइदिने, घर घेर्न जाने जस्ता कुरा खबर, घटना सुन्नु पर्दा आश्चर्य लागेर आउँछ ।
कोरोनाबाट जो पनि संक्रमित हुन सक्छ । न यसले गरिब चिन्दछ, न त धनिलाई नै । यसले उच्च वर्ग, तल्लोवर्ग, साना, ठुला केहि छुट्याउँदैन भन्ने हामीले देखेका छौं । पोजेटीभ छैन भन्दैमा अरुलाई नराम्रो नजरबाट न हेरौं, दुर्ब्यबहार नगरौं तर आवश्यक सावधानी अपनाउँदै मानवीय नाता कायम गर्नु आवश्यक छ ।
एक मानिस र अर्को मानिसबीच दया, धर्म, माया, स्नेह र सहयोग छैन भन्ने मानव जीवनको मूल्य कहाँ रहन्छ र ? मानबले मानवियता खतम गरे मानव जीवनको अर्थ के हुन्छ र ? मानवले मानवियता नबिर्सौं मानिसको पहिलो धर्म नै मानवता बचाउनु हो । आखिर कसैलाई अपमान गरेर क्षणभरको खुसि त पाइएला तर दीर्घकालिन रुपमा पिरोलिरहन्छ । यो माहामारीको बेला व्यक्तिगत स्वार्थ, पार्टीगत स्वार्थ भन्दा माथि उठेर समग्र जनता र देशकोलागि सोचौ, मानवताको लागि सोचौ ,एक जुट हौ र आपसी सद्भाव कायम गरी महामारीलाई जितौं । अहिले एकजुट भएर लडने बेला हो, हार्ने वा भाग्ने बेला पक्कै होइन । सामाजिक दृष्टिकोणबाट हेर्ने हो भने आम जनता स्वास्थ्य सेवा नपाउनु दुःखद कुरा हो ।
सन् १९७८ मा भएको अलमाआटा सम्मेलनबाट “हेल्थ फर अल” को मूल मर्मलाइ अबलम्बन गर्नै पर्छ । आजभोलि ज्वरो आउनु नै गलत हो र ? पक्कै पनि होइन । तर ज्वरो आएकै कारणले उपचार नपाउनु पक्कै गलत हो । उसले पनि उपचार पाउनु पर्छ, यो हरेक बिमारीको अधिकार पनि हो । फेरि ज्वरो आउँदैमा कोरोना नहुन पनि सक्छ नि । शंकास्पद हुन्छ, सावधानी अपनाउनु पर्छ । तर उसलाई उपचारको प्रक्रियाबाट बन्चित गरिनु हुँदैन । यसको लागि सरोकारवालाले बिशेष ध्यान दिई व्यवस्थापन गरिनु पर्छ । बिरामी दिनानुदिन बढिरहँदा बेड नपाउनु आश्चर्य जनक होइन तर नजर आन्दाज गर्न सकिदैन । रोग लागेर अस्पताल पुग्नु भन्दा रोग लाग्न नदिनुनै बुद्धिमानी हो, त्यसैले त भनिन्छ “प्रिभेन्सन इज बेटर देन क्युर” ।
राजनीतिकर्मी देशको मार्गदर्शक, पथप्रदर्शक हुन् । इमान्दार, दुरदर्शी, बौद्धिक कुशल राजनीतिज्ञले देशलाइ असल पथमा लान सक्छ । विकासका विभिन्न सूचक मध्य स्वास्थ्यलार्इ बिशेष जोड दिएर जानु पर्छ । हरेक दुर्गम बस्तीमा गुणात्मक स्वास्थ्य सेवाकालागि दक्ष प्राबिधिक हुनुपर्छ । हरेक निर्वाचन क्षेत्रमा सुबिधा सम्पन्न अस्पताल होस् ताकी कोहि पनि अस्पताल खोज्दा खोज्दै ज्यान गुमाउन नपरुन् ।
समाधानको लागि यी उपाय हुनसक्छ
कोरोना अब स्वास्थ्य समस्यासंगै आर्थिक समस्याको रुपमा आउँदै गरेकोले पीडित व्यक्तिलाई सकभर आर्थिक सहयोग गर्ने र हरेक नागरिक जिम्मेवार बन्ने ।
भौतिक दुरीको सबै ठाउँमा पालना गर्ने ।
घर बाहिर सकभर नजाने जानै पर्ने भए बिशेष साबधानी अपनाउने ।
कोरोना पोजेटिभलाई सम्मान गर्ने ताकी उ फेरी अरुलाई पर्दा सहयोग गर्न सकोस, दुर्व्यहार गर्नेलाइ कानुन बनाइ कारबाही गर्ने ।
टोल विकास संस्थामार्फत गाउँघरमा सामुहिक भेलामा रोक लगाउन आव्हान गर्ने ।
जाँच तथा कन्ट्याक ट्रेसिङका लागि जनशक्ति थप्ने, सामग्री उपलब्ध गराउने ।
होम आइसोलेशनमा रहेकोलाई बिशेष निगरानी गर्ने, औषधिको ब्यबस्थापन गर्ने ।
सरकारीस्तरमा रहेका हरेक जिल्ला अस्पताल तथा प्राइमरी स्वास्थ्य केन्द्रलाई पनि आइसोलेसनको लागि तयारी गर्ने ।
निजी अस्पतालहरुलाई पनि आइसोलेसनकोलागि तयारी रहन आहवान गर्ने ।
लेखक : सूर्यनारायण चौधरी, कोशी हेल्थ क्याम्पसका जनस्वास्थ्य विज्ञ हुन् ।