अर्जुन आचार्य
मेरो उर्जावान एक जना मित्रले भने, ‘शहरमा बसेर केही काम भएन, कुनै प्रगति होला जस्तो पनि लागेन, अब फर्किएर गाउँमै कृषि कर्म गर्नुपर्छ होला ।’ हाल ३५ वर्षको उमेर कट्न लागेका उनले आफ्नो गाउँ फर्किने बताएपछि मैले पनि मेरो जन्म गाउँ सम्झिएँ । नेपालको शिक्षाको सुरुवात भएको स्थान भोजपुर, बालागुरु षडानन्द अधिकारीको जन्मस्थल, समाज सुधारक योगमायाको जन्मस्थलदेखि नजकै पर्ने मेरो जन्मस्थल कुदाककाउले गुरुङगाउँ (हाल षडानन्द नगरपालिका–२) छोडेको पुरापुर १४ वर्ष पुगेछ । मेरो गाउँ सम्झदै गर्दा मैले सम्झिएँ, मेरा पूर्खाले बगाएको पसिना र मेरो सालनाल गाडेको ठाउँ । म जन्मिएको गोठ, मैले खोस्रीएका डाँडा, पाखा र जंगलहरु । अनि मैले सम्झिएँ त्यहाँबाट फरार भएका हामी जस्तै दर्जनौं पौरखी युवाहरु । अनि मैले बनाएँ योजना । कति सम्भव ? कति असम्भव ? भविष्यले बताउला । तर, यो योजना सुन्ने बुझ्ने, पढ्ने सबैले एक पटक आ–आफ्नो जन्म गाउँ सम्झन आवश्यक छ । देशको राजनीति, देशको भविष्यको दिशा वा परिस्थितिबारे यसै भन्न नसकिएला । तर, हामीले हाम्रो ठाउँ हाम्रो हैसियतअनुसार कसरी राम्रो बनाउने एक पटक सोचौं । योजना बनाऔं, लागू गरौं, सरकार गुहारौं ।
गाउँमा के–के छन् सम्भावना ?
पर्याप्त ढुंगा खानी । बोट विरुवा, पर्याप्त घाँस, बाँस र आंशिक सिंचाईको सुविधा । यातायातको सामान्य सुविधा, जडिबुटिको स्रोत तथा फलफूलहरु तितेपाती, चिराइतो, अलैंची, एलोभेरा, अदुआ, लसुन, बेसार, तुलसी, बडहर, टाँकी, तेजपत्ता, चाँप, खोटे सल्ला, रुद्राक्ष, कागती, एभोकाडो, किवि, सुन्तला, चियालगायतको व्यवसायीक खेती हुनसक्ने । पशुपालनमा भैंसी, बंगुर, बाख्रा, भेडा, गाईपालन गर्न सकिने । पशुपंक्षी कुखुरा, बट्टाई, हाँसलगायत पाल्न सकिने । ट्राउट माछापालन गर्न सकिने । कृषिजन्य मकै र कोदो फलाउन सकिने । फलफूलमा आरु, नासपाती, आरुबखडा, सुठुनी, इस्कुस तथा तरकारीजन्य वस्तुहरुको उत्पादन तथा काठजन्य रुखहरु पर्याप्त रोप्न सकिन्छ ।
कृषि पर्यटनको विकास यसरी गरौंं
सानो गाउँ भएको कारण हामीले हाम्रो गाउँलाई कृषि पर्यटनको आधार बनाउन सकिन्छ । कोभिड १९ ले समस्या पारेको भएपनि अहिले पूर्वाधार निर्माण सुरु गर्ने हो भने आगामि ३/४ वर्षपछि हामीले पर्यटन क्षेत्रमा फड्को मार्न सक्छौं । त्यसगाउँमा हामीले सयौं भैंसी, सयौं गाई, हजारौं बाख्रा, हजारौैं माछा र हजारौंको संख्यामा कुखुरा पालन गर्न सक्छौं । त्यसलाई सामूहिक खेती प्रणालीमा लैजाउँ, गाउँका सबै युवा मिलौं । गाउँलाई पुरापुर होमस्टे अवधारणामा लैजाउँ । सदाबहार मनोरञ्जनस्थलको रुपमा पार्क निर्माण गरौं । गाउँलाई पुरै घेराबारा गरौं, गाउँभित्र प्रवेश गरेपछिको नियम आफैं बनाउँ (तीनै तहका सरकारका कानून अनुसार) । त्यस गाउँका सयौं कृषकलाई क्षमता र आवश्यकताका आधारमा त्यही रोजगारी दिऔं । पूर्णतः अग्र्यानिक गाउँको रुपमा विकास गरौं । सुन्दरताको हिसावले युरोप तथा जापानिज स्टायलिस सानो एकीकृत वस्ती निर्माण गरौं । गाउँ घुम्न आउनेलाई टिकट सिस्टम लागू गरौं । विद्युत् लाइन पुगेको भए विद्युत् नत्र सौर्य उर्जाबाट विद्युत् उत्पादन गरौं । वृद्धवृद्धाका लागि छुट्टै मनोरञ्जनस्थल बनाउँ । बाखा्र पालन क्षेत्र, कुखुरा पालन क्षेत्र, भैंसी पालन क्षेत्र, मनोरञ्जन क्षेत्र, सौन्दर्यको अनुपमन उदाहरण दिने विशेष क्षेत्र, माछापालन क्षेत्र, कृषि, फलफूल तथा घाँसेबालीको क्षेत्रहरु छुट्टाछुट्टै निर्धारण गरौं । सोही अनुसारको विज्ञता भएकाहरु र अन्य काम गर्नेहरुलाई तत् ठाउँमा आवश्यकता अनुसार जिम्मेवारी दिऔं । गाउँभरी चल्ने गरी फ्रि वाइफाइ जोनको विकास गरौं । आर्थिक कारोबार केन्द्रीत गर्न सहकारी निर्माण गरौं । गाउँ पायक उच्च शिक्षासम्मको प्राविधिक शिक्षालय निर्माण गरौं । अत्याधुनिक स्वास्थ्य सुविधासहितको अस्पताल पनि निर्माण गरौं ।
वन्यजन्तुहरु भित्र छिर्न नसक्ने गरी घेराबारा तथा सुरक्षाको उचित प्रबन्ध गरौं । अध्ययन गर्न आउनेहरुका लागि पुस्तकालयको व्यवस्था गरौं । त्यस क्षेत्रको सम्पत्तीको रुपमा रहेका बालागुरु षडानन्द अधिकारी र समाज सुधारक योगमाया न्यौपानेलगायत त्यसपछिका आन्दोलनमा प्राण र योगदान दिनेहरुको स्मारक निर्माण गरौं । उनीहरुको अध्ययन गर्न चाहनेहरुका लागि उपर्युक्त पुस्तक तथा सामाग्रीहरुको व्यवस्थापन गरांैं । स्थानीय संस्कृतिको जगेर्नाका लागि सांस्कृतिक प्रदर्शनीस्थल निर्माण गरौं । उत्पादित बस्तुको बजारीकरणमा ध्यान दिने छुट्टै संयन्त्र बनाउँ, सुपथ मूल्यका पसल त्यहाँ संचालन गरौं । त्यहाँ फलाएको पूर्ण अग्र्यानिक वस्तु सोझौ प्रदेश १ का ठूला सहर ल्याउँ । गाउँको विकास भएपछि त्यहाँ जग्गा किन्न खोज्नेलाई प्लानिङको आधारमा निश्चित क्षेत्रको जग्गा बिक्री गरौं । झैझगडा भए मिलन केन्द्र त्यहीँ स्थापना गरौं, नमिलेका सबै कुरा त्यही बसेर मिलाउँ ।
एक्लै सकिन्न, जुटे सकिन्छ
विदेशिएका पौरखी हातहरु हुन् या ज्ञान, विज्ञान, सिप र प्रविधि जानेका युवाहरु हुन्, उनीहरु कोभिड–१९ का कारण स्वदेश फर्किदैछन् । शहर छिरेका कतिपय नवजवानहरु पनि गाउँमै खनि खोस्री गर्ने योजना बनाउँदैछन् । सरकारले गाउँगाउँबाट समृद्धि ल्याउन यस्ता सामूहिक प्रयास र योजनामा जोड दिइरहेकै छ । विश्व पनि बढी आधुनिकता र कृतिम संसारबाट विस्तारै प्राकृतिक सुन्दरता र स्वच्छ वातावरण निर्माण तिरै फर्किरहेको छ । यस अवस्थामा हामी देशभरका युवाहरुले गाउँ–गाउँमा समूह बनाउने, ठाउँठाउँमा फरक फरक अभियान चलाउने, डबल श्रम गर्ने, आफ्नै पौरख खाने, आफ्नै गाउँ (रामराज्य वा समाजवादी गाउँ) बनाउने साझा संकल्प गर्नु आवश्यक छ ।
हाम्रो देश विकास किन भएन ? मेरो विचारमा यसका दुईवटा उत्तर आउलान् । एक, राजनीतिक नेतृत्वमा इच्छाशक्ति भएन । दुई जनताले पनि सामूहिक प्रयास नै गरेनन् । कतिपय स्थानमा जनताको तहबाट सामूहिक प्रयासमा ठूला–ठूला काम पनि भएका छन् । तर, कतिपय स्थानमा भने गर्न जुटेकाहरुबीच आपसी बेमेल, स्वार्थको टकराब, अनियमितता, छुच्चो राजनीति र ढाँटछलले अविश्वास पैदा भएर काम हुन सकेको छैन । शासन सत्तामा बसेकाहरुको समस्या पनि त्यही हो । हाम्रो गाउँ बनाउने हो भने हामीले सामूहिक प्रतिबद्धता, सामूहिक विश्वास र सामूहिक इच्छाशक्तिका साथ काम गर्नु आवश्यक छ । त्यसका लागि योजना निर्माण, कानून तथा नियम निर्माण, आवश्यक सहयोगी संस्था तथा दाताहरुसँगको सहकार्यको अवधारणा, प्रारम्भिक पूँजी संकलनका लागि सामूहिक तदारुकता, राज्यको तर्फबाट विशेष लगानी आवश्यक पर्नेछ ।
सबै सांसदलाई अभियानमा जोडौं
राजनीतिक दलहरुको चाहना नै हुने गरेको छ जनतासँग कसरी जोडिने भन्ने । यस्तो हो भने विकाससहितको विकल्पमा जनतासँगै जोडिने उपाया पनि यो अभियान बन्न सक्छ । हाल प्रतिनिधिसभामा २ सय ७५ सांसद छन् । यस्तै राष्ट्रिय सभामा ५९ र ७ वटै प्रदेशमा ५ सय ५० जना सांसद छन् । यसरी हेर्दा राज्यमा संघको २ सदन र ७ वटा प्रदेशको ७ वटा प्रदेशसभा गरी कुल ८ सय ८४ जना सांसदहरु रहेका छन् । एक सांसदले कम्तीमा एक वर्षमा दुईवटा नमूना गाउँ बनाउन राज्यले जिम्मेवारी दिने । जसका लागि सरकारले निर्वाचन क्षेत्र विकास कोष भनेर बजेट विनियोजन नै गरिदिएको छ । यसको आधा रकम मात्रै पनि नमूना गाउँ निर्माणको योजनामा लगानी गर्ने । सांसदहरुले जनतालाई जुट्न अपिल गर्ने, गाउँगाउँमा यसखाले अभियान चलाउन आवश्यक छ भनेर हौसल्ला दिने, राजनीतिक पार्टीहरुको संयुक्त सहकार्यको अभ्यास गराउने । त्यहाँ भ्रष्टाचार विरोधी पाठ पढाउने, न्यायमूलक समाज निर्माणको आधारहरुबारे बताउने र नमूना गाउँको अभियन्ता सोही क्षेत्रका सांसद बन्ने हो भने १ वर्षमा मात्रै १ हजार ७ सय ६८ वटा नमूना गाउँ बनाउने दिशामा देश जान्छ । त्यसैगरी ५ वर्षमा हामीले हाम्रा ८ हजार ८ सय ४० वटा गाउँलाई नमूना बनाउन सक्नेछौं । त्यसले नयाँ रोजगारीको अवसर सिर्जना गर्नेछ, देश विकासको बाटोमा अगाडि बढ्नेछ । यो अभियानमा सांसदहरु जोडिँदा जनतामा विश्वास पैदा हुन्छ, जनताको वास्तविक अवस्थाबारे सांसदहरुलाई पनि थाहा हुन्छ । काम गर्दा भएका कठिनाइबारे पनि सांसदलाई थाहा हुन्छ । प्रक्रियागत कमजोरी काहाँ छन् ? कानूनी झमेला काहाँ छ ? मालपोतले कसरी दुःख दिन्छ ? कर के–के मा तिर्नुपर्छ ? त्यो न्यायोचित छ कि छैन ? भन्ने विषयमा सांसदलाई पनि थाहा हुन्छ । सरकारका कतिपय सकारात्मक कुराबारे छलफल चलाउँदा र नबुझेका कुराहरु यसो हो भनेर सांसदले जनतालाई बुझाउँदा पनि सरकारसँगको सम्बन्ध राम्रो हुन्छ । नकारात्मक टिप्पणी कम हुन्छ ।
जिम्मेवारी तपाई, हामी र राज्यको
के अब मेरा बालसखा मित्र तथा देशभरका युवाहरु, जनताका प्रतिनिधिहरु नमूना ‘मेरो गाउँ’ निर्माणको योजना र कार्यान्वयनको महाअभियानमा सहकार्य गर्न तयार छन् ? अनि त्यस्ता अभियानमा सरकारले के सहयोग गर्छ ? कोभिड–१९ पछिको संकटग्रस्त मेरो नेपालले मेरो गाउँजस्ता ठाउँलाई कति महत्व दिइन्छ ? यि नै प्रश्नको उत्तर र व्यवहारले आगामि दिनको मेरो जन्म गाउँ र देशको स्वरुपमा परिवर्तन आउने वा नआउने कुराको निर्धारण हुनेछ । मेरो आग्रह छ, चितवन माडीको ठोरीमा राम, लक्ष्मण र सीताको मूर्ति बनाउने निर्देशन दिँदै गर्दा मेरो प्रधानमन्त्रीले देशमै सयौं रामराज्यहरु (समाजवादी गाउँ) स्थापनामा युवाहरुलाई परिचालन गरे अति उत्तम हुनेथियो ।
jorarjun@gmail.com
सिम्बोलिक फोटोः चिन सान्छि प्रदेशको एक गाउँको चित्र । तस्बिरः अर्जुन आचार्य