विराटनगरमा ७४५ संक्रमित, ९ जनाको मृत्यु

लकडाउनको समय आज सकिँदै, थप निर्णय जिल्लास्तरीय सीसीएमसीले गर्ने

विराटनगर । समुदायस्तरमा कोरोना संक्रमण देखिएको विराटनगरमा अहिलेसम्म ७४५ जनामा कोरोना पोजेटिभ देखिएको छ भने ९ जनाको मृत्यु भएको छ ।

यसअघि महानगरको स्वाब संकलन गर्ने स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि २ दिन स्वाब संकलन नै प्रभावित भएको कारण बिहीबार ४ जनामा मात्र संक्रमण देखियो । महानगरले स्वाब संकलन नगरेको कारण सिधै कोशी अस्पतालमा परीक्षण गरेकाहरुमा संक्रमण देखिएको हो ।

कन्ट्याक ट्रेसिङको आधारमा दैनिक २०० हाराहारीको स्वाब संकलन गर्दै आएको महानगरले २ दिन स्वाब संकलन गर्न नसकेकोले संभवत शुक्रबार पनि संक्रमितको संख्या न्युन मात्र थपिने छ । तर, समुदायमै संक्रमण पुगिसकेकोले परीक्षणको दायरा विस्तार गर्ने हो भने अझै ठूलो संख्यामा संक्रमित देखिने महानगरपालिकाले जनाउँदै आएको छ ।

विराटनगरमा चिकित्सकदेखि सुरक्षाकर्मी, पत्रकार, किराना पसल सञ्चालक, तरकारी व्यापारी, सहकारी सञ्चालक, बैंकका कर्मचारी, होटल सञ्चालकसम्म कोरोना देखिएको छ । समाजका सबै क्षेत्रका नागरिकहरु संक्रमित हुँदा विराटनगरको लकडाउनसमेत कडा हुन सकेको छैन । बजारमा अहिले पनि चहलपहल र भिडभाड देख्न सकिन्छ ।

महानगरले गरेको लकडाउनको समयअबधि शुक्रबार सकिँदैछ । त्यसपछि महानगरले कफ्र्यु वा निषेधाज्ञा लगाउन प्रस्ताव गरेको छ । तर, त्यसबारे निर्णय भइसकेको छैन ।

तेह्रथुममा ९ जनामा कोरोना पोजेटिभ देखिएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छध । तर, विराटनगरको एउटै वडामा कोरोना संक्रमितको संख्या सय पुग्नलाग्दा लकडाउनसमेत कडा हुन सकेको छैन । महानगरपालिकाले कफ्र्यु लगाएर भएपनि भिड रोक्नुपर्ने र परीक्षणको दायरा विस्तार गर्नुपर्ने प्रस्ताव गरेपछि प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयले चासो नदिएको गुनासो गर्दै आएको छ ।

विराटनगर महानगरपालिकाका जनस्वास्थ्य महाशाखाका अनुसार विराटनगर १२ मा संक्रमितको संख्या ९२ पुगेको छ । १९ वटा वडा रहेको विराटनगरको १९ नं. वडामा भने अहिलेसम्म संक्रमित भेटिएका छैनन् ।

महानगरको वडा नम्बर ६ मा ७० जना, वडा नम्बर ९ मा ६९ जना, वडा नम्बर ८ मा ५० जना, वडा नम्बर ५ र ११ मा ४८–४८ कोरोना संक्रमित छन् । यस्तै विराटनगर १ मा ९ जना, २ मा ४० जना, ३ मा ४६ जना, ४ मा १७ जना, ७ मा ३० जना र १० मा ३० जना कोरोना संक्रमित छन् । यसैगरी वडा नम्बर १३ मा २१ जना, १४ मा १२ जना, १५ मा ३५ जना, १६ मा २५ जना, १७ मा २६ जना र वडा नम्बर १८ मा २ जना संक्रमित छन् ।

संक्रमण पुष्टि भएका ७४५ मध्ये ७५ जनाको वडा खुलेको छैन । संक्रमितमध्ये १६७ जना संक्रमणमुक्त भएका छन् ।

विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या पनि ९ पुगेको छ । प्रदेशभरी १७ जनाको मृत्यु हुँदा विराटनगरका ९ जना छन् । विराटनगर ६ का ४५ वर्षीय पुरुषको बिहीबार राति घरमै मृत्यु भएको छ । अस्पतालको आइसोलेसन खाली नहुँदा उनको घरमै मृत्यु भएको हो ।

कोरोनाबाट विराटनगर ९ का दुई जना पुरुष, विराटनगर–२ की एक महिला, विराटनगर ३ का एक पुरुष र विराटनगर ५ का एक पुरुष, विराटनगर १० का एक पुरुष, मोरङ कटहरी घर भइ विराटनगर १० बस्दै आएका एक पुरुष र विराटनगर १५ का एक युवकको मृत्यु भइसकेको छ ।

शुक्रबार, ०५ भदौ, २०७७, दिउँसोको १२:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर