रङ्गेलीमा लाठीचार्ज, स्थानीयले गरे प्रहरी चौकी घेराउ

विराटनगर । लकडाउन कडाई गर्ने क्रममा मोरङको रङ्गेली-५ का स्थानीयहरु माथि लाठीचार्ज भएको छ ।

मोरङमा पछिल्लो समय संक्रमितहरुको संख्या दिनप्रतिदिन थपिँदै गएपनि लकडाउन उल्लङघन हुने क्रम नरोकिएपछि प्रहरीले कडाई गर्दै लाठी चार्ज गरेको हो । प्रहरीले अत्यावश्यक सेवा बाहेकका पसलहरु बन्द गराउने क्रममा स्थानीयहरु आवेशमा आएपछि लाठीचार्ज गरेको हो । आक्रोशित ३ सय बढी स्थानीयहरुले अहिले आमगाछी प्रहरी चौकी (ख) घेराउ गरेका छन् । प्रहरीले ज्यादती गरेको स्थानीयको आरोप छ । स्थानीय र प्रहरीको झडपमा आमगाछी प्रहरी चौकीका सई सन्तोष यादवकाे टाउकोमा समेत चोट लागेको जनाईएको छ ।

कुनै अप्रिय घटना हुन नदिन घटनास्थलमा ईलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालको नेतृत्वमा व्यापक प्रहरी परिचालन गरि गरिएको छ । परिस्थिति नियन्त्रणमा लिने प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङ्गले जानकारी दिएको छ ।

मोरङ्गको रङ्गेलीमा आज मात्रै ५ महिला र ४ पुरुष गरि ९ जनामा कोरोना पुष्टि भएको छ ।

बुधबार, ०३ भदौ, २०७७, रातीको १०:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर