विर्तामोड । झापाको झापा गाउँपालिकाका ४० विपन्न समुदायको लागि सहारा नेपालले घर निर्माण गरिदिएको छ ।
ह्याविट्याड फर ह्युमानेटी नेपालको आर्थिक सहयोगमा निर्माण गरिएका घर हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले जानकारी दिनुभयो ।
झापा गाउँपालिका–१ लसुनाका सन्थाल समुदायका लागि प्रतिघर २ लाख २० हजार खर्च गर्दै घर निर्माण गरिएको सहाराका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो । ह्याविट्याड फर ह्युमानेटी नेपालको ७५ हजार रुपैयाँसहित झापा गाउँपालिकाको ७५ हजार र घरधनीको जनश्रमदान तथा सहाराको प्राविधिक टोलीले घर निर्माण गरेको उहाँले जानकारी दिनुभयो ।
विपन्न समुदायले नयाँ घरमा बस्न पाएसँगै खुशी व्यक्त गरेका छन् । वर्षौंदेखि फुसको छानो र बाँसको टाटीमा माटोले लिपेर बस्न हुने मात्रको घरमा बस्दै आएका लसुनावासीका लागि भुई ढलान, पिल्लर, उपचार गरेर बलियो बनाएको बाँस र जस्तापात प्रयोग गर्दै घर निर्माण गरिएको छ ।
गाउँपालिकाले सहारासँगको सहकार्यमा अहिले थप १०० घर निर्माण शुरु भएको जनाएको छ । गत वर्ष पनि ९० वटा घर निर्माण भएको अध्यक्ष साहाले जानकारी दिनुभयो । सहारा नेपालले झापा र मोरङ जिल्लाका विभिन्न स्थानीय तहमा ६०० वटा घर निर्माण गर्ने काम गरिरहेको जनाएको छध ।
आगामी वर्ष एक हजार २०० घर निर्माण गरेर समुदायलाई हस्तान्तरण गर्ने सहकारीको लक्ष्य रहेको छ ।