डा. सरोज विशाल
विश्वव्यापी महामारीको रुपमा तहल्का मचाएको कोरोना भाईरसको संक्रमणबाट नेपाल पनि बञ्चित छैन । विश्वभरि ७ लाख ६४ हजार बढी र नेपालमा मात्र १ सय २ जनाको ज्यान लिईसकेको कोरोना भाईरससँग लड्न रुसले खोप तयार गरिसके पनि नेपाली बजारमा अहिले त्यसको द्रुत पहुँच सम्भव छैन । कोरोना महामारी विरुद्धको युद्धमा र संक्रमितहरुको उपचारमा स्वास्थ्यकर्मीहरु दत्तचित्त भएर लागिपरेकै छन् । राज्यले पनि सक्दो सहयोग गरिरहेकै छ ।
तर, कतिपय अवस्थामा कोरोनाको उपचारमा होमियोप्याथी र एलोप्याथी भन्दा पनि आयुर्वेदिक तथा प्राकृतिक उपचार पद्दति प्रभावकारी साबित हुने सरोकारवाला तथा विज्ञहरु बताउँछन् । यसले कोरोना भाईरसलाई जराबाटै निर्मुल पार्न नसकेपनि रोगसँग लड्ने रोग प्रतिरोधात्मक क्षमता भने बढाउने विज्ञहरुको दाबी छ । केही हदसम्म यो सत्य पनि हो । तर, अहिले हाम्रो घरसमाजमा परम्परागत आयुर्वेदिक उपचार पद्दति नै कोरोना विरुद्ध औषधी हो भन्ने भ्रम फैलिएको छ । कतिपय संघसंस्थाले त ‘आयुर्वेद–नो साईड ईफेक्ट’ भन्दै आफ्ना उत्पादनहरु बजारमा बिक्री वितरणसमेत गरिरहेका छन् । स्वास्थ्यमा असर नगर्ने भन्दै बिक्री वितरण भईरहेका त्यस्ता औषधीहरुले समाजमा अन्यौल र भ्रम समेत सिर्जना गरेको छ ।
यस्तो अवस्थामा के आयुर्वेदमा कोरोना विरुद्धको औषधी छ ? के बजारमा कोरोना विरुद्धको औषधी भन्दै बिक्री वितरण भईरहेका उत्पादनहरु उचित हुन् ? के आयुर्वेद चिकित्सा पद्दतिले कोरोना जरैबाट निको हुन्छ ? लगायतका अन्य थुप्रै पृथक प्रश्नहरु मन मस्तिष्कमा उब्जिनु स्वभाविक पनि हो । तसर्थ आज हामीले प्रदेश नं. १ सामाजिक विकास मन्त्रालयका आयुर्वेद चिकित्सक डा.सरोज विशालसँगको बिशेष कुराकानीमा समाजमा उत्पन्न यिनै प्रश्न तथा जिज्ञासाहरुलाई समेटने प्रयास गरेका छौं । प्रस्तुत छ हाम्रोमत दैनिकका संवाददाता राकेश कर्णले प्रदेश नं. १ सामाजिक विकास मन्त्रालयका आयुर्वेद चिकित्सक डा. सरोज विशालसँग गरेको कुराकानी :
आयुर्वेद चिकित्सा पद्दति भनेको के हो ?
यसलाई यसरी बुझ्नुपर्दछ । आयु भनेको जीवन र वेद भनेको ज्ञान हो । अर्थात जीवन रक्षा तथा संरक्षणका लागि ज्ञानको बोध गराउने शास्त्र नै आयुर्वेद हो । यस अर्थमा निरोगी व्यक्तिलाई रोग नलागोस भनेर स्वास्थ्य रक्षा गर्ने र रोग लागीसकेपछि उपचार गर्ने पद्धति नै आयुर्वेद चिकित्सा पद्धति हो । त्यसकारण जनस्वास्थ्यको सवालमा यो चिकित्सा पद्धति अन्तर्गत सर्वप्रथम व्यक्तिको खयाल राखिन्छ र बिरामी भइहालेपनि प्राकृतिक उपचार गर्ने गरिन्छ ।
आयुर्वेद चिकित्सा पद्दतिका उत्पत्ति कहिले भएको हो ?
मानव जातिको सभ्यताको सुरुवातसँगै आयुर्वेद चिकित्साको उत्पत्ति भएको देखिन्छ । पौराणिक ग्रन्थ तथा वेदहरूमध्ये अर्थवेदमा आयुर्वेद चिकित्सा पद्धतिको वर्णन गरिएको पाईन्छ । तर पछि गएर आयुर्वेद चिकित्सा पद्धतिलाई नै आधार बनाएर अन्य चिकित्सा पद्धतिहरुको विकास भएको देखिन्छ ।
आयुर्वेदमा कस्ता–कस्ता रोगहरुको उपचार छ ?
आयुर्वेदमा करिब करिब सबै प्रकारका रोगहरुको उपचार सम्भव छ । अलि जटिल प्रकृतिका रोगहरुको उपचार कठिन भएतापनि स्वास्थ्य अवस्थामा भने निकै सुधार ल्याउन सकिन्छ । यसमा जण्डिस, पेटसँग सम्बन्धित रोगहरु, नाक, कान, घाँटी, श्वासप्रश्वास, छातिसम्बन्धी रोग, पाईल्स, फिस्टुला, पथरी र महिनावारी गडबडी लगायतका अन्य थुप्रै रोगहरूको सहजै उपचार हुन्छ ।
कोरोनाको उपचारमा आयुर्वेद कत्तिको अब्बल साबित हुन्छ ?
आयुर्वेदमा कोरोना विरुद्धको छुट्टै औषधी छ र उक्त औषधीको सेवन गरे कोरोना नै लाग्दैन भनेर दाबी गर्न सकिँदैन । तर आयुर्वेदनमा कोरोनासँग लडने, रोगप्रतिरोधक क्षमता बढाउने तथा रिकवरी रेट बढाउने उपाय एवं औषधी पक्कै पनि छ । समग्रमा भन्नुपर्दा आयुर्वेदमा कोरोना संक्रमितको निको हुने दर उच्च बनाउने उपचार छ ।
के–कस्ता औषधीको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ ?
रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदिक औषधी भन्दा पनि हामीले आफ्नो दिनचर्या नै परिवर्तन गर्नुपर्छ । बिहान उठेदेखि राती सुतुन्जेलसम्म विभिन्न दैनिक क्रियाकलापमा परिवर्तन गरेर रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ । जस्तै हामीले बिहानै ब्रम्हमुहुत्र्तमा उठने बानी बसाल्नुपर्छ । ब्रम्हमुहुत्त भन्नाले सुर्य उदयभन्दा ४५ मिनेट देखि डेढ घण्टाको अवद्यि हो । त्यसपछि हामीले आफ्नो नित्यकर्म गर्नुपर्छ । नित्यकर्म गरिसकेपछि मनतातो पानी खानुपर्छ । त्यस पश्चात पसिना निस्कने गरि कम्तीमा ३० देखि ४५ मिनेट शारिरीक व्यायाम, कसरत वा योगाभ्यास गर्नुपर्छ ।
जसमा १० देखि १५ मिनेटसम्म प्राणायाम, १० देखि १५ मिनेटसम्म लोमविलोम, हाड तथा जोर्नीहरु चलाउने सुक्ष्म व्यायाम तथा मेडिटेसन गर्नु स्वास्थ्यका लागी लाभदायक हुन्छ । त्यसपछि निन्द्राको कुरा गर्दा एउटा स्वस्थ शरिरका लागी कम्तीमा पनि ७ देखि ९ घण्टाको निन्द्रा आवश्यक हुन्छ । त्यही अनुसार सुत्ने बानी बसाल्नुपर्छ । त्यसैगरि हामीले स्वस्थ जीवनयापनका लागी ब्रम्हचर्य अर्थात राम्रो नैतिक आचरणको पालना समेत गर्नुपर्दछ । तसर्थ समग्रमा हामीले आहार, योग, निन्द्रा र ब्रम्हचार्यसहितका ४ वटा पक्षमा विशेष ध्यान दिए रोग प्रतिरोधात्मक क्षमता स्वतः बढछ ।
तपाईले आहारको कुरा गर्नुभयो, कस्तो आहार सेवन गर्नु मानव स्वास्थ्यका लागि लाभदायक हुन्छ ?
हामीले जहिले पनि घरमै बनेको सन्तुलित भोजन सेवन गर्नुपर्छ । बाहिरका जङ्कफुड, फास्ट फुड र फ्राई फुड सेवन गर्नुबाट बच्नुपर्छ । अहिलेको महामारीका बेला त झन् बाहिरको खाना स्वास्थ्यका लागि निकै नै हानिकारक हो । हामीले नास्तामा बिशेष गरि भिटामिन सी जन्य फलफुलहरु जस्तै ः कागती, अम्बा, केरा, स्याउ, आँप र अनार ईत्यादिको सेवन गर्नुपर्छ । यसका साथै अण्डा, दुध, बे्रड, रोटी, चिउरा, भुजा तथा हरियो सागसब्जी सेवन गर्ने बानी बसाल्नुपर्छ ।
त्यसैगरि खानामा भने भात, रोटी, दाल, हरियो सागपात तथा तरकारी, माछा तथा मासु, दुध, गेडागुँडी, च्याउ र प्रोटिनयुक्त खाना खानुपर्छ ।
प्रसङ्ग बदलौं, औषधीको कुरा गर्दा के–कस्ता प्राकृतिक एवं आयुर्वेदिक औषधीको प्रयोग गर्न सकिन्छ ?
औषधीको प्रसङ्गमा कुरा गर्दा बिहान व्यायाम तथा योगाभ्यास गरिसकेपछि गुर्जो, अस्वगन्धा, त्रिकटु वा अमलाको सेवन गर्नु उपयुक्त मानिन्छ । यसको सम्मिश्रण रहेको च्यावनप्राश सेवन गर्दा पनि लाभदायक साबित हुन्छ ।
गुर्जो
गुर्जो नेपाल र भारतसहित चीन, श्रीलंका, म्यानमार, थाईल्याण्ड तथा मलेसिया लगायतका मुलुकहरुमा पनि सजिलै पाईने जडीबुटी हो । यसलाई हिन्दीमा ‘गिलोय’ भनिन्छ भने यसको वैज्ञानिक नाम ‘टिनोस्पोरा कर्डिफोलिया’ हो । यसले रोगसँग लडने क्षमतामा वृद्धि गर्नुका साथै कमलपित्त र कलोजोसम्बन्धी रोगमा पनि रामवाण औषधीको रुपमा कार्य गर्छ । नेपालमा यसलाई पहिले ज्वरो, रुधाखोकी, चिसो र बाथ रोग उपचारमा प्रयोग गर्ने गरिन्छ । विभिन्न प्रकारका एलर्जी, छालाको रोग तथा पेटसम्बन्धी रोगहरुमा पनि यसको प्रयोग प्रभावकारी मानिन्छ । यसको प्रयोग मधुमेहको औषधीका रुपमा पनि हुने गरेको छ ।
अश्वगन्धा
अश्वगन्धा उष्ण क्षेत्रमा पाईने बुट्यान वर्गको वनस्पति हो । रोगप्रतिरोधक क्षमता वृद्धि गर्नमा सहयोग पुर्याउने यो जडीबुटी करिब ३ हजार बर्षपहिले देखि प्रयोग हुँदै आएको हो । यो जडीबुटी यौन र बीर्य दुर्बलता, बाथ तथा नशारोग, शारिरीक कमजोरी, अजीर्ण तथा अपच, भोक नलाग्ने, श्वासप्रश्वासको समस्या र उच्च रक्तचापका समस्यामा पनि प्रयोग गर्ने गरिन्छ । जराबाट घोडाको गन्ध आउने भएकाले यसलाई अश्वगन्धा भनिएको हो ।
त्रिकटु
त्रिकटु एक प्राकृतिक उपचार स्वरुप प्रयोग गरिने औषधी हो । सामान्यतः यसको प्रयोग रुघाखोकी र तौल घटाउनका लागी गरिन्छ । तर यसमा भएको तत्वहरुले शरीरमा रोग प्रतिरोधक क्षमतामा वृद्धि गर्नुका साथै पाचनप्रणाली चुस्त दुरुस्त राख्न मद्दत पुर्याउँछ ।
अमला
अमलालाई भिटामिन सी को मुख्य स्रोत मानिन्छ । यसमा भएको एन्टीअक्सिडेन्टले शरीरमा माईक्रो सर्कूलेशन अर्थात रक्तसञ्चार प्रक्रिया दुरुस्त बनाईराख्न सहयोग पुर्याउँछ । कोलेस्ट्रोल घटाउन, पाचन प्रक्रिया बलियो बनाईराख्न, कपाललाई स्वस्थ राख्न, स्वस्थ छाला र रोगप्रतिरोधक क्षमता बढाउन यसको व्यापक प्रयोग हुने गदर्छ । यस कोरोना महामारीका बेला अमलाको सेवन अत्यन्तै जरुरी देखिन्छ ।
अहिले चैं कोरोनाका सामान्य लक्षणहरु देखिए वैकल्पिक चिकित्साको प्रयोग कसरी गर्न सकिन्छ ?
अहिले कोरोनाका सामान्य लक्षणहरु भन्दा भन्दा रुघाखोकी र ज्वरोलाई बुझ्नुुपर्दछ । रुघाखोकी लागेमा दुधमा बेसार मिलाएर पिउनु अत्याधिक प्रभावकारी हुन्छ । करिब १ सय ५० मिलिलिटर मनतातो दुधमा कम्त्तीमा २ ग्राम बेसार मिलाउर पिउनु अत्यन्तै लाभदायक हुन्छ । यसमा भएको एन्टिबायोटिक गुणले लिभरलाई स्वस्थ राख्न सहयोग पुरयाउँछ ।
यो सँगसँगै हामीले मुलेठी, दालचिनी र त्रिकटुको सम्मिश्रण बनाएर सेवन गर्नुपर्छ । यसले पाचन पक्रिया र रक्तसञ्चार प्रणालीलाई दह्रो बनाएर रोगसँग लडने क्षमता विकास गर्दछ ।
अहिले कोरोनाको त्रासमा बाँचिरहेका जनतालाई के सुझाव दिन चाहनुहुन्छ ?
म के भन्न चाहन्छु भने, कोरोना ज्यान लिएरै छोडने महामारी वा भाईरस होईन । आवश्यक सुरक्षा सर्तकताबाट यसबाट बचाव सम्भव छ । तर, संक्रमित भईहाले पनि आत्तिनु भने पर्दैन । अन्य देशहरुको तुलनामा हाम्रो देशको रिकभरी रेट उच्च छ । हाम्रो रिकभरी रेट राम्रो हुनुमा कतै न कतै पूर्वीय दर्शन, आयुर्वेदमा वर्णन गरिएका चीजहरुको प्रयोग र परम्परागत दिनचर्याको पनि ठूलो हात छ । अन्य ठुल्ठुला देशहरुको तुलनामा नेपालको रिकभरी रेट करिब ७० प्रतिशत छ । त्यसैले कोरोनाबाट आत्तिनु पर्दैन । आयुर्वेदमा वर्णन गरिएका बिषयवस्तुलाई आत्मसात गर्न सके कोरोनाबाट जोगिन पनि सकिन्छ र यसलाई परास्त पनि गर्न सकिन्छ ।