नेकपाका नेता–कार्यकर्ताको दायित्व

 नरेन्द्र बस्नेत

१. पार्टी विभाजन रोक्नु पर्छ: नेपाली राजनीतिको सबैभन्दा ठुलो समस्या नै कुर्सी मोह हो । नेपालमा कुर्र्सीमोह कै कारणले दलहरु फुटेका र जुटेको इतिहास छ । कुर्सीमोहका कारणले पार्टीमा अत्याधिक मात्रामा गुटबन्दी मौलाएको छ । एकचोटी कुर्सीमा पुगेपछि कुुर्सी छोड्न नचाहनु नेपाली नेताहरुको विशेषता हो । नेपालमा नेताहरु पार्टी सत्ता र राज्य सत्तामा आजीवन बस्न चाहन्छन् । गुटबन्दी मार्फत पार्टी सत्ता जफत गर्ने र पार्टी सत्ता मार्फत राज्य सत्ता संचालनमा नेपाली नेताहरु पोख्त मानिन्छन् । नेपालको राजनीतिक इतिहासमा पार्टी सत्ता र राज्य सत्ताका लागी बारम्बार दलहरु फुटेका छन । तत्कालीन नेकपा एमाले वि.सं.२०५४ मा फुटेर वि.सं. २०५८ मा जुटेको थियो । नेपाली कांग्रेस वि.सं.२०५९ मा विभाजित भएर वि.सं. २०६४ मा एकिकरण भएको थियो । दोस्रो जनआन्दोलन पछि जन्मिएका तराइ मधेस केन्द्रित दलहरुले विभाजन र एकताको लामो श्रृंखला पार गरेका छन ।

लाखौ नेता कार्यकर्ताहरुको त्याग र बलिदानले आजको नेकपा निर्माण भएको हो । पार्टी निर्माणमा नेता कार्यकर्ताको लामो इतिहास र श्रृंखला छ । पुष्पलाल, मनमोहन अधिकारी, माधव नेपाल, झलनाथ खनाल, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुको भिजन, मिसन र सुझबुझपुर्ण निर्णय र नेतृत्वका कारणले आजको नेकपा निर्माण भएको हो । सबै नेताहरुले देशभक्ति र लोकतान्त्रिक आन्दोलनमा महत्वपुर्ण योगदान गरेका छन् । नेताहरुको नेतृत्वकै कारणले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था छ । नेकपाका सबै नेताकार्यकर्ताहरु राष्ट्रवादी छन । कोही पनि राष्ट्रघाती छैनन । नेताहरुलाई राष्ट्रवादी र राष्ट्रघाती भनी कित्ताकाट गरेर आजको नेकपाको समस्या समाधान हुदैंन । कार्यकर्ताहरु कित्ताकाट गरेर गालीगलौजमा प्रस्तुत हुनुहुदैन । नेता कार्यकर्ताले मुडभेड निम्त्याउनु हुदैन । पार्टी एकता संकटमा पार्नु हुदैन । नेताको देवत्वकरण र राक्षसीकरणमा नेता कार्यकर्ता लाग्नु हुदैन । यस्ता कार्यले पार्टी एकतामा समस्या सृजना गर्न सक्छ । यस्ता कार्य बन्द गर्नुपर्छ । हाम्रा लागि सबै नेताहरु बराबर हुन । नेताको पक्ष विपक्षमा नाङ्गो ढगंले लाग्न आवश्यक छैन ।

नेकपामा जारी विवादलाई निकास दिनका लागि दुई अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल बीच त्रिपक्षीय सहमति गर्नुपर्छ । दुई अध्यक्ष मात्र मिलेर अब नेकपा पार्टी अगाडि बढ्न सक्दैन । पार्टी एकिकरण र निर्माणमा पार्टीका दुवै अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको महत्वपुर्ण र प्रमुख भूमिका छ । पार्टी निर्माणमा नेकपाको बरिष्ठ नेता माधवकुमार नेपालको पनि महत्वपूर्ण भूमिका छ । उनले लामो समय तत्कालीन नेकपा एमालेको नेतृत्व गरेका थिए । नेपाली कांग्रेस जस्तो राजवादी पार्टीलाइ उनले गणतन्त्रमा ल्याउन प्रमुख भुमिका खेलेका थिए । तत्कालीन माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन उनको प्रमुख भूमिका छ । संघीय लोकतान्त्रीक गणतान्त्रीक शासन व्यवस्था निर्माण उनको प्रमुख भूमिका छ । तत्कालीन द्धन्द्धलाई शान्तिमा रुपान्तरण गर्न उनको प्रमुख भूमिका छ ।

२. शासन विधिको हुनुपर्छ व्यक्तिको होइन: पार्टी विधि र पद्धति अनुसार संचालन गर्नुपर्छ । पार्टी एकिकरणका नाममा विधि पद्धति मिच्नु हुदैन । विधान भन्दा माथि कोहि हुन सक्दैन । विधानको व्यवस्था अनुसार पार्टीको बैठकहरु नियमित संचालन गर्नुपर्छ । पार्टीमा देखिएका समस्याहरु विधानको व्यवस्था अनुसार हल गर्नुपर्छ । कमिटी प्रणालीलाई थप व्यवस्थित गर्नुपर्छ । लेलिनवादी संगठन प्रणाली जनवादि केन्द्रियता अपनाउनु पर्छ । व्यक्ति कमिटीको मातहत हुन्छ । अल्पमत बहुमतको मातहत हुन्छ । तल्लो कमिटी माथिल्लो कमिटी मातहत हुन्छ । पार्टी बैठकको निर्णय सबैले मान्नुपर्छ । बैठकमा सहमत नभएको विषयमा फरक मत दर्ज गर्न सकिन्छ । बैठक बाट भागेर र बैठक सारेर समस्या समाधान हुदैन । बैठक बाटै निकास खोज्नु पर्छ । कसैले पनि विधान मिच्नु हुदैन । शासन विधिको हुनुपर्छ व्यक्तिको होइन । व्यक्तिको शासनले अराजकता, कुशासन, अधिनायकबाद र तानाशाहा जन्माउछ भने विधिको शासनले सुशासन, विकास, समृद्धि, जनउत्तरदायी, जवाफदेहिता र जननेता जन्माउँछ ।

पार्टीलाइ संस्थागत ढंगले संचालन गर्नुपर्छ । एक व्यक्ति एक पद कार्यान्वयन गर्नुपर्छ । कम्युनिष्ट पार्टी अनुशासीत, सिर्जनशील र आलोचनात्मक चेत सहितको हुनुपर्छ । कम्युनिष्ट पार्टी भजनमण्डली हुन सक्दैन । पार्टीमा राम्रो काम गर्नेलाई प्रोत्साहन र गल्ती गर्नेलाइ दुरुत्साहन गर्नुपर्छ । पार्टी एकतालाई तत्काल पुर्णता दिनुपर्छ । जिम्मेवार विहिन हजारौ नेता कार्यकर्तालाइ पार्टीले जिम्मेवारी दिनुपर्छ । पार्टीका विभागहरुलाई पुर्णता दिनुपर्छ । थाति रहेका जनवर्गीय संगठनको एकतालाई पुर्णता दिनुपर्छ । गुटगत आधारमा पार्टीमा हुर्किएको विभेदको अन्त्य गर्नुपर्छ । पार्टीभित्र बढेको घात, अन्तर्घात र अराजकताको अन्त्य गर्नुपर्छ ।

३. महाधिवेशन यथासिघ्र गर्नुपर्छ : पछिल्लो पटक गत श्रावण ३ गते बसेको सचिवालय बैठकमा आगामी मंसीरमै महाधिवेशन गर्ने प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव लगभग अस्वीकृत भएको छ । मंसिरमै महाधिवेशन गर्ने परिस्थिति पनि मुलुकमा छैन । कोभिड–१९ को महाव्याधीले मानव समाज, अर्थतन्त्र, राजनीति सबै तहसनहस भएको छ । बेरोजगारी र गरिबी बढेको छ । बाढिपहिरोले सयौंैको मृत्यु र हजारांै घरबार विहिन भएका छन । सलहका कारण कृषि क्षेत्रमा नयाँ संकट थपिएको छ । आत्महत्या दर अत्याधिक बढेको छ । जनता रोग, भोक र शोकमा डुबेका छन । पार्टी एकीकरण अझै पनि पुरा भएको छैन । एकिकरण पश्चात पार्टी सदस्यको नविकरण हुन सकेको छैन । पार्टीको बैचारीक पक्ष निरुपण हुन सकेको छैन ।

गत माघमा सम्पन्न नेकपाको दोस्रो केन्द्रिय कमिटीको बैठकले आगामी चैतमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । चैतमा महाधिवेशन गर्ने समय अपुग भए, आगामी जेष्ठ सम्म नेकपाको महाधिवेशन सम्पन्न गरीसक्नु पर्छ । पार्टी महाधिवेशन नभएको लामो समय भएको छ । विस २०७१ असार भएको तत्कालीन नेकपा एमालेको नवौं महाधिवेशनले केपी शर्मा ओलीलाई अध्यक्ष बनाएको थियो भने वि.सं. २०४८ प्रचण्ड तत्कालीन एकता केन्द्रको महामन्त्री र वि.सं. २०५७ देखि अध्यक्ष भएका थिए । नेकपाको विधानमा पार्टी एकिकरण भएको दुइ वर्ष भित्र महाधिवेशन गर्ने व्यवस्था छ । तर पार्टी एकीकरण भएको गत जेष्ठ ३ गते दुइ वर्ष पुरा भइसकेको छ । नेकपाको गठन २०७५ जेष्ठ ३ गते भएको हो ।

महाधिवेशनले मात्र पार्टी एकीकरणलाइ पुर्णता दिन्छ । महाधिवेशनले नयाँ नेतृत्व जन्माउँछ । पार्टी नीति सिद्धान्तको निरुपण महाधिवेशनले मात्र गर्न सक्छ । नेकपाले तत्कालीन नेकपा एमालेको जनताको बहुदलीय जनवाद र तत्कालीन नेकपा माओवादी केन्द्रको एक्काइसौ शताब्दीको जनवादलाई थाँती राखेर जनताको जनवाद विचार सिद्धान्त अघि सारेको छ । अब नेकपाको महाधिवेशनको मिति पुन तोक्न ढिलो गर्नु हँुदैन । जनताको जनवादमा व्यापक बहस छलफल चलाउनु पर्छ । विचार सिद्धान्तलाई समृद्ध बनाउनु पर्छ । आगामी चुनौतीहरुलाई सामना गर्दै नयाँ नेपाल निर्माण गर्न सक्ने विचार सिद्धान्त र संगठन निर्माण गर्नुपर्छ ।

४. शान्त र शालीन कुटनीति अपनाउनु पर्छ : भारतले नेपाली राजनीतिलाई आफ्नो पकडमा राखी मुलुकमा अस्थिरता निम्ताउन खोज्नु उसको पुरानै परम्परा हो । भारत बारम्बार नेपाल र नेपालीको हितविपरीतको कार्य गरी दुःख दिन्छ । उसले बारम्बार नेपालमा नाकाबन्दी गरेको छ । नेपालको संविधानलाई अझ स्विकारेको छैन । उसको हेपाहा र मिचाहा प्रवृत्ति अझै जारी छ । उसले बारम्बार राष्ट्र, राष्ट्रियता र स्वाधिनतामा आक्रमण गरेको छ । नेपाली भूमी मिची सीमा अतिक्रमण गरेको छ । नेपाल सरकारले अतिक्रमित नेपाली भूमी लिपुलेक लिम्पियाधुरा समेटेर सुधारिएको नक्सा जारी गरेपनी भारतले मान्यता दिएको छैन । नेपाल वार्तामार्फत समस्या समाधान गर्न चाहन्छ तर भारत वार्ताबाट भागिरहेको छ । समस्या समाधानमा बिलम्ब गर्दैछ । अतिक्रमित भूमि फिर्ता गरेको छैन । कालापानीबाट अझै भारतीय सैनिक फिर्ता भएका छैनन । दसगजा क्षेत्रमा सडक र बाँध निर्माण गरी हजारौं हेक्टर नेपाली भूमि डुबान गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २ वर्षअघि नै पुरा भएको इपिजी प्रतिवेदन बुझ्न अझै आनाकानी गरिरहेका छन् । उनी भारतद्वारा सिर्जित नेपालको समस्या थाँति राख्न चाहन्छन् । भारतको विस्तारवाद र हैकमवाद जारी छ । तर अब उसको विस्तारवाद र हैकमबाद चल्दैन । नयाँ संविधानको निर्माणसँगै भारतको विस्तारवाद र हैकमवादलाई नेपाली जनताले अस्वीकार गरेका थिए । अब नेपालको सरकार गिराउन र बनाउन भारतले सक्दैन । अहिले नेकपासंग झण्डै दुई तिहाइ नजिकको बहुमत छ । यो सरकार नेकपाले बनाएकोले नेकपाले मात्रै ढाल्न सक्छ । नेकपा बाहेक संसारका देशी–विदेशी कुनै पनि शक्तिले नेकपा अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई अब हटाउन सक्दैन ।

कुटनीतिक क्षेत्रलाई हल्का रुपमा लिएर नेताहरुले जथभावी बोल्नु हुदैन । घरेलु राजनीतिमा जस्तै वक्तव्य कुटनीतिमा शोभनिय हुदैन । कुटनीति शान्त र शालिन हुन्छ । कुटनीति र कुटनीतिज्ञय राज्यका शक्ति हुन । यिनीहरुको सही प्रयोग मार्फत राष्ट्रको मान, सम्मान र प्रतिष्ठित अन्र्तराष्ट्रिय क्षेत्रमा वृद्धि गर्न सकिन्छ । भारतसंग रहेका सिमा विवादहरु कुटनीतिक संवादमार्फत हल गर्नुपर्छ । नेपालले भारत र चीनसँग समभाव र समदुरिको सम्बन्ध स्थापित गर्नुपर्छ । नेपालले सबै शक्ति राष्ट्रहरु र वैदेशिक रोजगारी गन्तव्य मुलुकहरुसंग सुमधुर सम्बन्ध स्थापित गर्नुपर्छ ।

– विराटनगर

आइतबार, २५ साउन, २०७७

प्रतिक्रिया:

सम्बन्धित खवर