विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा आइपुग्दा शुक्रबार विहान मृत्यु भएका पुरूषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएका विराटनगर–९ गुद्रीका ५८ वर्षीय पुरुषको अस्पताल पुग्नसाथ मृत्यु भएको थियो । उनको शवलाई आइसोलेशनमा राखेर स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला ल्याबमा गरिएको परीक्षणमा मृतक पुरूषको कोरोना रिपोर्ट पोजेटिभ आएको कोशी अस्पतलाका आइसोलेशन इन्चार्ज डा. लक्ष्मीनारायण यादवले जानकारी दिनुभयो । अहिले ३ बजे आएको रिपोर्टमा उनमा कोरोना पोजेटिभ देखिएको हो ।
डा. यादवका अनुसार विहान ९ः४० बजे अस्पताल पुग्नसाथ चिकित्सकले मृत घोषणा गरेको मृतकमा कोरोनासँग मिल्ने लक्षण रहेकोले स्वाब संकलन गरि परीक्षणको लागि पठाइएको थियो । ‘लक्षण मिल्ने देखिएपछि हामीले स्वाब संकलन गरि परीक्षण गर्न पठाएका थियौं,’ उहाँले भन्नुभयोे, ‘३ बजे आएको रिपोट अनुसार पोजेटिभ देखिएको छ ।’
कोशी अस्पतालमा योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या चार पुगेको छ भने विराटनगरका मात्र ३ जनाको मृत्यु भएको छ । यसअघ विराटनगरका ५ र ९ का पुरूषको कोरोनाबाट मृत्यु भएको थियो ।
शुक्रबार मृत्यु भएकोसँगै मोरङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । विराटनगरका तीनसहित रंगेलीका एक पुरुषको कोशीमै मृत्यु भएको थियो भने सुनवर्षीका पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।