सूर्यनारायण चौधरी
आमाको दूध बच्चाको लागि अमृत समान हुन्छ । बच्चा जन्मने बित्तिकै स्तनपान गर्नु पाउनु शिशुको नैसर्गिक अधिकार हो । आमाको दूधमा रोगसँग लड्ने प्रतिरोधात्मक तत्वले शिशुलाई बिभिन्न किसिमको संक्रमण हुनबाट बचाउन सहयोग गर्दछ । शिशु जन्मेपछि बाक्लो पहेलो आउने दुधलाई बिगौती दूध भनिन्छ । यो दूधले शिशु र आमालाई धेरै फाइदा गर्दछ । आमाको यो दूध नफालिकन शिशुलाई सकभर चाँडो खुवाउनु पर्छ । स्तनपान नै शिशुको पहिलो खोप हो । यसले विभिन्न किसिमका संक्रमण हुनबाट बचाउन सहयोग गर्दछ । बच्चालाइ ६ महिनासम्म पूर्णस्तनपान गऱाउनुपर्छ र ६ महिनापछि थप खानेकुरासँगै २ बर्षसम्म स्तनपान गराउनु पर्छ ।
नेपाल सरकारले ‘स्वास्थ्य र सुन्दर संसार ,स्तनपान एक मात्र आधार’ भन्ने मूल नारा का साथ विश्व स्तनपान सप्ताह अगस्ट १ देखि ७ सम्म मनाउदैछ । स्तनपानलाइ प्रबद्र्धन गर्ने उद्देश्यले विश्व स्तनपान सप्ताह मनाइन्छ । स्तनपानको फाइदाबारे केवल आमाले मात्र होइन घरपरिवार लगायत सबैले बुझ्नु जरुरी छ ।
विश्व स्वास्थ्य संगठनअनुसार प्रत्येक तीन जना शिशुमा दुईजना शिशुले ६ महिनासम्म स्तनपान गरेको छैन भने पाँच जना शिशुमा तीन जना शिशुले एक घण्टाभित्र आमाको दूध चुसेको छैन । डेमोग्राफी हेल्थ सर्वे २०१६ अनुसार ५५ प्रतिशत शिशुले मात्र एक घण्टाभित्र स्तपान गरेको देखिन्छ भने ६६ प्रतिशतले ६ महिनासम्म स्तनपान गरेको देखाएको छ । त्यसैगरी बीएमसी प्रेग्नेंन्सी चाइल्ड जर्नल, २०२० जनवरीमा प्रकाशित भएको अनुसन्धानले नेपालमा २३.२ प्रतिशतले मात्र ६ महिनासम्म आमाको दूध खाएको देखिएको छ ।
हरेक आमाको चाहना हुनसक्छ, म आफ्नो नानीलाई पूर्ण समयसम्म दूध खुवाउन पाउ । तर, बिबिध कारणले सकिरहेको अवस्था हुँदैन । जस्तो कि ६ महिनासम्म केवल आमाको दूध खुवाउनु पर्छ थाहा हुने आमाहरुको यदि कुनै जागिर छ भने उनको धेरै अमय कार्यालयको समय र आउजाउ मै बित्छ । अनि त्यतिन्जेल बच्चा भोकै कसरी बस्ने ? अनि बाध्य भएर ६ महिना अगाडि नै अन्य थप कुरा खुवाउनुपर्ने हुनसक्छ । यसका लागि सम्बन्धित निकायले ६ महिनासम्म तलबी बिदाको सुबिधा दिनुपर्यो कि त शिशु हेरचाहको लागि थप सुबिधा दिनुपर्यो । स्तनपानमैत्री बनाउन हरेक सार्वजनिक ठाउँ, सरकारी तथा निजी संघसंस्थाहरुमा स्तनपान कक्षको पनि निर्माण गर्न जरुरी देखिन्छ ।
स्तनपानले मातृत्व सुख प्राप्ति हुन्छ । यसले बच्चाको स्वास्थ्यसँग आमा पनि स्वास्थ्य हुन्छ । सम्बन्धित निकायले दूध चुसाउने आमालाई ६ महिनासम्म तबली बिदा दिने बिषयमा व्यापक बहस गरिनुपर्छ । सरकारी निजि तथा सार्बजनिक स्थानमा स्तनपान कक्ष निर्माण गरिनु पर्छ ।