लीलाबल्लभ घिमिरे
मेरो प्रदेशको नाम कोसी–किरातभन्दा कसैलाई टाउको दुख्नसक्छ । कसैले नाक खुम्च्याउन सक्छन् अनि कसैलाई मन नपर्नसक्छ । तर, मेरो प्रदेशको नाम कोसी–किरात राख्नुपर्छ भन्ने मेरो तर्क छ । किरात कुनै जाति वा धर्मसँग जोडेर हेरिनु हुदैन । संस्कृतमा किरात शब्दको अर्थ वन प्रान्तमा घुम्ने मानव समूह भन्ने हुन्छ । किरात भनेको हाम्रो सभ्यता हो । यसको इतिहास निक्कै लामो छ । शास्त्रको अध्ययन गर्ने हो भने मानव सभ्यतामा जुन जातिहरुको कुनै थर र धर्म थिएन, तिनीहरु किराती कहलिन्थे ।
काठमाडौंका गोपाल राजालाई हटाएर यलम्बर पहिला किराती राजा भएका थिए । इतिहास हामीले पढिरहेका छौं । तर, आज किरात शब्द हाम्रा लागि पाच्य हुन सकेको छैन । प्रदेशसभामा नेकपाको प्रष्ट दुईतिहाई मत छ । प्रदेशका मुख्यमन्त्री किरातपुत्र छन् । प्रदेशसभाको अधिकांश सदस्य कोसी–किरातकै पक्षमा छन् । तरपनि मेरो प्रदेशको नाम कोसी–किरात लेखिएको छैन । मैले भन्ने गरेको काठमाडौं ९सिंहदारवार० लाई यो किरात भन्ने शब्द मन परेको छैन । सायद त्यहाँ गोपालवंसीका सन्तानहरुको बहुल्यता होला । किरात राजाले त्यसबेला हराएको बदला यतिबेला लिन खोज्दै होलान् । नत्र भए किन अनेक बहाना निकालिन्छ । प्रदेशसभाका सदस्यहरुको विदा हुने दिन गन्ने बेला हुनलाग्यो । संघीयताको जग बसाल्ने ठेक्का लिएर आएकाहरु सांसदहरु आज आफ्नो प्रदेशको नाम राख्न खुट्टा कमाइरहेका छन् । हुन त त्यहाँ पनि बाहुनवादी सोचको हावी होला ।
हुन त म पनि बाहुन समुदायकै हुँ । तर, मेरो दावी यति मात्र हो मेरो सोच पुरातन बाहुनवादी छैन । त्यसैले मेरो प्रदेशको नाम कोसी–किरात होस् भन्ने कामना गसरिहेको छु । यस पटकको संघीय सदन नाटकीय रुपमा अन्त्य भयो । दुईतिहाइ नजिक रहेको नेकपाभित्रको कुर्सी संघर्षले चालु संसद कुनै नाटकको अन्त्य भएजस्तै गरियो । हाम्रो प्रदेश पनि तनावमा नै रह्यो । केन्द्रको कुर्सी जोगाउन प्रदेश कुर्सीलाई दाउमा राखेका खबर बाहिर नआएका पनि हैन । सत्तापक्षका धेरैको ध्यान काठमाडौंले नै तान्यो । अर्कोतर्फ कोरोनाको कहर छदै थियो । हुँदाहुँदा कहि नभएको जात्रा हाँडीगाउँमा भनेझैं कांग्रेसको प्रदेश संसदीय दलमा समेत अनेक कुरा सुनियो । सबै जना आफू केन्द्रित राजनीतिमा लागेका कारण यस पटकको प्रदेशसभामा प्रदेशको नामका बारेमा खासै चर्चासमेत पाउन सकेन ।
आफ्नो न्वारानसमेत गर्न नसक्ने मेरो प्रदेश सरकार, मेरा माननीय सांसद ज्यूहरुसँग प्रदेशवासीले के आशा गरेका होलान् रु मेरो विचारमा प्रदेशको प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रदेशको नाम राख्ने कुरामा जति दवाब दिनुपर्ने हो त्यो पनि कम भयो । त्यसमा पनि कांग्रेस कोशी–किराँतको पक्षमा उभिनु पर्छ भन्ने मेरो बुझाई हो ।
हुन त मेरो प्रदेशको नाम भरसक राखिदैन । राखियो भने पनि ‘कोसी’ मात्र राखिन्छ । किनभने प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले निर्देशन दिनुभएको कुरा पहिलादेखि नै बजारमा सुनिँदै आएको हो । उहाँको कुरा काट्न निक्कै कठिन छ । उहाँको जन्मभूमि पनि माझ किरात नै हो । तर, उहाँलाई खै किन हो यो किरात शब्द मन परेको छैन । हुनत नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोसी–किरातको पक्षमा हुनुहुन्छ भन्ने सुन्नमा आएको थियो । उहाँले यो कुरालाई खुलेर भन्न पनि सक्नु भएको छैन । हुन त खुलेरै भन्दा पनि के पो भो र रु उहाँ अन्तिममा चिसै पानीले नुहाउने व्यक्ति हो भन्ने कुरा सबैलाई ज्ञान भैसकेको छ ।
तर, यो प्रदेश हाम्रो हो । यो प्रदेशको नामले हाम्रो सभ्यता बोक्नुपर्छ । यसको नामाकरणमा हामी सबैको आपनत्व हुनुपर्छ । तसर्थ संकिर्ण मानसिकताबाट माथि उठेर हाम्रो प्रदेशको नाम कोसी–किरात राख्नुपर्छ । यसले संघीयातको मर्मलाई सम्मान गर्छ । यदि यो सरकारले प्रदेशको नाम राख्न सक्दैन भने नामका बारेमा जनतम संग्रह गर्ने आँट गर्नुपर्छ । त्यसले जनताको चाहान पनि थाहा हुन्छ । सरकारलाई पनि सहज हुन्छ ।
अहिले पनि मेरो कानमा सानो छँदा घरमा धार्मिक कार्यमा आएका पुरोहितले भरत वर्षे किरात प्रदेशे भनेर पढेको याद छ । मैले पहिलो पटक ब्राम्हणडका मुखबाट सुनेको किरात प्रदेश भन्ने शब्द यो कुनै जातिको निजी हुन सक्दैन । यो ऐतिहासिक शब्द हो भन्ने कुरा तथ्यहरुले समेत प्रमाणित गर्छ ।
वेद व्यासले लेखेको संसारको वैदिक सनातन धर्म वेदमा समेत यस भुभागमा वस्ने जातिलाई किरात भनेर भनेका छन् । शास्त्र अनुसार किरात अनआर्य जाति जुन धर्मबिहिन थियो । र सो किरातभित्र वर्तमानमा धेरै थरहरू रहेको भनिए पनि प्राचिन किरात जाति सबै एक थिए ।
नेपाल भित्रिएका माङ्गोल जातिले आफूलाई किरात भन्ने गरेको पाईन्छ । किरातहरूको बसोबास नेपालको पूर्व र हिमालसम्म फैलिएको छ भने भारतको असाम, बङ्गालदेखि लिएर त्रिपुरासम्म रहेको छ । यो जाति भनेको नेपालको सबैभन्दा कम जनसंख्या भएको जाति हो र नेपालमा खेतिको सुरुवात गर्नुका साथै सुंगुरपालन आरम्भ गर्ने यिनै जाति हुन् ।
काठमाडौंका गोपाल राजालाई हटाएर यलम्बर पहिला किराती राजा भएका थिए । किरात जातिको उद्गमस्थल पनि चीन नै हो भन्ने अनुमान छ । चीनको ह्यन्ग्गो र यान्सिकन्ग भन्ने नदिको किनारलाई किरात उद्गम स्थल मानिएको छ । र, त्यहाँबाट शिकार गर्न भारतको उत्तरपूर्वी पहाडतिर आएर त्यहाँको कैलाश पहाडमा केही वर्ष बसेको इतिहासमा पढ्न पाइन्छ् । महिषपालवंशी अन्तिम राजा भुवन सिंहलाई पराजित गरी नेपाल खाल्डोको शासन सत्ता यस जातिले हत्याएका थिए भन्ने विश्वास गरिन्छ । संस्कृतमा किरात शब्दको अर्थ वन प्रान्तमा घुम्ने मानव समूह भन्ने हुन्छ । किरात शब्दको प्रयोग शुक्लयजुर्वेद, अर्थववेद, वाल्मिकी रामायण र महाभारतका बिभिन्न प्रसंगमा पनि भएको छ ।
इतिहास शिरोमणि बाबुराम आचार्यले भारतको पूर्वोत्तर प्रदेशमा बस्ने आग्नेयदेशी परिवार अन्तर्गत नेपार जातिलाई किरात मानेका छन् । इतिहासविद् इमानसिंह चेमजोङ्गले पनि भोटवर्मेली भाषा बोल्ने जातिहरूलाई किरातकै शाखा मानेका छन् । किराती ग्रन्थ मुन्धुममा उल्लेख भएअनुसार ‘मनाफेवामाङ’ नामक किराती राजा चीनको सिचुवान प्रान्तबाट तिब्बत आएका थिए भन्ने उल्लेख छ । किरात शासकहरूको संख्या विभिन्न श्रोतहरूमा २४ देखि ३२ जनासम्म उल्लेख भएको पाइन्छ । ३२ जना शासकलाई प्रतिशासक २५ वर्ष मानी हिसाब गर्दा यस शासनकालको अवधि ८०० वर्ष हुन आउँछ । यसबाट ४०० ईशापूर्वसम्म किरात काल रहेको हुनसक्छ । यी तथ्यहरु विभिन्न स्रोतमा उल्लेख छन् । यी नै तथ्यहका आधारलाई टेकेर प्रदेशसभाले खुट्टा नकमाई मेरो प्रदेशको नाम कोसी–किरात राखोस् भन्ने मेरो माग हो ।