ओलीको अशोभनीय कथन

 अनन्तराज न्यौपाने

कुरु राजसभामा पाण्डवहरूले दुर्योधनसित जूवा हारेपछि द्रौपदीको चीरहरण गरियो । चीरहरण गर्न उक्साउने कर्ण थियो । आदेश दिने दुर्योधन र पालन गर्ने दुःशासन । जूवामा पराजित पाण्डवहरू दुर्योधनका दास भइसकेका थिए । उनीहरू घोसे मुन्टो लगाएर बसिरहे । भीष्म, द्रोण, कृपाचार्य र विदुरजस्ता ज्ञानी र वीर पुरुषले दुर्योधनको नून खाएका थिए । उनीहरू त्यसैले केही गर्न सक्ने अवस्थामा थिएनन् । आफैँलाई धिक्कारेर बसिरहे ।

द्रौपदीलाई भगवान् श्रीकृष्णमा पूर्ण श्रद्धा र भरोसा थियो । चीरहरण सुरु हुनेबित्तिकै उनले कृष्णलाई गुहारिन् । द्रौपदीले धेरै बेर आर्त पुकार गरेपछि मात्र कृष्ण प्रकट भए र द्रौपदीलाई वस्त्रदान गर्न थाले ।

‘वासुदेव !’, घटनाको धेरैपछि द्रौपदीले कृष्णलाई सोधेकी छन्, ‘चीरहरणका बेला म आर्त पुकार गरिरहेकी थिएँ । तपाईं आउनु त भयो तर किन ढिलो ?’ ‘पाञ्चाली !’, कृष्णको उत्तर थियो, ‘तिमीले पहिले हे द्वारकावासी भनेर पुका¥यौ । मैले द्वारकाबाट आउनु प¥यो । फेरि केही छिनमा हे वृन्दावनवासी भन्यौ । फेरि वृन्दावन पुगेर त्यहाँबाट आउनुप¥यो । निकै बेरपछि हे घटघटवासी, हे हृदयनिवासी भन्यौ । त्यसपछि म तुरुन्त प्रकट भइहालेँ ।

प्रसङ्ग राम जन्मभूमि अयोध्याको हो । भानुजयन्तीका अवसरमा हाम्रा उटाङ्गे प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याका बारेमा आफ्नो अवधारणा सुनाएपछि यसले गजबको तरङ्ग सृजना गरेको छ । भारतसितको कूटनीतिक र राजनीतिक सम्बन्धलाई ख्याल गर्ने हो भने ओलीले यो प्रसङ्ग निकाल्नै हुँदैनथ्यो । ओलीले भाषण गरेको ४८ घण्टा बित्न नपाउँदै नेपालको परराष्ट्र मन्त्रालयले स्पष्टीकरण सहितको विज्ञप्ति निकाल्नु परेको छ । यो निश्चय पनि शुभ कुरा होइन ।

पौराणिक मान्यताअनुसार हिसाब गर्ने हो भने राम जन्मेको त्रेता युग आजभन्दा ९ करोड वर्षअगाडि हो । नौ सय वर्षमै संसारमा कत्राकत्रा परिवर्तन हुन्छन् । नौ करोड वर्षमा त संसारको कायापलट नै हुन्छ । कति हिमाल र पहाड नयाँ बन्लान्, कति खिइएर जालान्, कति नदी सुक्लान् अनि कति नदीहरू नयाँ बग्लान् । भारतमा भएको आजको अयोध्या वास्तविक अयोध्या होकि होइन त्यसको कुनै प्रामाणिक आधार छैन । बरु ओलीले भनेको ठाउँलाई अयोध्या मान्ने हो भने रामायणको कथाले साथ र प्रमाण दिन्छ । तर धार्मिक विश्वास र आस्था अन्धो हुन्छ ।

यसमा कुनै प्रमाण र वैज्ञानिक तर्क वा आधारले काम गर्दैन । एउटा संवेग वा भावनामात्र प्रबल हुन्छ र त्यसैका विश्वासमा हुन्छ मान्छे । अयोध्याका सन्दर्भमा पनि यही हो । त्यसैले यही अयोध्या र रामजन्म भूमिलाई मुख्य चुनावी एजेन्डा बनाएर भारतको लोकसभाको चुनाव जितेका मोदी र उनको पार्टी बिजेपीलाई ओलीको नयाँ अवधारणा सह्य हुने कुरा थिएन । नभन्दै बिजेपीले तत्काल आपत्ति जनायो र लगत्तै नेपालको परराष्ट्र मन्त्रालय स्पष्टीकरणमा उत्रियो । वास्तवमा ओलीजस्तो शीर्ष व्यक्तित्वले यो कुरा गर्नै हुँदैनथ्यो ।

खासमा श्रीरामको जन्मस्थल भौतिक रूपमा जहाँ भएपनि श्रीरामको वासस्थान चाहिँ प्रत्येक प्राणीको हृदय हो । व्यक्तिको हृदय निर्मल र पवित्र छ भने श्रीराम त्यहीँ प्रकट हुन्छन् । अयोध्याको अर्थ हो, जुन ठाउँलाई युद्धले हराउन सकिँदैन । राम्रो र नराम्रो, असल र खराब वा सद्गुण र दुर्गुण बिचको युद्ध हाम्रा हृदयमा सधैँ चल्छ । हाम्रो हृदय नराम्रो अर्थात् दुर्गुणबाट पराजित भयो भने त्यो अयोध्या हुनसक्तैन । तर खराब भावनाले हाम्रो चित्तलाई पराजित गर्न सकेन भने यही हृदय अयोध्या हुन्छ ।

जसलाई हेरेर मानिसहरू रमाउँछन् तिनै राम हुन् भन्ने रामको अर्थ हो । रम्यते इति रामम् । रामले रमण प्रदान गर्छन् । आनन्द दिन्छन् । राम खासमा मर्यादा पुरुषोत्तम थिए । उनले मर्यादाको उल्लङ्घन कहिल्यै गरेनन् ।

साढे २ वर्षमा सत्ता छाड्छु भनेर प्रचण्डसित कागज गरेर सत्ताामा गएका ओली ५ वर्ष नै बस्न खोजिरहेका छन् । अब ओलीबाट केकस्तो मर्यादाको आशा गर्नु ? ओली नेतृत्वको सरकारले गरेको काण्डैकाण्ड र भ्रष्टाचारको फेहरिस्त एउटा अर्को महापुराण बन्न सक्छ । यस्ताको हृदयको निर्मलताको आशा के गर्नु ? खासमा ओलीले दैवी गुण त के सामान्य मानवीय पनि होइन बरु पूर्ण दानवीय गुणका आधारमा शासन चलाएका छन् ।

कोरोना भाइरसका लागि छुट्याएको बजेट झ्वाम पार्ने शासक न मानवीय न दैवी दुबै गुणले युक्त हुन सक्तैन । यस्तो अपराध दैत्य र दानवले मात्र गर्नसक्छन् । त्यसैले यस्ता दुश्चरित्रले अयोध्या र श्रीरामका विषयमा कुरा गर्नु केवल हास्यास्पद, धृष्टता र अशोभनीय हुनजान्छ । ओलीले रामजन्मभूमिका बारेमा गरेको कथन सत्य र असत्य के हो त्यो अनुसन्धानको विषय हो । तर ओलीका हकमा अशोभनीय अवश्य हो ।

बिहिबार, ०१ साउन, २०७७

प्रतिक्रिया:

सम्बन्धित खवर