विक्रम लुइँटेल
नेपालको राष्ट्रियता र प्रधानमन्त्रीको विषयलाई लिएर भारतीय मिडियाहरूले प्रशारण गरिरहेको समाचारले यतिखेर नेपालमा तरंग सिर्जना गरेको छ । विश्वको ठूलो प्रजातान्त्रिक मुलुकको रूपमा परिचत भारतमा प्रजातन्त्रको मेरूदण्डको रूपमा रहेको मिडियाले खेलेको पछिल्लो समयको भूमिकाले पत्रकारिता क्षेत्र र लोकतन्त्र, गणतन्त्रको आधार स्तम्भको धज्जी उडाएको छ ।
खास गरेर राज्यको मुखपत्रका रूपमा सबै मिडियाहरू कुटनीतिक मर्यादा र सार्भभौमसत्ता सम्पन्न मुलुकको मुल मर्ममा प्रहार गर्दै भारतीय मिडियाहरूबाट नेपाल र नेपालका प्रधानमन्त्री माथि भइरहेको प्रहारले पत्रकारिता र नागरिक स्तन्त्रताको विषयमा नयाँ चरणबाट बहस गर्नुपर्ने अवस्था आएको छ । हामी कहाँ कर्पोरेट हाउसहरूले मिडिया कब्जा गरे भन्ने आवाज पनि उठिरहेको छ । यो बहस संसार भरी छ । एकतन्त्रीय शासन व्यवस्था भएका मुलुक बाहेकका देशमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान र यसको ग्यारेन्टि संविधानद्धारा नै गरिएको हुन्छ । नागरिकका आवाजहरू सरकारसम्म पुग्ने एउटा भरपर्दा माध्यममात्र होइन यो नागरिकको मौलिक अधिकार पनि हो ।
प्रजातान्त्रिक मुलुकमा कर्पोरेट हाउससँग जोडेर प्रेस स्तन्त्रताका विषयमा बहस जारी रहेको बेला अब प्रजातान्त्रिक मुलुकमा राज्यले कसरी प्रेसलाई आफ्नो पक्षमा पारेर काम गर्न सक्छ भन्ने उदारहण भारतबाट सुरू भएको छ । कतिपय मुलुकमा यसका विषयमा चर्चा भए पनि पछिल्लो समयमा भारतमा मोदीको उदय भएपछि त्यहाँका मिडियाहरू मोदीमय भएका छन् । एकातिर कर्पोरेट हाउसको नियन्त्रण र अर्कातिर सरकारको सुस्त–सुस्त मिडिया कब्जा गर्ने नीतिले प्रेस स्वतन्त्रताको बहसलाई नयाँ ढङ्ले हेर्नुपर्ने भएको छ । राज्य संचालकहरूले मिडिया हाउसलाई कुनै न कुनै रूपमा सहयोग गरेर त्यसलाई उपयोग गर्ने नीतिले जनताको आवजहरू बन्द हुने खतरा बढी रहेकोछ ।
भारतीय मिडियाहरूले खास गरेर नेपालको नक्सा सार्वजानिक भएपछि जुन खालको हर्कत गरिरहेका छन् यो लोकतन्त्र र प्रजातन्त्रको वकालत गर्नेहरूका लागि लज्जाको विषय हो ।
यो खालको तरिका नेपालको पत्रकारीतामा प्रवेश गरेमा झन् ठूलो खतरा पैदा हुनेछ । भारतीय मिडियाले गरिरहेको अहिलेको बहस दुई मुलुक बिचको हो । तर, यस्तो खालको कब्जा रणनीति नेपालको पत्रकारीतामा छिरेमा दुर्भाग्यपूर्ण हुन्छ । हुन त निजी क्षेत्रको कतिपय विषयमा यस्ता विषयहरु छिरिसकेका छन् । सुमार्गी प्रकरणदेखि भक्तमान श्रेष्ठ प्रकरण मात्र होइन लोकमान सिंह कार्कीको मुद्दामा पनि नेपालका मुलधारका मिडियाहरू विभाजित भएको देखिएको छ । विशुद्ध आफ्नो स्वार्थ सिद्धीका लागि मिडिया प्रयोग भए । अहिले भारतीय मिडियाहरू विशुद्ध मोदीका एजेण्डामा प्रयोग भएजस्तै यहाँका मिडिया निजी क्षेत्रका विषयमा प्रयोग भएका छन् ।
अहिले पनि कतिपय मुलधारका मिडिया साना–साना इस्यूलाई अनआवश्यक ढङगले उचालेर बहसहरू सृजना गरिरहेका छन् । नेपालका युटुबर र भारतीय टेलिभिजनहरू उस्तै उस्तै हुन् कि भन्ने भ्रम हुन थालेको छ । युटुबरहरूको पहुँच, राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा नभए पनि पारिवारिक विखण्डन र साना साना घरयासी मुद्दामा केन्द्रित भइरहेका छन् । यसले नेपालको सिंगो पत्रकारीता जगत बदनाम भइरहेको छ । यस्तै भारतीय टेलिभिजनहरूको रवैयाले सम्पूर्ण भारत बदनाम भइरहेको छ । अहिलेको टेलिभिजन पत्रकारीताले भारतको संस्थापन पक्षको लोकतन्त्र र गणतन्त्रप्रतिको निष्ठा माथि प्रश्न खडा गरेको छ । हामी कहाँ कतिपय सन्र्दभमा हाम्रो पत्रकारिताका विषयमा प्रश्नहरू उठने गरेका छन् । तर, अहिलेको भारतीय पत्रकारीताको ट्रेण्डलाई हेर्ने हो भने नेपालको पत्रकारिता उदारहणीय र विश्वसनीय पनि छ ।
कथाका तुना बुनेर देशलाई नै तरंगीत गर्ने र मित्रराष्ट्रयहरूको सम्बन्धलाई खलल पु¥याउने काम हाम्रो पत्रकारीताले गरेको छैन । नेपालको राष्ट्रियता र प्रधानमन्त्रीको विषयमा भारतीय मिडियाबाट निरन्तर भ्रमपूर्ण समाचार आएपछि अरु संस्थाभन्दा पहिला नै पत्रकार महासंघ आफैले विज्ञप्ती निकालेर विरोध मात्र जनायो । यसले के देखाउँछ भने नेपालको पत्रकारिता जिम्मेवार छ । भारतीय तरंङबाट नेपालको पत्रकारीतालाई जोगाउनु र यसको विश्वसनीयता कायम राख्नु आजको दायित्व हो ।