विराटनगर । बहुचर्चित ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले जिल्ला अदालत मोरङको फैसलालाई आंशिक रूपमा उल्ट्याउँदै नयाँ फैसला सुनाएको छ। आइतबार राति भएको फैसलाअनुसार मुख्य अभियुक्त ‘गोरे’ भनिने चुडामणि उप्रेतीलाई अपहरण तथा शरीर बन्धक मुद्दामा थप १० वर्ष कैद सजाय सुनाइएको छ।
उच्च अदालतका न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र प्रकाशचन्द्र अधिकारीको संयुक्त इजालासले माघ २० गतेदेखि भएको नियमित सुनुवाइपछि यो फैसला सुनाएको हो। यसअघि जिल्ला अदालत मोरङले गोरेलाई कर्तव्य ज्यान मुद्दामा जन्मकैदको फैसला सुनाएको थियो।
उच्च अदालतले जिल्ला अदालतबाट जन्मकैद (२० वर्ष) को सजाय पाएका केही प्रतिवादीहरूको हकमा सजाय घटाएको छ। नरेन्द्र कार्की, मोहन काफ्ले र भोजराज भण्डारीलाई १०–१० वर्ष मात्रै कैद सजाय तोकिएको छ। यसअघि उनीहरूलाई जिल्ला अदालतले २० वर्ष कैद सुनाएको थियो।
त्यसैगरी, कर्तव्य ज्यान मुद्दामा मतियारका रूपमा संलग्न देखिएका मदन सिलवालको हकमा जिल्लाको फैसला उल्ट्याउँदै अदालतले ३ वर्ष कैद सजाय सुनाएको छ। लाक्पा शेर्पा र भविन तामाङको हकमा भने जिल्ला अदालतकै फैसला सदर भएको छ।
प्रहरी अधिकारीहरूको सफाइ सदर
अदालतले करिब ३८ क्विन्टल सुन तस्करीसँग जोडिएको संगठित अपराध र भन्सार चोरी निकासीको मुद्दामा भने सबै प्रतिवादीको हकमा दाबी नपुग्ने ठहर गरेको छ। यससँगै जिल्ला अदालतबाट सफाइ पाएका पूर्वप्रहरी अधिकारी र व्यापारीहरूको हकमा उच्च अदालतले पनि सोही फैसलालाई सदर गरिदिएको छ।
सफाइ पाउनेहरूमा पूर्वडीआईजी गोविन्दप्रसाद निरौला, तत्कालीन एसएसपी श्यामबहादुर खत्री, दिवेश लोहनी, डीएसपी सञ्जयबहादुर राउत, प्रजित केसी र सई बालकृष्ण सञ्जेल लगायत रहेका छन्।
के थियो घटना ?
२०७४ साल माघ ९ गते दुबईबाट तस्करी गरी ल्याइएको साढे ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निकाल्ने क्रममा गायब भएको थियो। सोही सुन खोज्ने क्रममा गोरेको समूहले २०७४ फागुन १८ गते उर्लाबारी–१ मा सनम शाक्यलाई करेन्ट लगाएर यातना दिँदै हत्या गरेको थियो।
अनुसन्धानका क्रममा यो समूहले सन् २०१५ देखि २०१६ सम्ममा करिब ३८ क्विन्टल सुन अवैध रूपमा नेपाल भित्र्याएको खुलेको थियो। सरकारले सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा विशेष छानबिन समिति गठन गरी ७७ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरे पनि तस्करी भएको भनिएको ३३ किलो सुन भने हालसम्म फेला पर्न सकेको छैन।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।