विराटनगर । कोशी प्रदेशसभालाई बन्धक बनाइएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको असन्तुष्टिसँगै नेकपा एमालेले पनि बैठक राख्न माग गरेपछि सभामुख अम्बरबहादुर विष्टले दुई सातापछि प्रदेशसभाको बैठक बोलाएका छन् ।
माओवादी केन्द्रले जनसरोकारका विषय र सरकारको कामबारे समिक्षा गर्न तत्काल प्रदेशसभा बैठक बोलाउन यसअघि नै माग गरेको थियो भने एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले पनि तत्काल बैठक बोलाउन सभामुखलाई आग्रह गरेका थिए ।
सभामुख विष्टले भने नेपाली काँग्रेस सरकारमा सहभागी नभएको र उसलाई सत्तापक्षमा राख्निे कि प्रतिपक्षमा राख्ने समस्या हुने भन्दै बैठक राख्न आनाकानी गर्दै आएका थिए । तर, एमालेका सांसदहरुले पनि बैठक राख्न दबाब दिएपछि सभामुखले बैठक बोलाएका छन् । तर, भदौ १८ गते बस्नेगरि ।
यसअघि एमाले प्रमुख सचेतक भण्डारीले दुईवटा बिधेयकसँगै जनसरोकारका धेरै विषय छलफल गर्नुपर्ने भएकोले बैठक बोलाउनुपर्ने बताएका थिए । चालु आर्थिक वर्षको बजेट पारित गरेपछि असार ८ गते स्थगित भएको प्रदेशसभाको बैठक अझै बसेको छैन ।
बजेट कार्यान्वयनको विषय, दैवि प्रकोपबाट प्रदेशमा भएको क्षति र जनसरोकारका विषयमा छलफल गर्नुपर्ने भन्दै नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले अघिल्लो साता नै तत्काल प्रदेशसभाको बैठक राख्न माग गरेका थिए । सरकारले भने नेपाली काँग्रेस पनि मन्त्रिपरिष्दमा सहभागी भएपछि बैठक राख्ने बताउँदै आएको थियो ।
प्रदेशसभा सभामुख अम्बरबहादुर विष्टले भने आफूलाई प्रदेशसभा बैठक बोलाउन कुनै समस्या नभएपनि केही प्राविधिक अप्ठ्यारो रहेको बताएका थिए । त्यसैले उनले बैठक बोलाउँदा पनि दुई साताको समय राखेका छन् । जबकि नियमित सञ्चालनमा रहेको अधिवेशनको बैठक ३–४ दिनको समय दिएर राख्ने प्रचलन रहेको थियो ।
बिष्टले हाम्रोमतसँगको कुराकानीमा ७–८ गतेसम्ममा सरकारको विषय सकिने संभावना रहेको भन्दै १२ वा १३ गते बैठक राख्ने बताएका थिए । तर, अहिले १८ गते १ बजे बस्नेगरि बैठक बोलाइएको प्रदेशसभा सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिएका छन् ।
कोशीको बजेट पारित भएको एक हप्तापछि केन्द्रीय समीकरणमा फेरबदल हुँदा काँग्रेस र एमाले मिलेका थिए । त्यसपछि एक्लिएको माओवादी केन्द्र प्रदेश सरकारबाट गत साउन ११ गते बाहिरिसकेको छ ।
माओवादी सरकारबाट बाहिरिएको एक महिना पुग्न लाग्दा पनि काँग्रेस सरकारमा सहभागी भएको छैन ।