मानव स्थास्थ्यमा जोखिम बढाउँदै अत्यधिक लिड प्रयोग

मारुतीसहितका पेन्ट्सले बढाए जोखिम

विराटनगर । विराटनगरको मारुती पेन्ट्ससहित ९ उद्योगले मानव स्वास्थ्यमा घातक मानिने लिड (सिसा) को अत्यधिक मात्रामा प्रयोग गर्ने गरेको भेटिएको छ ।

घर रंग्याउने पेन्ट्स उत्पादक कम्पनीले सरकारले तोकेको मापदण्डको धज्जी उठाउँदै मारुतीसहितका ९ उद्योगले मानब स्वास्थ्यमा गम्भीर असर गर्ने लिड अत्यधिक प्रयोग गर्ने गरेका हुन् ।

जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रले बागमती र कोशी प्रदेशमा २० वटा पेन्ट्स उद्योगको उत्पादन भएको पेन्ट्स र इनामेल रंगको ल्याब परीक्षण गरेको थियो । जसमा ९ वटा उद्योगको उत्पादनमा मापदण्डभन्दा सयौं गुणा बढी लिडको प्रयोग गरेको भेटिएको हो ।

मापदण्डभन्दा बढी लिड प्रयोग गर्नेहरुमा काठमाडौंको श्री गणपति पेन्ट्स उद्योग, ईम्पेरियो पेन्टस, चितवनको टाटा पेन्टस एण्ड केमिकल इन्डष्ट्रिज प्रालि, इटहरीको डिजिटल पेन्ट्स र विरगञ्जको डालमिया पेन्ट्स एण्ड केमिकल इन्डष्ट्रिज रहेको जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक एवं बातवरण वैज्ञानिक राम चरित्र साहले जानकारी दिए । विराटनगरको मारुती पेन्ट्स उद्योगले उत्पादन गरेको रातो र पहेंलो रंगमा तोकिएको मापदण्डभन्दा सयौं गुणा बढी लिड हालेको पाइएको उनले बताए ।

सरकारले बनाएको मापदण्डमा घर तथा विद्यालय पूर्वाधारहरु रङ्गाउँदा प्रयोग हुने पेन्ट्समा लिडको मापदण्ड ९० पिपिएम र कस्मेटिकमा १० पिपिएम हुनुपर्छ । तर, मारूतीले रातो रङमा २९ हजार ४४० पिपिएम लिड हाल्ने गरेको पाइएको छ । जुन ३२७.१२ गुणाले बढी हो । त्यस्तै मारुतीले पहेलोमा रंगमा ६४ हजार २६७ पिपिएम लिड हाल्ने गरेको छ । जुन तोकिएको मापदण्डभन्दा ७३४ गुना बढी हो ।

त्यसैगरी काठमाडौंको श्री गणपति पेन्ट्स उद्योगले १ लाख ६ हजार ७३२ पिपिएम लिड हाल्ने गरेको भेटिएको छ । जुन तोकिएको मापदण्ड भन्दा १ हजार १८५ गुणा बढी हो । चितवनको टाटा पेन्ट्स एण्ड केमिकल इन्डष्ट्रिज प्रालिले पेन्ट्समा १ लाख २१ हजार पिपिएम सिसा हाल्ने गरेको छ । जुन तोकिएको मापदण्ड भन्दा १ हजार ३४५ प्रतिशतले बढि हो ।

सुनसरीको इटहरीस्थित डिजिटल पेन्ट्सले १ दशमलव ० प्रतिशत बढी पिपिएम रंगमा हाल्ने गरेको पाइएको छ । डिजिटल पेन्ट्सले चकलेट रंगमा ९९.०९ पिपिएम लिड हालेको भेटिएको छ । त्यस्तै काठमाडांैको ईम्पेरियो पेन्ट्सले ९५ दशमल ४८ पिपिएम लिड हाल्ने गरेको छ । जुन १.०६ प्रतिशत बढी हो । सो कम्पनीले मारभेल ब्रान्डको चकलेट रङमा बढि सिसा भेटिएको छ । कम्पनीको सिनर्जी ब्राण्डको पहेलो रंगमा तोकिएको मापदण्डभन्दा २ हजार ३ सय ७६ दशमलव ४५ प्रतिशतले बढी लिड हालेको प्रवद्र्धन केन्द्रले जनाएको छ ।

त्यसैगरी विरगञ्जको डालमिया पेन्ट्स एण्ड केमिकल इन्डस्ट्रिजको रातो रंगमा १८ हजार ७१६ः२२ पिपिए भेटिएको छ । सो रङमा मापदण्ड भन्दा २०७ दशमलव ९६ प्रतिशत बढि सिसा भेटिएको छ ।

रंगमा प्रयोग हुने लिडको परीक्षण नापतौल तथा गुणस्तर विभागले गर्छ । तोकिएको मापदण्डभन्दा बढी लिड प्रयोग गर्ने उद्योगीलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्नसक्ने विभागलाई अधिकार छ । रंगको परीक्षणमा ९० पिपिएमभन्दा बढी लिडको मात्रा प्रयोग गर्न नपाइने भएपनि उद्योगहरुले १ लाख ६ हजार ७३२ पिपिएम लिड प्रयोग भएको फेला परेको जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक एवं वातवरण वैज्ञानिक साहले जानकारी दिए ।

्पेन्ट्स, इनामेल, कस्मेटिक आदिमा लिड प्रयोग गरिएको हुन्छ । लिड गहिरो खैरो–खैरो खरानी रंगको रसायन धातु हो । यसका यौगिकहरु हाम्रो शरीरलाई विषालू हुने विज्ञहरु बताउँछन् । रंग रोगन, ग्लास पोलिस, प्रिन्टिङ सामग्री, कपाल रंगाउने उत्पादन, कस्मेटिक्स उत्पादन, इनामेल, ग्लासब्लो आदि लिडका प्रत्यक्ष स्रोत हुन् । घर सजावटका लागि प्रयोग गर्ने इनामेल पेन्टस, फलामको पाइपबाट आउने पानी र प्लास्टिकका झोलामा प्याक गरिएका खानेकुराबाट लिड हाम्रो शरीरमा पुग्न सक्छ ।

यसैगरी पित्तल वा तामाको भाँडामा स्टोर गरिएको घ्यूमा पनि लिडको मात्रा बढी हुने गरेको छ । लिडको तत्काल देखिने र प्रायः देखा पर्ने असर रक्तअल्पता हो । लिडकै कारण अनुहारमा फिक्कापन आउँछ भने क्रमिक रुपमा पूरा शरीर निस्तेज देखिने चिकित्सकहरु बताउँछन् ।

लिडको प्रवेश धेरै भएमा शरीरमा चिडचिड हुने, शरीर सुक्दै जाने, टाउको दुख्ने, चक्कर लाग्ने, आलस्य आउने जस्ता लक्षण देखा पर्ने गुणस्तर तथा नापतौल विभागको प्रयोगशालाले जनाएको छ । यसैगरी वाकवाकी लाग्ने, कब्जियत हुने, आन्द्रा , मुत्रनली, पाठेघर र रक्तनलीहरु दुख्ने लक्षण देखा पर्छ । क्रमिक रुपमा लिडको मात्रा शरीरमा अझ थुप्रिँदै गएपछि अंगहरु विस्तारै काँप्ने, झमझमाउने, छाला लाटो हुने, मांशपेशी दुख्ने हुँदै कालान्तरमा हातखुट्टा उठाउन गाह्रो हुने र कुनै भाग चलाउन नसक्ने अवस्थामा पुग्ने चिकित्कस बताउँछन् । लिडकै कारण क्यान्सर भई अकालमा ज्यान जाने सक्ने स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिब डा.टंक प्रसाद बाह्रकोटीले बताए । वर्षेनि अत्यधिक लिडको प्रयोगले विश्वमा १५ लाख मान्छेको मृत्यु हुने गरेको तथ्यांक रहेको उनले जानकारी दिए ।

वातावरणमा समेत लिड फैलिनसक्ने जोखिम रहेको भन्दै बाह्रकोटीले सिसाको प्रयोग कम गर्नको लागि सबैको साथ सहयोग आवश्यक रहेको र सचेतना फैलाउनुपर्ने बताए । सेफेडका कार्यकारी निर्देशक तथा वातावरण वैज्ञानिक रामचरित्र साहले पेन्टमा लिडको मापदण्डलाई प्रभावकारी रुपमा कार्यान्वयन गरेर अगाडी बढाउनुपर्नेमा जोड दिँदै घर, विद्यालय तथा अस्पतालका भित्ता, फर्निचरमा लगाउने रङमा लिडको मात्रा प्रसस्त हुने भएकाले त्यसले स्वास्थ्य तथा वातावरणमा पार्ने समस्याको निराकरण एवं न्यूनीकरण गर्न जनचेतनाका साथै क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए ।

कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. विशाल घिमिरे, उद्योग. कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.लेखराज दाहाल, भन्सार अधिकृत, वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा.भक्त केसीसहितले लिडको प्रयोगमा न्युनिकरण गर्नुपर्ने बताए ।

शुक्रबार, १६ कार्तिक, २०८१, दिउँसोको ०२:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर